विमान दुर्घटनाको छानबिन गर्न जाँचबुझ आयोग गठन
सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ।
मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए। आयोगका सदस्यमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपुराज ज्वार्चन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई, श्री एअरलाइन्सका इन्जिनीयर सञ्जय अधिकारी छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एअर ट्राफिक कन्ट्रोलर (एटीसी) अधिकृत मुकेश डंगोल सदस्यसचिव रहेका छन्। आयोगलाई वायुयानको सत्यतथ्य जाँचबुझ गरी ४५ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।
सञ्चारमन्त्री गुरुङका अनुसार आगामी दिनमा हवाई दुर्घटना हुन नदिन स्वदेशी तथा विदेशी वायु सेवा सञ्चालन गरिरहेका सञ्चालक कम्पनीले विमानको अनिवार्य प्राविधिक परीक्षण गर्ने र प्राधिकरणले सोको सघन अनुगमन गर्ने निर्णय गरेको छ।
त्यस्तै, मन्त्रिपरिषद्ले विमान दुर्घटना भएको शोकमा बिहीबार राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको प्रवक्ता गुरुङले बताए।
बुधबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। विमानका पाइलट मनीषरत्न शाक्य गम्भीर घाइते भएका छन्। उनको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ।
यो पनि पढ्नुहोस् :