बादशाहको नियुक्तिले महिलाको मानव अधिकार प्राप्तिमा कुठाराघात : ओरेक
महिला पुन:स्थापना केन्द्र (ओरेक)ले बाँकेको नेपालगन्जकी निर्मला कुर्मीको हत्याका आरोपित बादशाह कुर्मीलाई लुम्बिनी प्रदेशको मन्त्री बनाएकोमा आपत्ति जनाएको छ।
बिहीबार विज्ञप्ति जारी गर्दै ओरेकले हत्यामा संलग्न भएको आरोप र मुद्दा न्यायिक प्रक्रियामा रहेको अवस्थामा बादशाहलाई मन्त्री नियुक्त गरिनु महिलामाथि हुने जघन्य अपराधको घटनालाई राज्यले कसरी सरलीकरण गर्छ र हिंसाका आरोपितलाई कसरी संरचनागत संरक्षण गरिन्छ भन्ने ज्वलन्त उदाहरण भएको जनाएको छ।
‘नेपाल सरकार, संवैधानिक परिषद् तथा राज्यका विभिन्न जिम्मेवार तहबाट सार्वजनिक निकायका उच्च पदहरूमा फौजदारी लगायत अन्य अभियोगमा राज्यको कारबाही तथा छानबिन प्रक्रियामा रहेका एवं कानूनी तथा सामाजिक रूपमा विवादित व्यक्तिलाई नियुक्तिका लागि सिफारिश गरेको घटनाले निर्मला कुर्मी लगायतका समस्त महिलाको मानव अधिकार तथा सामाजिक न्याय प्राप्तिमा कुठाराघात गरेको छ,’ ओरेकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
विवादास्पद व्यक्तिलाई मन्त्री जस्तो गरिमामय पदमा नियुक्त गर्नु आपत्तिजनक रहेको जनाउँदै उनलाई तत्काल पदबाट हटाउन माग गरिएको छ। तत्काल यो निर्णय नसच्याए सम्पूर्ण मानव अधिकारकर्मी एकजुट भएर सडकमा उत्रिने चेतावनी समेत दिइएको छ।
निर्मला कुर्मी हत्याको छानबिन गर्न र दोषीलाई कारबाहीको माग गर्दै आन्दोलनरत अधिकारकर्मी महिलासँग सरकारले पछिल्लो पटक असार १० मा सहमति गरेको थियो। पाँचबुँदे सहमतिमा बादशाह कुर्मीलाई असारको अन्तिमसम्म अदालतमा पेश गर्ने उल्लेख छ। तर उनलाई अदालतमा पेश गर्नुको सट्टा मन्त्री बनाइएको छ।
यो पनि पढ्नुहोस् : पीडित निरन्तर सडकमा, हत्या आरोपी कुर्सीमा