पृथ्वीनारायण शाहको युद्धकर्मकाे आलोचना
दिक्पालले बहुश्रुत र बहुप्रकाशित पात्र पृथ्वीनारायणको युद्धकर्मलाई आलोचनात्मक कोणबाट नियाल्न खोजेका छन्।
तीन शताब्दीअघि जन्मेका पृथ्वीनारायण शाह समकालीन नेपालमा पनि निरन्तर चर्चाको विषय छन्। उनी एकातिर बहुपूजित त अर्कातिर बहुआलोचित पात्र हुन्। एकथरीले उनलाई देवतुल्य ठान्छन्, अर्काथरीले सांस्कृतिक हिंसाका जनक।
परस्पर विरोधी धारणाहरूले घेरिएका यिनै राजालाई केन्द्रमा राखेर राजकुमार दिक्पालले पुस्तक ल्याएका छन्- पृथ्वीनारायण शाह : आलोचनात्मक इतिहास। यो पुस्तक लेख्न उनले पूर्व प्रकाशित विभिन्न पुस्तक तथा लिखतलाई सूचनाको स्रोत बनाएका छन्। कृतिकारले गरेको इतिहास अन्वेषणको यस प्रयासलाई ‘लाइब्रेरी रिसर्च’ कोे प्रतिफल भन्न मिल्छ जसमा जानकारीमूलक र रोचक विवरणहरू छन्।
इतिहासलाई मूल लेखकीय विधा र कर्मक्षेत्र बनाउँदै आएका दिक्पालले प्रस्तुत कृतिमा २२ वटा लेख समेटेका छन्। पृथ्वीनारायण जस्तो बहुश्रुत तथा बहुप्रकाशित व्यक्तित्वबारे कलम चलाउँदा अरूले भन्दा नयाँ कुरा के पस्कने भन्ने चुनौती सधैं रहन्छ। यसमा कृतिकारले पुरानै विषयवस्तुलाई नयाँ कोण दिने प्रयास गरेका छन्। पृथ्वीनारायणको युद्धकर्मलाई आलोचनात्मक कोणबाट नियाल्न खोजेका छन्।
कृतिमा समाविष्टमध्ये आधाभन्दा बढी लेखमा पृथ्वीनारायणको आरोह-अवरोहपूर्ण जीवन वृत्तान्त, राज्य विस्तारका क्रममा भोग्नुपरेका रणनीतिक धक्का तथा सफलता, उनका दिव्योपदेश लगायत विषयवस्तु समेटिएका छन्। लेखाइ सरल र सहज छ। विश्लेषण कम र रेखीय वर्णन बढी छ।
नौ वटा लेख पृथ्वीनारायणप्रति बढी आलोचनात्मक देखिन्छन्। ‘युवराज छँदै द्वारेको सफाया’, ‘जयन्त रानाको अमानवीय हत्या’, ‘बन्दुकको बलमा निर्दोषको संहार’, ‘तिमालकोटको युद्धमा छलकपट’, ‘कीर्तिपुरेको काटिएको नाक र ओठ’, ‘मितबाको राज्य नरसंहार’, ‘जहानबच्चा पक्री कमारा-कमारी’, ‘इसाई धर्मावलम्बीलाई देश निकाला’, ‘नगरकोटीहरूको नरसंहार’ र ‘माझकिराँतमा अत्याचार’ लेखमा एकीकरण अभियानका क्रममा पृथ्वीनारायणका तर्फबाट भएका भौतिक तथा सांस्कृतिक हिंसालाई औंल्याउने प्रयत्न गरिएको छ।
कृतिलाई आलोचनात्मक इतिहास भनी नामकरण गरिए पनि तुलनात्मक रूपमा आलोचना कम र वर्णन बढी छ। पृथ्वीनारायणले रचेको युद्धकर्मको आलोचना गरिएका ठाउँमा पनि कृतिकारले आफ्ना दलील पुष्टि गर्न अघि सारेका तथ्यको सैद्धान्तिक आधार कमजोर देखिन्छ। यसमा उनले युद्ध अपराध पुष्टि हुने सांस्कृतिक, सैद्धान्तिक तथा दार्शनिक आधार खडा गर्नुपर्थ्यो, जुन हुन सकेको छैन।
यससँगै युद्धका समयमा पालना गर्नुपर्ने युद्धसंहिता तथा मानवीय मूल्यसँग जोडिएका लोकमान्यतालाई वैचारिक अस्त्रका रूपमा अघि सार्न सकिन्थ्यो। जस्तो- युद्ध जित्न साम, दाम, दण्ड, भेद अपनाइनु विश्वव्यापी प्रचलन हो। यद्यपि यसलाई युद्धमा जे गरे पनि पूरापूर जायज हुन्छ भन्ने अर्थमा लिइनु ठिक होइन। युद्धका पनि निश्चित नियम त हुन्छन् नै। पुस्तकमा यस्ता वैचारिक अस्त्रको सही प्रयोग छैन, जसकारण लेखकको तर्कसँग तर्कशील पाठक सहमत हुन गाह्रो छ।
कृतिकारले पुस्तकलाई विश्वसनीय बनाउन सूचनाको स्रोत व्यापक प्रयोग गरे पनि ‘इनटेक्स्ट साइटेशन’ (पाठमै सूचनाको स्रोत जनाउने कार्य) गरिएको छैन। पूरै पाठमा सांख्यिक शैलीका फूटनोट राखिएका छन् जसमा हरेक सूचना-स्रोतको संक्षिप्त विवरण दिइएको छ। पछि ती स्रोतको पूरा विवरण ‘सन्दर्भ सामग्री’ मा पनि दिइएको छ जुन फजुल देखिन्छ। ‘सन्दर्भ सामग्री’ विवरण राख्ने नै भए फूटनोट नदिई ‘इनटेक्स्ट साइटेशन’ गरेको भए उद्धरणशैली विधिसम्मत हुन्थ्यो।
खोजमूलक कृतिमा आफूलाई ज्ञान भएको तथ्यको समेत स्रोत खुलाउनुपर्ने मान्यता छ। यसबाट कृतिकारको तर्क र तथ्यले आधिकारिकता पाउँछ। यो कृतिमा कतै कतै यो पक्ष भुलिएको देखिन्छ। कृतिकारले सूचना-स्रोतको उद्धरण नगरीकनै विवरण उल्लेख गरेका छन्। यसबाट कतिपय ठाउँमा कुन चाहिं कथन कृतिकारको र कुन चाहिं स्रोतबाट उद्धृत हो भन्ने छुट्याउन मुश्किल पर्छ।
कृतिमा अनुक्रमणिका दिइएको छ जसबाट हेर्न चाहेको विषयवस्तु पत्ता लगाउन सहज छ। यसले कृतिलाई स्तरीय तुल्याउन सघाएको छ। यसैगरी, परिशिष्ट खण्डमा ३२ वटा पुराना अभिलेखलाई उतार गरिएको छ। यसबाट कृति ग्रहणीय र विमर्शशील बन्न सहयोग पुगेको छ।
यति हुँदाहुँदै उतार गरिएका अभिलेखहरूको कतै पनि छायाछवि समावेश गरिएको छैन। केही अभिलेखको मात्र पनि छायाछवि राख्न सकिएको भए पुस्तकले थप आधिकारिकता र प्रामाणिकता पाउने थियो।
कुनै कुनै ठाउँमा मूल सन्दर्भको कम र परिधीय सन्दर्भको बढी चर्चा गरिएको छ। उदाहरणका लागि ‘जहानबच्चा पक्री कमारा-कमारी’ लेखमा पृथ्वीनारायणका पालामा कसूरदार व्यक्तिका जहानबच्चा पक्रिएर कमारा-कमारी बनाइएको चर्चा गरिएको छ। यही मेसोमा भीमसेन थापा र माथवरसिंह थापाका पालामा भएका यस्तै घटनाको बाक्लै चर्चा गरिएको पाइन्छ जुन आवश्यक थिएन।
यसैगरी, कृतिमा एउटै प्रसंग पटक पटक दोहोरिएका छन्। कतिपय ठाउँमा सन्दर्भ अनुसार एउटै प्रसंग पुनरावृत्ति हुने अवस्था नआउने होइन। यस्तोमा उही जानकारी पूरै दोहोर्याउनु साटो तिनलाई सन्दर्भ बुझाउने हदसम्म मात्र सीमित गरिएको भए श्रेयष्कर हुन्थ्यो। यसो गर्दा प्रसंग दोहोरिएको दोष पनि देखिंदैनथ्यो।
इतिहास साहित्य जस्तो रसिलो विषय होइन। कठिन शोधविधिको माध्यमबाट विगतलाई ब्युँताउनुपर्ने, पुराना लिपि पढेर अर्थ्याउनुपर्ने, दृश्यबाट विलुप्त भइसकेका विषयलाई प्रमाण जुटाएर पुनः दृश्यमा ल्याउनुपर्ने, पाइला पाइलामा तथ्यजाँच गर्नुपर्ने जस्ता अनेकन् जटिलताले इतिहास लेखन काउछो जस्तो बनेको छ। यही काउछो बेसाउने व्यक्तिमा दिक्पाल पनि दरिएका छन्।
मुग्लानमा कर्मजीवी जीवनयापन गरिरहेका दिक्पालले एकपछि अर्को गरी इतिहासका कृति प्रकाशन गरिरहेका छन्। रोटो र भोटोका लागि मुग्लानमा अर्कै कामधन्दा गरेर बचेको समय शोधकार्यमा खर्चिइरहेका छन् जसलाई उनको विशिष्ट क्षमता र पहिचान भन्नै पर्छ।
पृथ्वीनारायणबारे यसअघि पनि निकै पुस्तक नलेखिएका होइनन्, पक्ष-विपक्ष दुवैमा। धारणा जेजस्ता भए पनि तिनीहरूबीच समन्वय र समझदारी अपरिहार्य छ, जसबाट राष्ट्रिय एकता र मेलमिलाप कायम हुन सकोस्। पृथ्वीनारायणले छिरल्लिएर रहेका राज्यलाई एउटै मालामा गाँसेर राष्ट्रिय एकता सबल बनाउन दिएको योगदानको कदर हुन जति आवश्यक छ, त्यति नै आवश्यक छ एकीकरणका क्रममा भएका सांस्कृतिक हिंसा र अन्य हिंसाको समीक्षा गर्न। किनकि इतिहासको समुचित समीक्षाबाट भोलिका लागि पाठ सिक्न सकिन्छ। ऐतिहासिक घटनाको खुला समीक्षाले मूढाग्रहबाट मुक्त रही अझ समझदार, विवेकशील र चिन्तनशील बनाउन सघाउँछ।
केही कमजोरी बावजूद यो कृतिमा पृथ्वीनारायणबारे छिरल्लिएर रहेका यावत् ऐतिहासिक तथ्यलाई लिपिबद्ध गर्ने काम भएको छ। यस दिशामा कृतिकारको योगदान वन्दनीय छ। पृथ्वीनारायण शाह, नेपाल एकीकरण अभियान, राज्य विस्तारका क्रममा भएका हिंसा आदिबारे जान्न चाहने जोकोही पाठकका लागि यो कृति सन्दर्भ सामग्री हुन सक्छ। इतिहासबारे खोज-अनुसन्धान गर्नेहरूका लागि पनि मीठो पाठ बन्न सक्छ।
पुस्तक : पृथ्वीनारायण शाह : आलोचनात्मक इतिहास, लेखक : राजकुमार दिक्पाल, प्रकाशक : मञ्जरी पब्लिकेसन्स, पृष्ठ : २५१+१०, मूल्य : ४१५ रुपैयाँ।