उद्धार सकिएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन
सौर्य एअरलाइन्सको विमान दुर्घटना भएपछि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ।
दुर्घटनाका कारण आकाशमै होल्ड रहेका हिमालयन एअरलाइन्स, थाई एअरवेज र भूटान एअरलाइन्सका जहाज त्रिभुवन विमानस्थलमा अवतरण गरेका छन्। त्यस्तै, अन्तर्राष्ट्रिय उडान पनि प्रक्रियामा रहेको विमानस्थल कार्यालयले जनाएको छ।
त्यस्तै, आन्तरिक उडान र अवतरण पनि हुन थालेका छन्। उद्धार कार्य सकिएसँगै विमानस्थल सञ्चालनमा आएको हो।
साउन ९ गते बिहान ११ः११ बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको ‘९एन-एएमई’ विमान लगत्तै दुर्घटनामा परेको हो। विमान मर्मतका लागि पोखरा जाँदै थियो।
नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले दिएको जानकारी अनुसार दुर्घटनामा १८ जनाको ज्यान गएको छ भने एक जनाको उपचार भइरहेको छ।