घूस दिएको स्विकार्ने सांसदलाई कारबाहीको माग गरेर संसदीय समितिमा उजुरी
पाँच हजार रुपैयाँ घूस दिएको बताएका प्रतिनिधि सभा सदस्य वीरेन्द्र महतोलाई कारबाहीको माग राखेर राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ।
मधेश प्रदेश सभाका सांसद रहवार अन्सारीले बुधबार महतो विरुद्ध उजुरी दिएका हुन्। जनता समाजवादी पार्टी (जसपा)का सांसद महतोले साउन ६ गते प्रतिनिधि सभा बैठकमा आफ्नो छोराको कक्षा १० र १२ समकक्षता निर्धारणका लागि पाठ्यक्रम विकास केन्द्रका कर्मचारीलाई बिचौलिया मार्फत पाँच हजार रुपैयाँ घूस दिएको बताएका थिए।
घूस लिने मात्रै होइन, दिनेलाई पनि कारबाहीको प्रावधान भएकाले आफूले उजुरी दिएको नेकपा (माओवादी केन्द्र)का सांसद अन्सारीले हिमालखबरलाई जानकारी दिए। अन्सारीले भने, “संसद् जस्तो पवित्र ठाउँमा गैरकानूनी काम गरेको कुरा गर्नुभएकाले उजुरी दिएको हुँ।”
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ मा रिसवत (घूस) लिने र दिने दुवैलाई सजायको प्रावधान छ। दफा ३ को उपदफा १ मा रिसवत लिइसकेको भए रिसवत जफत हुने र २५ हजार रुपैयाँसम्म रिसवत लिनेलाई तीन महीनासम्म कैद सजाय हुने व्यवस्था छ। दफा ३ को उपदफा ३ मा घूस दिनेलाई पनि कारबाहीको प्रावधान छ। महतो दोषी ठहर भए तीन महीनासम्म कैद सजाय हुन सक्छ।
घूस असुलेका कर्मचारीमाथि छानबिन गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशकको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहालले जानकारी दिए।
मन्त्रालयको छानबिन घूस लिनेमा मात्र सीमित हुने देखेर आफूले घूस दिनेलाई पनि कारबाहीको माग राखेर उजुरी दिएको अन्सारी बताउँछन्।