मत्स्येन्द्रनाथ हेर्ने लत बसेका अमेरिकी मानवशास्त्री
चार दशकयता रातो मत्स्येन्द्रनाथ जात्रा हेर्नकै लागि अमेरिकाबाट नेपाल धाइरहेका ब्रुस मेक्कोए ओवेन्स भन्छन्, “यो मेरो पनि परम्परा हो भन्ने लाग्छ।”
थाइनेको हिले गल्लीमा भीमकाय रथ फसिरहेको थियो। भासिएका पांग्रा बाहिर निकाल्न सयौं मानिस होस्टेमा हैंसे गरिरहेका थिए। सबैले एकसाथ झड्का दिंदा एक छिनलाई निस्किहाल्ला जस्तो हुन्थ्यो, फेरि पुर्लुक्क पछाडि फर्किहाल्थ्यो। लामो प्रयासपछि भीडले एउटा यस्तो झड्का लगायो, घरभन्दा अग्लो रथका विशाल पांग्रा फुत्रुक्क माथि उक्लिहाले। मानिसहरू खुशीले नाच्न थाले।
अमेरिकी पर्यटक ब्रुस मेक्कोए ओवेन्सले झन्डै पाँच दशकअघि पहिलो पटक देखेको रातो मत्स्येन्द्रनाथ (बुंगद्यः)को दृश्य यही थियो। मानवशास्त्रका विद्यार्थी उनले देशदेशावर चहार्दै २०३४ सालमा पहिलो पटक नेपाल टेकेका थिए। घुम्दै पाटन, मंगलबजार पुगे। त्यहाँका स्वर्ण मन्दिर, महाबौद्ध, कृष्ण मन्दिर आदि घुमाइदिने भन्दै झुम्मिएका ‘टुरिस्ट गाइड’ मध्ये उनलाई एउटाको प्रस्तावले तान्यो- रैथाने चाडपर्व हेर्ने। ब्रुस उनैलाई पछ्याउँदै रथजात्रातिर लागे।
यो जात्रा उनलाई यति गजब लाग्यो कि आफ्नो विद्यावारिधिको विषय नै बनाए। खासगरी, भव्य रथ, स्थानीयको आस्था अनि हिलोमा फसेका पांग्रा निकाल्न तिनले देखाएको एकताले मुग्ध पारेपछि उनले ल्याटिन अमरिकनहरुका बारे शोध गर्ने मनसाय बदलेका थिए । उनी भन्छन्, “जब नेपाल आएँ, मेरो विषय नै बदलियो। जात्राले त्यति मोहित पार्यो।”
स्वदेश फर्किएपछि ब्रुसले कोलम्बिया विश्वविद्यालय पुगेर रातो मत्स्येन्द्रनाथबारे विद्यावारिधि गर्ने प्रस्ताव राखे। यसैका लागि नेपाली भाषा जान्ने त्यहींका प्राध्यापक थियोडोर रिकार्डीसँग भाषा सिक्न थाले। शोधपत्रको शीर्षक पनि तय भयो- ‘द पोलिटिक्स अफ डिभाइनिटी इन द काठमाडौं भ्याली : द फेस्टिभल अफ बुंगद्यः/रातो मत्स्येन्द्रनाथ (काठमाडौं उपत्यकामा दिव्यताको राजनीतिः बुंगद्यः/रातो मत्स्येन्द्रनाथ)।
अर्को पटक नेपाल आउने साइत पाँच वर्षपछि जुर्यो, २०३९ सालमा। यस पटक ललितपुरको टंगालमा डेरा लिए, शंखर मल्लको परिवारको घरमा. “मैले नेवार बस्तीमै बस्न चाहेको थिएँ, ताकि उनीहरूका अन्य रीतिरिवाज पनि जान्न सकूँ,” उनी कारण खुलाउँछन्। यसकै निम्ति उनले ललितपुरकी रीता शाक्य र नरदेवीको सुवर्णमान तुलाधरसँग नेवारी भाषा समेत पढे।
यो बसाइमा ब्रुसले मत्स्येन्द्रनाथलाई रथ निर्माणअघिका विधिविधानदेखि नै नियाले। पूजास्थल, रथको बनोटसँगै यससँग जोडिएका रैथाने मान्यता, परम्परा समेतको मिहिन अध्ययन गरे। सयौँ स्थानीय र पुजारीहरूसँग बात मारे।
जात्रा लाग्ने एउटै दिन सबै पूजास्थलबारे गहिरिएर अध्ययन गर्न सम्भव नभएकाले लगातार तीन वर्ष जात्रा पछ्याए । धेरै अनुष्ठान एकै समयमा हुने भएकाले उनले सबै एकै वर्षमा अध्ययन गर्न नपाउने भएकाले उनी तीन वर्षसम्म नेपालमा नै रेहे । अघिल्लो वर्ष राम्ररी अध्ययन गर्न नभ्याएको ठाउँमा अर्को वर्ष खटिए। “अध्ययनमा तीन वर्ष लगाए पनि थेसिस बुझाउन सात वर्ष लाग्यो, त्यस बिचमा काम गर्न थाले,” उनी भन्छन्।
तीनवर्षे अध्ययन पछि ब्रुसले पाएको ज्ञान यस्तो थियो- नेवार समुदायले पुजारीहरूलाई पनि भगवान् मत्स्येन्द्रनाथलाई जति नै मान्दो रहेछ। समयक्रमसँगै जात्रा र पूजा गर्ने तरिका धेरै हदसम्म उस्तै रह्यो।
जात्राका क्रममा साना-ठूला गरी १०० वटा जति देउताको काम गरिंदा रहेछन्।त्यहाँ धेरै फरक प्रकारका परम्परागत रूपमा परिभाषित कामहरू छन्, जुन गर्न आवश्यक छ। तर ती सबै एउटै जात्राका मानिसहरूले गर्दैनन् । अनि यसका निम्ति नेवारभित्र थर अनुसारका जिम्मेवारी रहेछन्। जात्राले नेवाः समुदायमा विश्वासको साझा प्रणाली विकास गरेको रहेछ। यही पर्वले नेवार बौद्ध धार्मिक अनुष्ठानमा बलिदानको महत्त्व समेत झल्काएको रहेछ। साथै मानिसहरुले जात्रापर्वहरुमा खेल्ने भूमिकाहले उनीहरूको जीवन र पहिचानलाई आकार दिएको छ ।
जात्राको मुख्य विशेषता चाहिं उनलाई यसमा देखिने मानिसहरूको एकता लाग्यो जुन प्रसाद तयार पार्ने, रथ बनाउने/चलाउने, भोजन-भजन गराउने आदि हरेक पक्षमा झल्किन्छ। समाजमा घुलमिल हुन्छन्। समुदाय नै सिंगो परिवार जस्तो बन्न पुग्छ।
मत्स्येन्द्रनाथ र जात्रासँग जोडिएको कथालाई पनि फगत किंवदन्ती मान्दैनन् उनी। “यसको अध्ययन गर्दा मैले कहिल्यै मिथ शब्द चलाइनँ। किनभने मान्छेका विचारमा यो साँच्चैको कुरा हो। मिथ भन्दा तिनको आस्थालाई चोट पुग्छ, विभाजन ल्याइदिन्छ। यस्ता चाड हटाइदिए नेवाः नै रहँदैन,” उनी भन्छन्।
अध्ययन सकेर अमेरिका फर्किएपछि पनि ब्रुसलाई मत्स्येन्द्रनाथको आकर्षणले बारम्बार यहाँ तानिरह्यो। त्यसैले कोभिड-१९ महामारीको अवरोधमा बाहेक उनले सकेसम्म यो जात्रा छुटाएका छैनन्। “अरू देशमा पनि चाडपर्व मनाइन्छ, तर नेपालमा जीवित देउताको पूजा गरिन्छ। यो साँच्चै अद्भुत होइन त ?” जात्राकै निम्ति गत वैशाखमा नेपाल आएका उनले सुनाए।
ब्रुसले उति वेला पुगेका स्थान, भेटेका मानिस, जात्राका गतिविधिको तस्वीर पनि खिचेका छन् जुन अरूसँग विरलै छ। उनले सन् २०१६ मा पाटन संग्रहालय र फोटो काठमाडौँको प्रदर्शन मच्छिन्द्रबहाल र बुङमतीमा तथा सन् २०२२ मा अमेरिकन युनिभर्सिटी अफ पेरिसमा तिनको प्रदर्शनी पनि गरे जसमा ४७ वर्षअघिको नेपाल खाल्डो र संस्कृति देख्न पाइन्छ। प्रदर्शनीको माग अहिले पनि भइरहेको छ।
त्यसैले केही महीनापछि पाटन म्युजियम नेपालमा फेरि ती तस्वीर देखाउँदै छन्। उनी भन्छन्, “सबै कुरा मिले तीन महीनापछि ललितपुर र पोखरा अन्तर्राष्ट्रिय पर्वतारोहण संग्रहालयमा प्रदर्शनी गर्ने कुरा छ।”
४७ वर्षको परिवर्तन
बुद्धाचार्य शाक्यको पुस्तक रातो मत्स्येन्द्रनाथका अनुसार रथ निर्माण सम्पन्न भएपछि त्यसलाई मण्डप पार्टीसम्म पुर्याएर पानीफूल चढाउने र ग्रहशान्ति गर्ने चलन पुरानै हो। तर अहिले रथ जहाँ बनायो त्यहीं यी विधि गर्न थालिएका छन्। यस्तै, संस्कृतिविद्हरू वेलावेला रथ लैजाने पुरानो बाटो छाडी नयाँ बाटो प्रयोग गरिएकामा असन्तुष्टि व्यक्त गर्छन्।
जात्रामा पहिले जस्तो भजनकीर्तन नभई कन्सर्ट हुने गरेको छ । यसरी धेरै कुरा फेरिंदै जाँदा पनि पूजाविधि र मानिसको व.श्वास उस्तै देख्छन् ब्रुस। “पहिला पनि सयौं विधि हुन्थे। दर्जनौं पुजारीले विभिन्न स्थानको जिम्मेवारी लिनुहुन्थ्यो। थुप्रै परिवर्तन ब्रुसले पनि याद नगरेका होइनन्। पहिले पूजा गर्न घम्पोचा (माटाको भाँडो) प्रयोग हुन्थ्यो, तर अहिले तामाका भाँडा छन्। यसले गर्दा माटाका भाँडा बनाउने, पानी ल्याउने, माटो मुछ्ने, रङ लगाउने जस्ता रोजगारी खोसिएका छन्। शोभाका हिसाबले पनि मलाई माटाकै भाँडा राम्रो लाग्छ। तर अब प्रविधिले सजिलो गराइदियो,” उनी भन्छन्।
त्यस्तै, पहिले भजन गाउने, बाजा बजाउने र लट्ठा तान्न सघाउने व्यक्ति को कहाँबाट आएका हुन् भन्ने थाहा हुँदैनथ्यो। अहिले उनीहरूको लुगामै धिमे भजनहरु नाम लेखिएको हुन्छ।
“अहिले जातीय पहिचान देखाउने होड बढेका कारण नेवाः सम्पदाको अभिव्यक्तिका रूपमा खल:हरूले आआफ्ना टी-शर्ट बनाएका हुन सक्छन्,” ब्रुुस भन्छन्, “यो नयाँ चेतना हो।” सन् ८० दशकको प्रारम्भमा मत्स्येन्द्रनाथ जात्रासँग सम्बद्ध १२ भन्दा बढी दाफा खलः थिए। ती व्यवस्थित थिए। तर अहिले यस्ता दाफा खलः कम भएका हुन् वा अन्त कतै यिनको व्यवस्थापन भएको हो, उनी यसबारे अनविज्ञ छन् । पूजा गर्ने र रथ बनाउने सामान पनि धेरै महँगो भएको उनको अनुभव छ।
जात्राको अर्को परिवर्तन यसमा बढेको महिला सहभागिता हो। “मैले पहिला रथयात्रामा महिलाले नाचेको, गाएको, वाद्यवादन गरेको कहिल्यै देखिनँ। अहिले ज्यापू समाजको व्यवस्थापनमा राम्रो भएको रहेछ,” ब्रुस भन्छन्।
उनका अनुसार पाटनभन्दा बुङमतीका महिलाहरू रथ तान्न हौसिने गरेका छन्। भजन गाउन र नाच्न पनि उनीहरू अघि छन्। महिलाहरू अहिले धिमे भजनमा सहभागी भइरहेका छन् ।
दाफा खलःहरूमा भजन पनि ‘कन्सर्ट’ जसरी प्रस्तुत गरिन थालिएको छ । मत्स्येन्द्रनाथको पूजा गर्न कटुवाल दहबाट कलशमा पानी ल्याउने परम्परा छ। त्यो पानी पहिले सफा थियो, अहिले दुर्गन्धित भएको छ। ब्रुसले पहिलो पटक देखेको रथ तानिएको बाटो खाल्डैखाल्डा भएको थियोे। तर अहिले बाटो पक्की भएको छ। रथ पहिलेभन्दा छिटो गुड्न थालेको छ।
“खासमा रथ छिटो तान्न हुँदैन। धेरैजसो रोकिरहनुपर्छ। पिच भएपछि रोक्नै गाह्रो भएको छ। नयाँ पाङ्ग्राको झट्का लागेर रथको बाँकी भाग बिग्रिने हुन्छ ।
पहिला घरभन्दा अग्लो रथ हुन्थ्यो। तर अहिले घर अग्ला भएकाले रथ तिनको बार्दलीमा अड्कने गरेको छ। यति हुँदाहुँदै पनि १५ सय वर्ष पुरानो भनिएको परम्परा जोगाउनुलाई सानो उपलब्धि मान्दैनन् ब्रुस।
२४ वर्षे युवा उमेरमा पहिलो पटक नेपाल टेकेका ब्रुस अहिले ७१ वर्षका भए। उति वेलाका विद्यार्थी अब अमेरिकाको ह्वीटन कलेजमा मानवविज्ञान विभागका पूर्व सहप्राध्यापक छन्। चार दशकअघि नेपाल आएर गरेको अध्ययनले उनलाई मानवशास्त्री बनायो। उनले खिचेका तस्वीर अहिले नेपालका लागि ऐतिहासिक प्रमाण बनेका छन्।
अमेरिकाबाटै ल्याएको ओलम्यस- जिरो एमवानएमडिएस क्यामेराले खिचेका यी तस्वीर यति मूल्यवान् होलान् भन्ने ब्रुसलाई लागेकै थिएन। “त्यस वेला जात्रामा एक/दुई जनाको मात्र क्यामेरा देखिन्थ्यो। मैले खिचे जति फोटोहरूमा नाम र मिति पनि लेख्दै आएको थिएँ। त्यही कुरा अहिले मूल्यवान् भइदियो,” उनी भन्छन्, “यी हरेक फोटोमा कथा छन्।”
अमेरिकामा क्रिश्चियनका रूपमा जन्मेहुर्केका ब्रुस आफूलाई यदि केही हुँ भने बौद्ध हुँ भन्न रुचाउँछन । अनि उनलाई अहिले सबैभन्दा ठूलो आस्था रातो मत्स्येन्द्रनाथप्रति छ। तर उनी अब पहिले जसरी क्यामेरा बोकेर रथ पहिल्याइरहन सक्दैनन्। जसको उनी आवश्यकता पनि देख्दैनन् ।
किनकि अहिले नेपालीहरू नै फोटो-भिडिओ खिचेर जात्राको अभिलेख राख्न थालेका छन्। केही युवा उनैले जसरी प्रत्येक वर्षका गतिविधि नियालिरहेका छन्। “अब पहिला जस्तो जात्राको आर्काइभ नहुने जोखिम छैन। युवाहरूले राम्रो आर्काइभ बनाइरहेका छन्,” उनी भन्छन्।
(सम्पादन: प्रदीप खतिवडा, भाषा: प्रद्युम्न खनाल)