बिजुली काटिएका उद्योगको लाइन आज साँझबाट जोडिने
नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरिएका ६ वटा उद्योगमा मंगलबार साँझबाट विद्युत् प्रवाह गर्ने भएको छ।
प्राधिकरण सञ्चालक समितिको मंगलबार बसेको बैठकले डेडिकेटेड र ट्रंकलाइन विवादमा ६ वटा उद्योगमा काटिएको बिजुली शर्त सहित जोडिदिने निर्णय गरेको हो। मंगलबार साँझबाट क्रमिक रूपमा बिजुली जोडिने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले तीन महीनाभित्र उद्योगीहरूले बक्यौता भुक्तानी नगरेमा पुनः बक्यौता असुल उपर गर्न कारबाही अघि बढाउने गरी विद्युत् लाइन जोड्ने निर्णय गरेको प्राधिकरण सञ्चालक समितिका एक सदस्यले बताए। प्राधिकरणले विद्युत् नियमन आयोगको निर्देशन अनुसार लाइन जोड्ने निर्णय गरेको पनि उल्लेख गरेको छ।
विद्युत् महसूल विवादमा प्राधिकरणले २५ असारदेखि जगदम्बा स्टील, जगदम्बा सेन्थेटिक, रिलायन्स स्पीनिङ मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र हुलास स्टील गरी ६ उद्योगमा विद्युत् आपूर्ति बन्द गरेको थियो। विद्युत्को बक्यौता महसूलका विषयमा प्राधिकरण र उद्योगीबीच लामो समयदेखि विवाद छ।
बक्यौताका विषयमा प्रतिनिधि सभा बैठकमा पनि छलफल र विवाद भइरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभा बैठकमा उद्योगीहरूले कानून बमोजिम रकम तिर्नुपर्ने तर प्राधिकरणले विना प्रमाण बिजुलीको बिल पठाएर उद्योगीसँग बढी रकम उठाउन खोजेको टिप्पणी गरेका थिए।
उनले गत शुक्रबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ तथा उद्योगीहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर तत्काल लाइन जोड्न घिसिङलाई निर्देशन दिएका थिए। तर प्राधिकरण सञ्चालक समितिले लिखित निर्देशन नभई मौखिक आदेशका भरमा काटिएको विद्युत् आपूर्ति सेवा सञ्चालन गर्न नसक्ने भन्दै लाइन जोड्न मानेको थिएन। विद्युत् नियमन आयोगले आइतबार प्राधिकरणलाई पत्र लेखेर तुरुन्त विद्युत् जोड्न निर्देशन दिएको थियो।
विगतमा लोडशेडिङका वेला सर्वसाधारणको घरमा बिजुली कटौती गरेर निश्चित उद्योगलाई लगातार विद्युत् आपूर्ति दिइएको थियो। प्राधिकरणले त्यसरी गरिएको विद्युत् आपूर्तिको प्रिमियम मूल्य अर्थात् थप मूल्य निर्धारण गरे पनि उद्योगीले थप विद्युत् उपयोग गरेको प्रमाण नभएको भन्दै रकम तिर्न मानिरहेका छैनन्। यस्तो विवादित रकम रु. ६ अर्बभन्दा बढी छ।
विद्युत् नियमन आयोगले प्राधिकरणलाई पठाएको पत्र