एशिया कपबाट बाहिरियो नेपाल
समूह चरणको अन्तिम खेलमा भारतसँग पराजित भएपछि नेपाल एसीसी एशिया कप प्रतियोगिताबाट बाहिरिएको छ।
तीन खेलबाट दुई अंक जोडेको नेपाल प्रतियोगिताबाट बाहिरिंदा ‘समूह ए’ बाट भारत र पाकिस्तान सेमिफाइनल पुगे। नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेटले पराजित गरेको थियो। पाकिस्तानसँग भने नेपाल नौ विकेटले पराजित भएको थियो।
श्रीलंकामा मंगलबार नेपाल साविक विजेता भारतसँग ८२ रनले पराजित भएको हो। टस जितेर ब्याटिङ रोजेको भारतले १७८ रन जोडेको थियो।
२० ओभर खेल्दा नौ विकेट गुमाएको नेपालले ९६ रन मात्र जोड्न सक्यो। नेपालका लागि सीता राना मगरले सर्वाधिक १८ रन जोडिन्। अविजित बिन्दु रावलले १७, रुबिना क्षेत्रीले १५ र टीम नेपालकी कप्तान इन्दु बर्माले १४ रनको योगदान दिए। सम्झना कार्कीले सात, कविता कुँवरले ६, डोली भट्टले पाँच, काजल श्रेष्ठले तीन रन जोडे। अविजित सवनम राईले रनको खाता खोलिन्। दुई बलमा आउट भएकी कविता जोशीले रन जोड्न सकिनन्।
‘प्लेअर अफ द म्याच’ भारतकी शाफली बर्मा ४८ बलमा ८१ रन जोड्न सफल भइन्। एक छक्का र १२ चौका प्रहार गरेकी शाफलीलाई सीता राना मगरले बोल्ड गरेकी थिइन्। स्पिनर सीताले हेमलथालाई लङअनमा रुबिना क्षेत्रीबाट क्याच गराइन्। सजीवन सजनालाई कविता जोशीले एलबीडब्लू आउट गरिन्।
पाँच चौका सहित २८ रन जोडेकी जमीमा रोड्रिग्स र ६ रन जोडेकी रिचा घोष नट आउट रहे।