मन्त्रालय भागबन्डा मिलेपछि बागमतीमा मुख्यमन्त्रीमा दाबी पेश
प्रदेश प्रमुखको कार्यालयले दिएको समय सकिन केही घण्टा बाँकी हुँदा बागमती प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेश भएको छ।
नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता बहादुरसिं लामालाई मुख्यमन्त्री नियुक्तका लागि मंगलबार दाबी पेश गरिएको हो। साउन ६ गते मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले मंगलबार ५ बजेको समयसीमा तोकी दाबी पेशका लागि आह्वान गरेका थिए।
लामाले नेकपा (एमाले)को समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्। एमाले र कांग्रेसबीच मन्त्रालय भागबन्डाको विषयमा सहमति हुन नसकेपछि सोमबार १० बजेका लागि भनिएको दाबी पेश २७ घण्टा ढिलो गरी पेश गरिएको हो।
यस प्रदेशमा कांग्रेस र एमालेबीच आधा आधा कार्यकाल मुख्यमन्त्रीको नेतृत्व गर्ने सहमति भएको छ। पहिलो २० महीनाका लागि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बहादुरसिं लामालाई मुख्यमन्त्री बनाउने गरी दाबी पेश गरिएको एमाले नेता जगन्नाथ थपलियाले बताए।
त्यसपछिको २० महीना एमालेबाट दलका नेता जगन्नाथ थपलिया मुख्यमन्त्री हुने गरी सहमति भएको छ। उनका अनुसार मुख्यमन्त्रीसँगै अर्थ मन्त्रालय पनि कांग्रेसलाई दिने सहमति भएको छ। त्यस्तै, एमालेले भौतिक पूर्वाधार सहित ६ मन्त्रालय र कांग्रेसले मुख्यमन्त्री सहित सात वटा मन्त्रालय लिने सहमति छ।
कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय लिनेछ। एमालेले भौतिक सहित खानेपानी, ऊर्जा तथा सिंचाइ, कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरण, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन र स्वास्थ्य मन्त्रालय लिने सहमति बनेको हो।
पूर्व मुख्यमन्त्री डोरमणि पौडेल सहित नेताहरू लामा, थपलिया, कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ, प्रदेश वन मन्त्रालयका पूर्व मन्त्री केशव पोख्रेल सहितका नेताहरू बसेर सहमति गरेका हुन्।
एमालेबाट प्रेमभक्त महर्जन, प्रकाश श्रेष्ठ, अमन मास्के, किरण थापा मगर, सुकुमाया तामाङ र कृष्ण सिलवाल मन्त्री बन्ने भएका छन्। यसैगरी, नेपाली कांग्रेसबाट मन्त्री बन्नेहरूको नाम सार्वजनिक भइसकेको छैन।