ढुङ्गेयुगीन बस्ती पनौती
बचेखुचेका सांस्कृतिक विशेषताले नेपाल खाल्डोकै ठीक बाहिर आग्नेयमा अवस्थित पनौती पनि ढुङ्गेयुगदेखिको बस्ती हो भन्ने देखाउँछन्।
नेपाल खाल्डो काठमाडौं उपत्यकाको सभ्यता ढुङ्गेयुगदेखिको हो भन्नेमा शङ्का हुँदैन। तर यसका लागि पुरातात्त्विक दस्तावेज र विकासका क्रमिक खुट्किलाको प्रामाणिक तथ्य नभएकाले उपलब्ध मौखिक ऐतिह्य सामग्री र बचेखुचेको संस्कृतिका आधारमा यसका छुटफुट अंश सँगाल्नुपर्छ।
हिन्द उपमहाद्वीपमा सबैभन्दा पहिले आउने एकल जाति वा नश्ल किटान गर्न नसकिए पनि कुणिन्द/कुलिन्द, कोल, किन्नर, दरद, दास, दस्यु, निषाद, नाग, मुन्द्र, सवर, यक्ष आदि अनेक जातिमध्ये नेपाल खाल्डोमा नागको उपस्थिति राम्रैसित देखिन्छ। त्यसअघि यहाँ कोल, मुन्द्र आदिको उपस्थिति रहेको आभास पाइन्छ। यहाँ नागको उपस्थिति भने गोपाल-महिषपाल कालभन्दा ठीक अगाडि इसापूर्व १००० आसपासमा रहेको अनुमित हुन्छ।
त्यति वेला यहाँ कृषियुगीन नवपाषाणकाल थियो। यहाँका मानिसले खेती गर्न जानिसकेका थिए र खेतीका लागि कुलो ल्याउन पनि। त्यसैले गुफायुगीन बनेली जीवन त्यागेर नदी माल भूमिमा ढिक परेको ठाउँमा झुरुप्प बस्ती बसाल्थे। इन्डियाको गङ्गा मैदानका ढुङ्गेयुगीन मानिसले जस्तै यहाँकाले पनि बाँस, नरकट र परालबाट सुन्दर झोपडीहरू बनाउँथे।
उनीहरूले माटाका भाँडा बनाउन जानिसकेका थिए, तर ढिकी जस्ता जटिल यन्त्र र इँटा प्रयोग गर्न जानेका थिएनन्, काठ र ढुङ्गाका सरल यन्त्र प्रयोग गर्थे। यही परिप्रेक्ष्यका बचेखुचेका सांस्कृतिक विशेषताहरूले नेपाल खाल्डोकै ठीक बाहिर आग्नेयमा अवस्थित पनौती पनि ढुङ्गेयुगदेखिको बस्ती हो भन्ने प्रस्ट पार्छन्। पनौती बजारबाट तीन किलोमिटर दूरीमा रहेको खोपासीमा पाइएका ढुङ्गाका हतियारहरूले यो नवपाषाणकालदेखिको मानव आवाद क्षेत्र हो भन्ने दरिलो सङ्केत गर्छन्।
पनौतीको नामकरणमा आदिमता
पनौतीको नेवार नाम पलान्ति, पलाँति, पन्ति हुन्। सूर्यप्रसाद लाकोजूको पुस्तक पनौती (विसं २०६६: पहिलो २०६५) मा ‘पनौती शब्दको उत्पत्तिबारे प्रामाणिक तथ्यको अभाव’ रहेको सङ्केत गर्दै केही किंवदन्ती उल्लेख गरिएको छ– १. यहाँबाट बग्ने पुण्यमती नदीको नाम अपभ्रंश भई पनौती भयो। २. यस ठाउँबाट बग्ने पद्मावती (पुण्यमती), लीलावती (रोसी/रोशमती) र रुद्रमती (भौगोलिक रूपमा नभएको, धार्मिक किंवदन्ती अनुसार जमीनमुनिबाट बग्ने अदृश्य) खोलाका पहिलो, बीच र पछिल्लो अक्षर लिएर देवराज इन्द्रले यस ठाउँको नाम पलाती राखे। ३. देवराज इन्द्रले पाइला टेकेको ठाउँ {नेवारीमा पला = पाइला। ति = राख (तय् = राख्नु)} भएको हुँदा पलाती नाम रह्यो।
यस भनाइको पाठान्तरमा इन्द्रको प्रसङ्ग नजोडी जीवनमा एक पल्ट पाइला हाल्नै पर्ने पावन भूमि भएकाले यसको नाम पलाती भयो भन्ने छ (स्रोत : पनौतीका बासिन्दा र सूर्यप्रसाद लाकोजू, पनौतीको बाह्रवर्षे मकरमेला, २०६६)। ४. पूर्वकालमा पितृहत्याको पापमोचनका लागि सुकेको बाँस टेक्दै जाँदा जहाँ सो बाँस पलाउँछ, त्यस ठाउँमा तपस्या गर्नू भन्ने गुरु आज्ञापालन गर्दै आएका कुनै राजकुमारको बाँस यस ठाउँमा आइपुग्दा पलाएकाले यस ठाउँलाई पँचुली (पँ = बाँस। चुली = टुसो) भनियो। यहाँका विशेषताहरू समेटेर पँचुलीबाट ‘पँ’, नेपाल भाषाको ‘ल्वँ’ (ल्वँ = ढुंगा, हालको पनौती बस्ती एकै ढुङ्गामाथि रहेको विश्वास छ) र पावन तीर्थबाट ‘ती’ लिएर यसलाई पँल्वँती भन्दै पलाँती भनियो, इत्यादि।
भाषिक व्युत्पत्तिको हिसाबमा एक शब्दको एकभन्दा बढी व्युत्पत्ति सूत्र हुन सक्दैन। माथिका इन्द्र र तीर्थ जस्ता धर्म सम्बन्धी कुरा नेपाल खाल्डोमा आर्य सभ्यताको आगमनपछिका गँसोट हुन्। प्रस्तुत लेख त्यसभन्दा अघिको प्रागितिहासको कोट्याइ हो। आदिम सम्भावनातिर हेर्ने हो भने पनौतीलाई धार्मिक रूपमा जनाइने पुण्यमती, पाञ्चाल, अस्मपुर आदि नाम (लाकोजू, पनौतीको बाह्रवर्षे मकरमेला) का परिप्रेक्ष्यमा पुण्यवती (पुण्यमती) खोलाबाट पलाँति वा पलान्ति भएको सङ्केत किञ्चित् इतिहासाभासी छ तदपि कुरा विपर्यय हो।
भोगीराज चाम्लिङले ‘...कोल भाषाको पानी/नदीलाई बुझाउने शब्द काठमाडौं उपत्यकामा ‘टी’ का रूपमा जीवित छ। पनौती सहरको ‘ती’ पनि यही अर्थमा रहेको हुनुपर्छ’ उल्लेख गरेका छन् (‘जो आए पाँच हजार वर्षअघि’, कान्तिपुर कोसेली, २०७९ जेठ २१)। नेपालका नदीनालाको नामको अन्त्यमा प्रागितिहासिक कालदेखि ती (राप्ती, रिस्ती), दी/डी (मर्स्याङ्दी, रिडी) र सी (पनौतीमै रहेको रोसी र त्यसपूर्वका कोशीहरू) शब्द रहेको पाइन्छ। नेपाल खाल्डोमा यी तीनै ध्वनिले जनाउने खोलाका आदिम नाम अझै बाँकी छन्।
चाम्लिङले अग्रज अध्येताहरूको हवाला दिएर भोट बर्मेली परिवारका भाषामा कोल (मुण्डा) भाषाको प्रभाव रहेको र ‘ती’, ‘ता’ र ‘दा’ भोट बर्मेली भाषाको विशेषता नभई कोल (मुण्डा) को विशेषता रहेको उल्लेख गर्दै इन्डियाको कोल (मुण्डा) प्रभावित भाषा समूहका स्थान र नदीका नाममा ‘ती’ जोडिने लेखेका छन्। यही परिप्रेक्ष्यमा नेपाल खाल्डोलाई नियाल्दा ‘ती’ अन्त्य रहेका स्थाननाम थुप्रै भेटिन्छन्। पनौतीको आडैमा उत्तरमा रहेको बनेपाको पुरानो नाम धेलन्ती र त्यसको नजिकै नेपाल खाल्डोभित्रको चाँगु (भक्तपुर) को पुरानो नाम सातुन्ति हो (भोगीराज चाम्लिङ, ऐजन)। यस बाहेक कुसुन्ती (ललितपुर), खास्ति (बौद्ध, काठमाडौं) जस्ता स्थान छन् भने पनौतीको ठीक पश्चिममा कलाति/कलान्ति (भूमिडाँडा : तामाङ बस्ती) छ। यस्ता ‘ति’ अन्त्य स्थाननाम नेपाल खाल्डोमा आर्य आगमनभन्दा कता हो कता अघिका अनार्य नाम हुन्, यद्यपि यी नामका ‘ति’ भन्दा अघिका ध्वनिहरूको अर्थ तत्कालीन भाषा लोप भएका कारण अहिले सजिलै खुट्याउन सकिंदैन।
नेपाल खाल्डो र त्यस वरपर संस्कृतको बढ्दो प्रयोगका क्रममा नदीनालामा धार्मिक पवित्रताका कथा गाँसिनुका साथै तिनका नाम पनि संस्कृतमा रहन गएको पाइन्छ। नेपालमा ऐतिहासिक काल शुरू हुँदा राजभाषा संस्कृत थियो। तर त्यसअघि यहाँ अनार्य कुनै भाषा/भाषाहरू चलनचल्तीमा थियो/थिए। अहिले नेपालका भोटबर्मेली भाषा परिवारमा गणना हुने गरेका कतिपय भाषामा त्यसको प्रभाव रहेको खुट्टिन्छ, तापनि त्यसको खास स्वरूप अब अज्ञात छ। लिच्छविकालीन संस्कृत शिलालेखहरूमा पाइने असंस्कृत स्थाननामहरूले संस्कृत भाषा चल्नुअघि यहाँ असंस्कृत वा अनार्य भाषाको वर्चस्व रहेको छर्लङ्ग हुन्छ।
संस्कृत भाषाको बढ्दो प्रभावसँगै पुराना स्थाननाम विस्थापित हुँदै संस्कृतकृत भए, यहाँका खोलाहरू बागमति/वाक्मति, विष्णुमति, इक्षुमति, मनमति, सूर्यमति इत्यादि कहलिए। यस्तै, पानीसितै सम्बन्धित ‘ति’ अन्त्य भएका कतिपय स्थाननाम ‘तीर्थ’ मा परिणत भएका छन्। जस्तै, नेपाल भाषाको ‘सपन्ति’ लाई अहिले नेपालीमा संस्कृत समस्त पदबाट विकृत भएको मानी ‘सपनतीर्थ’ भनिन्छ र सो अनुसारको धार्मिक कथा पनि पाइन्छ।
इतिहासको गर्भमा लोप भएको भाषामा पलान्ति भनिएको खोलालाई नै पछि संस्कृतमा पद्मावति, पुण्यमति (पुण्यवति) आदि भन्न थालिएको झल्को मिल्छ। खोलाछेउको बस्तीलाई खोलाकै नामबाट पुकार्ने परिपाटी थियो। अझै जिउँदो आलो विगतको उदाहरण हेर्दा हाल विदुर नगरपालिका (नुवाकोट) मा पर्ने, विदुरभन्दा पारि उत्तरमा त्रिशूली नदीको किनारमा रहेको पुरानो नेवार बस्तीलाई ‘त्रिशूली बजार’ र त्यस वरपरको इलाका (हालको विदुर समेत) लाई ‘त्रिशूली’ भनिन्छ, जबकि त्रिशूली नदी गोसाइँकुण्डदेखि मर्स्याङ्दी (धादिङ, तनहुँ) सम्म बग्ने लामो नदी हो। त्यसैले पलान्तिको किनारमा बसेको बस्तीलाई पलान्ति (पलाँति) भनिएको हुन सक्छ र यो संस्कृत भाषाको आगमनभन्दा अघि सम्भवतः कोल (मुण्डा) बस्ती कालीन नाम हो भन्ने देखिन्छ।
प्रागैतिहासिक नाग जातिको उपस्थिति
पनौतीका बासिन्दामा आफूलाई नागका सन्तति मान्ने थरघर देखिएको छैन। यस दृष्टिले सूक्ष्म खोजबिन भएको पनि छैन। लोककथाहरू अनुसार पनौती वासुकी नागराजको देश हो। राज्य धनधान्यले सम्पन्न थियो। नागराजले समयमा वर्षा गराउँथे। उनको सम्बन्ध नेपाल खाल्डोका कर्कोटक नागराजसित राम्रो थियो।
एक पटक कर्कोटक नागकुमार भक्तपुरका मित्र (मित) एक ज्यापूसित घुम्न पूर्वतर्फ निस्किए। कुशेश्वरमुनि गजुरी दहमा पुग्दा त्यहाँका नागराजले तिनीहरूलाई रोकेर कि युद्ध गर होइन भने फर्केर जाओ भने। कर्कोटक कुमार लुत्रुक्क परेर फर्कन चाहेनन्। युद्धका लागि दहमा छिर्नुअघि उनले आफ्नो औंठी मित्रलाई दिएर भने, ‘पानी नियालेर बस, मैले जितें भने सतह दूध जस्तै सेतो र हारें भने रगत जस्तै राताम्मे हुन्छ।’ दहभित्र भिडन्त भयो, सतहमा ठूल्ठूला भुल्का उठे। केही बेरपछि भुल्का उठ्न छाड्यो, तर सतह राताम्मे भयो।
ज्यापूले औंठी लगेर कर्कोटक नागराजलाई दिंदै सबै वृत्तान्त सुनाए। कर्कोटक उग्र भएर द्वन्द्वका लागि सल्लाह गर्न पनौती पुगे। वासुकी नागराज धनञ्जय आफ्ना सबै नागशक्तिका साथ घर घरका ढिकीहरूलाई पनि नाग तुल्याएर लिएर गए। नालाका नागराज पनि नालाका ढिकीहरूलाई नाग तुल्याएर सघाउन आए। सङ्कटादेवले परबाट बगिरहेको रोसीलाई वर ल्याई नागहरूलाई गजुरी दहमा पुऱ्याउन सघाए। अन्तत: एकत्र शक्तिसित गजुरी दहका नागराज हारे (स्रोत : पनौतीवासी जुजुकाजी ताम्राकार र हरिसुन्दर ताम्राकार)।
नाग सम्बन्धी कथा पनौतीमा अरू पनि छन्। मत्स्येन्द्रनाथको नेपाल आगमनपछि एक तान्त्रिकले पनौतीका नागराजलाई सूक्ष्म रूपमा ढालेर कमण्डलुभित्र थुनेर लगी मत्स्येन्द्रनाथलाई चढाए। त्यसरी लैजाने क्रममा नागराजले पनौतीवासीसित सहयोग मागे। तर मध्यरातको मस्त निद्रामा रहेका पनौतीवासीले नागको आवाज सुनेनन्। अरू नागहरूले चाल पाएर तान्त्रिकलाई लखेटे पनि तान्त्रिकले नाग इलाका छिटै पार गरेकाले उनीहरूको जोर चलेन। उप्रान्त वासुकी नागराज धनञ्जय मत्स्येन्द्रनाथको सेवामा रहन थाले। तिनी पनौतीको जात्राका लागि आठदेखि चार दिनअघि यहाँ आउँछन्। तिनी आउँदा धुमधाम पानी पर्ने गर्छ, त्यसैले तिनको आगमन थाहा हुन्छ। यस्तै, पनौतीको १२ वर्षे मकर मेलाका लागि पनि तिनी आउँछन् र मेलाभर बस्छन्। (स्रोत : पनौतीवासी जुजुकाजी ताम्राकार, विजय कर्माचार्य र कृष्णचन्दु महाजू। डा. सुमनराज ताम्राकार, पनौतीका चाडपर्वहरू र मकरमेला, विसं २०६६।)
टौदह र पनौतीको सोझो भौगोलिक मार्गमा पर्ने ललितपुरको दक्षिणी भेगका बुङमती, बडीखेल आदिका आदिवासीहरूको मान्यता अनुसार कर्कोटककी रानी पनौतीकी वासुकी कन्या हुन्। जेठ ताका कर्कोटक नागराज यही बाटो ससुराली जाउ-आउ गर्ने वेला हावाहुरी चल्छ, कालो बादल लाग्छ, वर्षा हुन्छ। तिनी पनौती जाँदा मकैका बोट सबै तिनी गएको दिशातिर ढल्छन् र फर्कंदा फेरि ठाडा हुन्छन्।
पनौती बजार-बस्ती र आसपासका क्षेत्रसित सम्बद्ध अनेक लोककथन र बौद्ध र हिन्दू धर्म सम्बद्ध कथाहरू छन् जसले आदिम कालदेखि यो मानव बस्ती रहेको ठाउँ हो भन्ने सङ्केत गर्छन्। तर धर्मसित सम्बद्ध कथाहरूले जतिसुकै कल्पअघिको वा सत्य-त्रेता युगको कुरा अगाडि सारे पनि ऐतिहासिक तवरले ती आर्य आगमनपछि आत्मसात् गरिएका हुन्। यस लेखको विषयवस्तु त्यसभन्दा अघिको भएकाले सम्बद्ध किंवदन्तीहरू मात्र प्रसंगवश चर्चा गरिएको छ।
नाग सम्बन्धी यी कथाले पनौती क्षेत्र नेपालको किरातकालभन्दा अघिदेखिको बस्ती हो भन्ने सङ्केत गर्छ। कथामा कर्कोटक नागकुमार आफ्ना भक्तपुरे मितसित पूर्व घुम्न जान्छन्। भक्तपुरमा हाल ‘नागा’, ‘नागाजू’ थरका नेवार छन् (पद्म श्रेष्ठ, नेवार, २०६२)। कर्कोटक कुमार पूर्व घुम्न जाँदा गजुरी दहमा युद्ध भयो। किरात कालभन्दा अघि गजुरी दह (हालको नेपालथोक), साल्पा पोखरी (भोजपुर) लगायतका सिमसारसित सम्बन्धित नागहरूका अनेक लौकिक कथा छन्।
नेपाल खाल्डोभन्दा पूर्वको वल्लो, माझ र पल्लो किरात भनिने क्षेत्र नागहरूको थियो भन्ने अर्को आधार पनि छ। यस क्षेत्रमा केही पुस्ता अघिसम्म घरको जग हाल्न वा अन्य काममा केही गहिरो खन्दा ठाउँ ठाउँमा प्वाँलो भेटिन्थ्यो। प्वाँलो भेटिएको ठाउँ नागहरूको चिहान हो भन्ने लौकिक मान्यता हो। त्यस इलाकाको किंवदन्ती अनुसार नागहरू लास गाड्दा प्वाँलो पनि राख्थे। प्वाँलो महँगोमा बिक्री हुने हुँदा जताततै खनेर निकालिसकिएको छ र अहिले भने निकाल्न कानूनी रूपमा प्रतिबन्धित छ। भोगीराज चाम्लिङको भनाइमा चिहानमा जिमाला, सिमाला भनिने गहना राखिदिने चलन कोलहरूको हो (ऐजन)।
नाला, पनौती र साँखुमा ढिकी राख्न नहुने प्रचलन छ। पनौती र नालाका ढिकीलाई नाग बनाएर लगिएका कारण यहाँ ढिकी राख्न नहुने प्रचलन लोककथाले सङ्केत गर्छ। डा. सुमनराज ताम्राकारका अनुसार पनौती नागहरूद्वारा घेरिएकाले नागलाई चोट लाग्ला भनेर यहाँ ढिकी कुट्ने प्रथा छैन (ऐजन)। साँखुको कथाले त्यहाँ किन ढिकी राख्नु हुँदैन भन्ने कुरा नगरी एकै ठाउँमा तीन वटा ढिकी राख्न नहुने गरी धार्मिक कथाका राजाको आज्ञाबाट संशोधन भएको कुरा गर्छ। यसबाट त्यहाँ पहिले ढिकी राख्न हुँदैनथ्यो, तर पछि राख्न पाउने भयो भन्ने बुझिन्छ। कथाहरूले जेसुकै भने पनि वास्तविकता चाहिं, ढुङ्गेयुगीन नागहरूले ढिकी जस्तो जटिल यन्त्र चलाउन जानिसकेका थिएनन्। ढिकीको साटो यिनीहरू ओखल प्रयोग गर्थे। पछि नयाँ बस्तीहरूमा ढिकीको प्रयोग भइसक्दा पनि पुराना बस्तीमा ढिकी नहुँदा किन यस्तो भन्ने सन्दर्भमा कथाहरू बन्न थालेको देखिन्छ।
मत्स्येन्द्रनाथ कुन समयका थिए भन्ने निर्धारित छैन। उनी दशौं-एघारौं शताब्दीका थिए भन्ने एकथरी भनाइ इन्डियामा पाइन्छ। नेपालका किंवदन्तीका आधारमा मत्स्येन्द्रनाथ सातौं-आठौं शताब्दीतिरका देखिन्छन् भने पनौतीको लोककथाको विम्बले सातौं-आठौं शताब्दीसम्ममा यहाँ नाग जातिको अस्तित्व नामेट भएको सङ्केत गर्छ।
पनौती जात्राले जनाउने आदिमता
(क) वर्षारम्भको आधार
पनौती बजार-बस्तीको मूल जात्रालाई बाहिरियाले पनौती जात्रा र स्थानीयले ज्यापुन्हि (ज्येष्ठ पूर्णिमा) जात्रा भन्छन्। यस जात्राले नेपाल खाल्डोको आदिमताको प्रतिनिधित्व गर्छ, जुन नेपाल खाल्डोमा बचेखुचेका आदिम थोरै संस्कृतिमध्येको हो।
नेपाल खाल्डोको सभ्यताको पर्याय मानिने नेवार संस्कृतिमा ज्येष्ठ शुक्ल ६ (सिठी) देखि श्रावण कृष्ण १४ (गथाःमुगः) सम्म कुनै जात्रा-पर्व हुँदैन। नेवारको कृषिकर्ममा लाग्ने समुदाय ज्येष्ठ शुक्ल षष्ठीमा मनोरञ्जनमा उपयोग हुने बाजागाजा थन्क्याउँछ, रोपाइँ कर्ममा जुट्छ र श्रावण कृष्ण चतुर्दशीदेखि मात्र फेरि नियमित जीवनमा फर्कन्छ। तर पनौतीका नेवारले यसबीचको ज्येष्ठ पूर्णिमामा ज्यापुन्हि जात्रा मनाउनु अपवाद हो। यही अपवादले यहाँको आदिमताको सङ्केत गर्छ।
जात्रा-पर्वहरू विगतको ऐतिहासिक कुनै कालखण्ड वा घटनाको सम्झाउनीको निरन्तरता हो। पनौती जात्रा आदिम कृषियुगीन मानिसको वर्षारम्भ जनाउने पर्व हो। हिन्द उपमहाद्वीपमा गुफा र प्रारम्भिक कृषि युगका मानिसका लागि वर्षचक्रको आवृत्ति महसूस गर्ने दुई मानक थिए- वसन्त सम्पात अर्थात् सूर्यको उत्तरायण र मनसुनी वर्षा। गुफायुग र आरम्भिक कृषियुग दुवैका मानिस ढुङ्गेयुगीन हुन्। मनसुनी वर्षामै मानिसले आफ्नो सम्पूर्ण शक्ति रोपाइँमा लगाउनुपर्ने हुँदा आरम्भिक कृषियुगदेखि नै मनसुनी वर्षा यामलाई वर्ष गणनाको मानक मान्न थालियो।
खगोलविद्हरूले ग्रह-नक्षत्रको गणना गरी वर्ष वा महीनाको शुरूआतको दिन जहिले र जसरी तोक्ने गरे पनि त्यसको ज्ञान हुनुभन्दा अघिदेखि र सो ज्ञानपछि पनि त्यसका अनभिज्ञ विश्वभरकै आदिम मानिसका लागि बाटुलो पूर्णचन्द्रको रात नै महीना र वर्ष गणनाको आधार थियो। १८औं शताब्दीको प्रसिद्ध अङ्ग्रेजी उपन्यास रोबिन्सन क्रुसोमा रोबिन्सन एक निर्जन टापुमा पुग्दा आफू त्यहाँ आएको कति भयो भन्ने गणनाका लागि हरेक पूर्णिमामा आफू बसेको गुफामा एउटा धर्सो कोर्थे। त्यस उपन्यासको यस विम्बले आदिम मानिस कसरी महीना र वर्ष गन्थे भन्ने झलक दिन्छ।
हिन्द उपमहाद्वीपमा आर्यहरू आउँदा कृषियुग थियो। त्यतिखेरको वर्ष गणनाको लौकिक मान्यतालाई आर्य संस्कृति र संस्कृत भाषाले पनि अङ्गीकार गऱ्यो। त्यस भाषाले आकाशबाट पानी बर्सने वृत्तिलाई वर्षा र त्यसको बाह्र महीने चक्रलाई वर्ष मात्र भनेन, वर्षारम्भको पहिलो महीना वर्षाकाललाई सकारेर त्यसको नाम ज्येष्ठ (जेठो) राख्यो। ज्योतिषशास्त्र अनुसार प्रतिपदा (परेवा) देखि नयाँ महीना शुरू हुने भए पनि सो नजानेको वेलादेखि प्रकृतिका हरेक लीलालाई आश्चर्यपूर्वक हेर्दै आफ्नो ढंगले अर्थ्याउँदै विकसित सीधासोझा मानवजातिले पूर्णिमाको रातलाई नै महीना परिवर्तनको चिनो मानेको हुँदा आद्य नेवार संस्कृतिमा ज्येष्ठ पूर्णिमालाई वर्ष गणनाको चिनो मानिन्थ्यो।
यो कुरा अहिले चलनचल्तीको नेवार संस्कृतिले लगभग बिर्सिसकेको छ। तदपि नेवार संस्कृतिविद्हरूले श्रावण कृष्ण १४ लाई वर्षको पहिलो र ज्येष्ठ शुक्ल ६ लाई अन्तिम चाड मान्दै आएको गौरवका साथ बताउने गरे पनि वर्ष चाहिं कुन दिन शुरू हुन्छ भन्नेबारे बोल्दैनन्, किनभने थाहै छैन।
नेपाल संवत् शुरू हुने दिन कार्तिक शुक्ल प्रतिपदालाई वर्षारम्भ मानेर श्रावण कृष्ण १४ पहिलो चाड हुँदैन। तसर्थ ज्येष्ठ शुक्ल ६ र श्रावण कृष्ण १४ को बीचमा पर्ने ज्येष्ठ शुक्ल १५ कृषियुगीन आद्य मानव र आदिम नेवार संस्कृतिको वर्षारम्भको पहिलो दिन हो। अन्यत्रको नेवार संस्कृतिले रोपाइँ (सिनाज्या) का कारण यस दिनको महत्त्व भुलिसके पनि पनौतीले आफ्नो यौन विम्बको मूल जात्रा पूर्णिमाको राति टहटह जूनमा मान्दै आएकाले यो थलो कृषियुगीन ढुङ्गेयुगदेखिको बस्ती हो भन्ने सिद्ध हुन्छ।
(ख) यौन विम्ब
नौदिने पनौती जात्राका पूर्वाङ्गहरू पन्छाउँदा जात्राको मुख्य र चरमोत्कर्ष कर्म पूर्णिमाको रातमा हुने भद्रकाली, उन्मुक्त भैरव र इन्द्रेश्वर महादेवको जात्रा हो। यिनीहरूलाई खट र रथमा राखेर पहिले नै दरबार चोकको आसपास राखिसकिएको हुन्छ। जात्रामा ब्रह्मायणीदेवीको पनि उपस्थिति हुन्छ, तर मूल कर्ममा यिनको भूमिका हुँदैन। प्रधान खलकको पूजापछि जात्रा प्रारम्भ हुन्छ। भद्रकालीको रथलाई नगर परिक्रमा गराइन्छ। आफ्नै रथमा विराजमान भैरव भद्रकालीको पछि लाग्छन्।
महादेव पनि खटमा बसेर नगर परिक्रमा गर्छन्। नगर परिक्रमा गरी भद्रकालीको रथ पुनः दरबार-पाटीमा पुगेपछि भैरवको रथ हुत्याएर ल्याई भद्रकालीको रथको पछिल्तिर जुधाइन्छ र पछिल्तिरबाटै तानेर फर्काई केही पर डबलीनिर राखिन्छ। अनि भद्रकालीको रथ पछिल्तिरबाट तानेर लगी रथको पछिल्लो भाग डबलीनिर रोकिएको भैरवको रथको अघिल्लो भागमा ठक्कर दिएर जुधाइन्छ र भद्रकालीको रथ फेरि अगाडि तानी पुरानै यथास्थानमा राखिन्छ।
फेरि भैरवको रथ अगाडि बढाई अघिल्लो भाग पहिला झैं भद्रकालीको रथको पछिल्तिरको भागमा जुधाइन्छ र फर्काइन्छ। अनि फेरि भद्रकालीको रथ पछिल्तिर ल्याई पूर्ववत् भैरवको रथसित जुधाइन्छ। यो क्रम तेहेर्याई तीन पटक भैरव अगाडि बढी ढेस्सिने र तीन पटक भद्रकाली पछिल्तिर सरेर ढेस्सिने काम हुन्छ। यसपश्चात् महादेवको खट नचाउँदै ल्याइन्छ र दरबार पाटी अगाडि आफ्नो यथास्थानमा अडिएर रहेको भद्रकालीको रथको अघिल्तिरको भागमा महादेवको खटको अघिल्तिरको भाग जुधाइन्छ।
त्यसपछि खट केही पछि हटाएर फेरि भद्रकालीको रथसित यसरी नै तीन पटक जुधाइन्छ। यस चरमोत्कर्षपछि जात्रा समापनतिर लाग्छ। भैरव र महादेव आआफ्ना निवासतिर लाग्छन्, भद्रकाली दुवैलाई पुऱ्याउन जान्छिन्। दरबार पाटीमा चुपचाप साक्षी सरह रहेकी ब्रह्मायणीको पनि घर प्रस्थानको जात्रा हुन्छ। यो जात्रा रातको समयमा भई झिसमिसेतिर सकिन्थ्यो, अचेल चाहिं दिनको समयमै गर्न थालिएको छ (श्रीकृष्ण महर्जन, गोरखापत्र, २०७३ असार ७)।
जात्राको समागम लीलाले सांस्कृतिक विम्बात्मक जटिलता प्रस्तुत गर्छ, किनभने यसमा सभ्यताका विभिन्न चरणमा स्थापित सांस्कृतिक विम्ब र विम्बात्मक संस्कृति गुजुल्टिएको छ। यो जात्रा मूलमा आद्य मानव व्यवहारको विकासको जीवित भौतिक संस्कृति हो भने यसमा समयक्रममा विकसित सांस्कृतिक विम्बारोपणका साथै अनेक रीत थपिंदै गएका छन्। नेपाल खाल्डोभित्र कान्तिपुरको असन टोलमा चैत्र शुक्ल १ मा हुने जात्रालाई ‘देवता जुधाउने (द्यः ल्वाकेगु) जात्रा’ भनिए पनि रथ जुधाइँदैन, एक देवीको रथ बीचमा राखी अरू देवीरथले त्यसलाई शिष्टताका साथ फन्का मार्छन्।
यो दिदीबहिनी देवीहरूको भेटघाटको प्रतीक जात्रा हो। यी दुई रथ जुधाउने जात्राको रीतले नेपाल खाल्डो र सेरोफेरोमा मानव विकासक्रमसँगै जात्रा-पर्वहरूमा आएको अन्तर अनुमित हुन्छ। सभ्यताले मानिसको नैसर्गिक सोच र आचरणलाई एकपछि अर्को आवरणले ढाक्दै उसका अभिव्यक्तिलाई सौम्य बनाउने हो भने जति जति आदिमतातिर फर्किइन्छ उति उति मानिसका नैसर्गिक प्रवृत्ति उदाङ्गिंदो आचरणमा देखिन्छ।
आदिमतामा यो जात्रा खासमा नयाँ वर्षको थालनी र अन्न-धनको जोगाड गर्ने प्रयत्नको मनसुनी उल्लास हो। विश्वसाहित्य र विम्बात्मक संस्कृतिमा गृष्म (समर) ऋतु यौवनको परिपक्वता र यौनको उत्कर्ष विम्ब हो। रोपाइँ मेलाले यो सांस्कृतिक विम्बलाई सँगेल्छ। कुराको चुरो म आफ्नो बाल्यकालीन दुई सम्झनाबाट स्पष्ट पार्ने प्रयास गर्छु। नेवारको ज्यापू समुदायसित सम्बद्ध “तुसी बागः” (काँक्रो आधा) शीर्षकको, मभन्दा अघिल्लो र झन् अघिल्लो पुस्तामा बहुप्रचलित गृष्म-रोपाइँ सम्बद्ध अश्लील लोककथाले मनसुनी उष्ण गर्मीमा मौसमी चिसो फल आधा काँक्रोले हासिल गरेको यौन समागमको सनसनीपूर्ण कथावस्तु प्रस्तुत गर्छ। यो कथाको पाठ मलाई थाहा छैन। जानकारहरूले ‘भन्नु हुँदैन’ भनेर जहाँतहीं भन्दैनन् र त्यस्ता कथा भनिने माहोलमा उपस्थित हुने अवसर मैले पाइनँ। यसरी यस्ता कथाहरू आजको सभ्य समाजबाट लोप भइरहेका छन्।
मेरो अर्को सम्झना नेपाल खाल्डोका काँठको नेवार-इतर समाजमा प्रचलित मेलापात, जात्रामा खूब चल्ने ‘जुवारी गीत’ सित सम्बन्धित छ। यस्ता गीत रोपाइँका मेला र अन्य तीज आदि पर्वहरूमा हूलका हूल स्त्री र पुरुष ‘तेरो जित कि मेरो जित’ को स्पर्धामा कस्सिएर गाइरहेको सुन्न पाइन्थ्यो। यसमा केटी टोलीले जिते केटा टोलीले पैसा दिन्थ्यो र केटा टोलीले जिते केटी टोलीकी नाइकेनी वा कुनैलाई स्वास्नी तुल्याउन लगिन्थ्यो भन्ने सुनिएको थियो। जुवारीमा जितेर जोई ल्याएको सगर्व कुरा गर्ने सुखी दाम्पत्यका पुरुषहरू पनि भेटिन्थे। तर घटना सदा यस्तै सुखान्त हुँदैन।
मैले आफ्नो नवयुवाकालको सँघारमा जुवारीमा हारेको महिला टोलीकी एक महिलालाई पुरुष टोलीले बलजफ्ती तानिरहेको देखेको थिएँ। महिला जान मानिरहेकी थिइन, रुन्चे अनुहार पार्दै आफूलाई पछिल्तिर तान्न प्रयास गरिरहेकी थिई, तर थुप्रै पुरुषको अगाडि उनको बलले भ्याएको अवस्था थिएन, एक/दुई पाइला गर्दै घिस्रिंदै अगाडि बढ्दी अवस्थामा थिई। महिला टोलीको भने यसमा कुनै प्रतिवाद थिएन।
महिला टोलीको मौनताले यो मान्य सामाजिक संस्कार भए वा नभए पनि खुला र पाच्य गुपचुप संस्कार हो झैं जनाइरहेको थियो। तानातानको त्यस हावभाव देख्दा ती स्त्री तान्नेले घरै लगेर सम्मानित पत्नी तुल्याउनेमा शंकै हुन्थ्यो। कुरा ६० वर्षअघिको हो। अहिले यदाकदा जुवारी यस्तो होइन भनेर ढाकछोप गर्दै उहिले सौम्य गीत गाइन्थ्यो भन्ने गरिए पनि जुवारी र दोहोरी गीत जस्ता लोकपरम्पराका छिचरा गीति गेडा संयोजन अत्यादर्श समाजले मानिसलाई अँठ्याइराख्न खोजेको हदको मर्यादित कहिल्यै थिएन, अहिले पनि छैन। त्यस्ता गीतका छिचरा गेडा संयोजनमा सदा मानवको आद्य नैसर्गिक वृत्ति भेटिन्छ।
मानव आद्यवृत्तिको यही आद्य विम्ब पनौती जात्राको बीज हो, सभ्यताको लेपनले ढाकिनुअघिको। यस कारण पनि यो जात्रा तीन हजारभन्दा अघिदेखिको हो भन्ने आधार दिन्छ। निश्चय नै यसमा धेरै कुरा पछि थपिएका हुन्, पाङ्ग्रे रथ, देव-देवीका प्रतिमा, अनेक सजधज, जात्राका पूर्वाङ्ग विधि आदि। यसै क्रममा भैरवको सांस्कृतिक विम्ब पनि जोडिन आउँछ। स्थानीय लोक किंवदन्तीका अनुसार भद्रकालीले ६४ योगिनीको रूप आफूमा समाहित गर्दा सम्हालिनसक्नु कामोत्तेजना बढ्यो र पति महादेवलाई लखेटिन्। पत्नीको अदम्य कामोत्तेजनाबाट अत्तालिएर महादेव पुण्यमती, लीलावती र रुद्रमतीको त्रिवेणीमा हामफाले। कालीले महादेवलाई त्यहाँ पनि छाडिनन्। अनि महादेवले उन्मत्त भैरवको रूप धारण गरे। देवी कहालिइन् र भागिन्। भैरवले कालीलाई लखेटेर कब्जामा लिए। देवी पनि उत्तेजित थिइन्, रमाइन्। तृप्त भई शान्त रहेकी कालीलाई अनि महादेवले आफ्नो रूप धारण गरी समागम गरे (डा. सुमनराज ताम्राकार, ऐजन)।
सय कथाको सांस्कृतिक विम्बहरूले प्रथमतः यस जात्राको बीजमा रहेको मानवीय आद्य नैसर्गिक प्रवृत्तिको छिचरोपनलाई ढाकिदिएको छ- महादेवकै अवतार भैरव भएकाले कालीको समागम परपुरुषसित भएको छैन। दोस्रो, यस सांस्कृतिक विम्बले जात्रामा धार्मिकता स्थापित भएको छ र सो कारण यसले आजसम्म निरन्तरता पाएको छ। तर भैरव विम्बले यो कथा आठौं शताब्दीतिरको भन्दा धेरै अघिको होइन भन्ने पनि सङ्केत गर्छ। किनभने भैरव धर्मसम्प्रदाय तन्त्रयानसित सम्बन्धित छ र तन्त्रयान नेपालमा आठौं शताब्दीतिर भित्रिएको मानिन्छ। त्यसो भए के यो जात्रा आठौं शताब्दीतिर देखिको हो? होइन, यतिखेर नेवार बस्तीमा जेष्ठ शुक्ल ६ देखि श्रावण शुक्ल १४ को बीचमा कुनै पनि पर्व नमनाउने, रोपाइँको काम मात्र तनमनले गर्ने संस्कृति बनिसकेको थियो। त्यसैले जेष्ठ शुक्ल १५ को यो पर्व नेवार संस्कृतिमा त्यो अवधारणा विकास हुनुभन्दा अघिको ढुङ्गेयुगदेखिको निरन्तरता हो।
रहलपहल कुरा
पनौती क्षेत्र आदिम कालदेखि मानव आवादित क्षेत्र हो र त्यसैको निरन्तरतामा यहाँ धार्मिक गतिविधिले पनि पावन स्थान पाएको छ। यसको आदिमता जनाउने अरू पनि रहलपहल कुरा छन्। यहाँको एक लोकोक्ति अनुसार उन्मत्त भैरव एक पल्ट साँखुकी युवतीसित मक्ख परी त्यतै बस्ने गरेका थिए (पुरुषोत्तम ताम्राकार, ‘पनौती जात्रा (ज्याः पुन्हि)', नौलो समाचार, २०७८ असार १०)। यसरी पनौतीको सम्बन्ध साँखुसित पनि गाँसिन आउँछ, जुन पनौती जस्तै नाग जातिको आवादी रहेको ठाउँ हो भन्ने मेरो ठम्याइ छ।
त्यस्तै, नेवार जातिले आफ्नो मौलिक खाना भन्ने गरेको चामलको पीठोबाट बन्ने ‘योमरी’ (योमधी) सबैभन्दा पहिला पनौतीमै बनेको किंवदन्ती छ, जसमा कुवेरको प्रसङ्ग पनि आउँछ। कुवेर यक्ष हुन्। यक्ष पुरानो जाति हो। नेपालको सन्दर्भमा याक्खा किरात यक्षको वंश पनि भनिन्छ। यस्तै, उपर्युल्लिखित विम्बमा नै भक्तपुरको बिस्केट जात्रामा भैरव र भद्रकालीको रथ जुधाइन्छ। बिस्केट आफै नाग विम्बको मेला हो। यसमा भैरव-भद्रकालीको विम्बको विम्बात्मक सांस्कृतिक गुजुल्टोको छुट्टै चर्चा आवश्यक छ।