असुरक्षित आकाश, एकपछि अर्को दुर्घटना (डेटा स्टोरी)
नेपालमा अर्को घातक हवाई दुर्घटनाले देशको खराब उड्डयन सुरक्षा अवस्थालाई थप उजागर गरेको छ। योसँगै यस्ता त्रासदी बारम्बार किन निम्तिइरहन्छन् भन्ने प्रश्न पनि उब्जाएको छ।
नियमित प्राविधिक परीक्षणका लागि पोखरा जान लागेको सौर्य एअरलाइन्सको बम्बार्डियर ‘सीआरजे-२००’ विमान साउन ९ गते बिहान काठमाडौंको त्रिभुवन विमानस्थलबाट ‘टेकअफ’ गर्ने बित्तिकै दुर्घटना हुँदा १९ मध्ये १८ जनाको मृत्यु भएको थियो। यो त्रासदीले नियमित परीक्षणका लागि पोखरा उडेको जहाजमा किन परिवार सहित कर्मचारी बोकियो भन्ने प्रश्न पनि खडा भएको छ।
दुर्घटनाका भिडिओहरू सहितका प्रारम्भिक आकलनले विमान धावनमार्गबाट ‘टेकअफ’ गरेपछि दायाँतर्फ मोडिएर तीव्र गतिमा तल खसेको देखिन्छ। ‘टेकअफ’ लगत्तै विमान नियन्त्रण बाहिर हुनुको वास्तविक कारण दुर्घटनामा जोगिएका क्याप्टेन मनीष शाक्यले बताएपछि र अनुसन्धानमा खुल्नेछ। विमान दुर्घटनाका विषयमा अनुसन्धान गर्न सरकारले साउन ९ मै जाँचबुझ आयोग गठन गरेको छ।
दुर्घटनाग्रस्त जहाज दायाँपट्टिको सट्टा बायाँतिर फर्केर अन्तर्राष्ट्रिय टर्मिनल भवन वा प्रस्थानको तयारीमा ठूला विमानहरू राखिएको भागतिर ठोकिएको भए यसले अझ ठूलो त्रासदी निम्त्याउने जोखिम थियो। संयोगवश विमान धावनमार्गको पूर्वमा सघन जनसंख्या भएको क्षेत्रमा नभई नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणका लागि जग्गा समतल गर्ने क्षेत्रमा खसेकाले पनि थप क्षति हुन पाएन।
सौर्य एअरलाइन्स दुर्घटना नेपालको हवाई दुर्घटनाको इतिहासको शृंखलामा नयाँ संख्या हो। विगतका धेरैजसो दुर्घटना विमान बादलमा लुकेको वेला पहाडमा ठोक्किएर वा पाइलटको त्रुटिबाट भएको बताइने गरेको छ। उच्च पहाडी भूभाग, दुरुह मौसमले नेपालमा हवाई उडान चुनौतीपूर्ण हुने गरेको छ।
बितेका सात दशकमा भएका घातक हवाई दुर्घटनामा ९३७ जनाको ज्यान गइसकेको तथ्यांक छ। यो अवधिमा हवाईजहाज तथा हेलिकोप्टर गरी १०५ वटा दुर्घटना भएका छन्।
सौर्य एअरलाइन्सको दुर्घटनाले ६ वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग नजिकै दुर्घटनाग्रस्त यूएस बाङ्लाको विमानको झल्को दिएको छ, जसमा ५१ जना यात्रुको मृत्यु भएको थियो। अनुसन्धानले त्यो दुर्घटना विमान चालकको विक्षिप्त मानसिक अवस्थासँग सम्बन्धित हुन सक्ने संकेत गरेको थियो।
सन् २०१३ मा पनि काठमाडौंबाट लुक्लाका लागि उडेको केही क्षणपछि नै सीता एअरको डोर्नियर २२५ विमान दुर्घटना हुँदा २३ विदेशी पदयात्रीको मृत्यु भएको थियो। अनुसन्धानले विमानमा ‘ओभरलोड’ भएको देखाएको थियो।
गत वर्ष पनि पोखरामा अवतरण हुने क्रममा यती एअरलाइन्सको विमान दुर्घटना हुँदा ७२ जनाको ज्यान गएको थियो। अनुसन्धानले यो विमानको अवतरणका क्रममा पाइलटको मानवीय त्रुटि भएको हुन सक्ने देखाएको थियो।
सबैभन्दा घातक अन्तर्राष्ट्रिय दुर्घटनामा सन् १९९२ को थाई र पाकिस्तान एअरलाइन्सका विमानहरू थिए, जसमा क्रमश: ११३ र १६७ यात्रुले ज्यान गुमाएका थिए। सन् २०१६ यता मात्रै नेपालमा हवाई दुर्घटनामा परेर झन्डै २०० जनाको ज्यान गइसकेको छ।
राजमार्गको अवस्था नाजुक भएकाले पछिल्ला वर्षमा नेपालको आन्तरिक हवाई यात्रामा उछाल आएको छ। तर हवाई उडानको सुरक्षाका विषयमा लामो समयदेखि प्रश्न उठ्दै आएको छ। नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले सुरक्षाका मापदण्ड कठोर रूपमा लागू गराउन नसकेको भन्ने आरोप बेहोर्दै आएको छ।
यो पनि पढ्नुहोस् : विमानको प्राविधिक परीक्षण गर्न किन रोजियो पोखरा?