नेपाली भाषा प्रयोगकर्ता समूहले भन्यो- सर्वोच्च अदालतलाई धन्यवाद!
नेपाली भाषाको वर्णविन्यासमा फेरबदल गर्ने २०६९ सालको मन्त्रिस्तरीय निर्णय बदर गरेकोमा नेपाली भाषा प्रयोगकर्ता समूह (नेभाप्रस-२०६९) ले सर्वोच्च अदालतलाई धन्यवाद दिएको छ।
सोमबार ललितपुरको पाटनढोकामा आयोजित नेभाप्रसको भेलाले वर्णविन्यासबारे १२ वर्षअघिको सामूहिक प्रस्तावना ‘नेपाली कसरी शुद्ध लेख्ने (नेकशुले)- २०६९’ को मर्म अनुरूप सर्वोच्चको फैसला आएको भन्दै आपसमा खुशी साटेको हो।
२०६९ साउन २२ मा तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्माले विद्यालय तहको पाठ्यपुस्तकमा वर्णविन्यास परिवर्तन गर्ने निर्णय गरेका थिए। मन्त्रीले सदर गरेको टिप्पणी आदेशका आधारमा पाठ्यक्रम विकास केन्द्रले सम्पादन तथा प्रकाशन शैली पुस्तिका परिमार्जन गरेको थियो। जसमा भाषा सरल बनाउने नाममा संयुक्त वर्णको खुट्टा काट्ने, संस्कृतबाट आएका शब्दको दीर्घ ईकार र ऊकार हटाएर ह्रस्व लेख्ने तथा पहिले जोडेर लेखिंदै आएका शब्दलाई छुट्याएर लेख्ने (पद वियोग) जस्ता नियम बनाएको थियो। यस अनुसार कक्षा १ देखि १२ सम्मका पाठ्यपुस्तक र अन्य सामग्रीको वर्णविन्यासमा फेरबदल गरिएको थियो।
यी नियमले नेपाली भाषा मासिने भन्दै भाषामा विकृति र भाँडभैलो हुन नदिन लेखक, साहित्यकार र सञ्चारमाध्यमले निरन्तर लेख्दै, बोल्दै आएका थिए। वर्णविन्यासको परिवर्तित नियमलाई नेपाली प्रज्ञा-प्रतिष्ठानले पनि आत्मसात् गरेर संशोधित शब्दकोश नै प्रकाशन गरेको थियो। जुन पछि भाषाप्रेमी र अभियन्ताको निरन्तरको विरोधपछि प्रतिष्ठानले फिर्ता लिने निर्णय गरेको थियो।
सर्वोच्च अदालतको २०८१ असार ९ गतेको फैसलाले टिप्पणी आदेशका भरमा वर्णविन्यास र व्याकरण परिवर्तन गर्न नहुने फैसला गरेको छ। मन्त्रिस्तरीय निर्णयबाट नेपाली भाषाको वर्णविन्यास बिगारिएको र त्यसलाई बदर गरिनुपर्ने भन्दै पत्रकारद्वय टपेन्द्रबहादुर कार्की र स्वागत नेपालले दायर गरेको रिटमा न्यायाधीशहरू सपना प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासले फैसला गरेको हो।
सर्वोच्चको फैसला नेपाली भाषाको सम्प्रभुता प्रयोगकर्तामा निहित हुन्छ र भाषाको स्वाभाविक गतिमा अवरोध गर्ने अधिकार कसैलाई हुँदैन भन्ने नेकशुले-२०६९ को भावना अनुसार आएको भाषाविद् शरच्चन्द्र वस्तीले बताए। “सर्वोच्चको फैसलाबाट भाषालाई जथाभावी चलाउनु र गिजोल्नु हुँदैन भन्ने मान्यता स्थापित भएको छ,” वस्तीले भने।
कार्यक्रममा उनले भाषा बचाउने अभियानमा योगदान गरेका दिवंगत व्यक्तिहरू कमल दीक्षित, बालकृष्ण पोखरेल, तारानाथ शर्मा, जगदीश घिमिरे, गोविन्द वर्तमान र विष्णुराज आत्रेयको सम्झना गरेका थिए। वस्तीले नेपाली भाषा र वर्णविन्यास जोगाउने अभियान अगाडि बढाउन साहित्यकार जगदीश घिमिरेको अग्रसरतामा २०६८ माघमा रामेछापको मन्थलीमा भएको छलफलले बीजारोपण गरेको भन्दै त्यसयताको विचार-विमर्श र भेलाका सामूहिक प्रयासबारे सिलसिलेबर चर्चा गरेका थिए।
२०६८ चैत ११ गते करीब १०० जना लेखक, साहित्यकार, पत्रकार सम्मिलित नेपाली भाषा प्रयोगकर्ताको भेलाले तीनबुँदे ललितपुर घोषणापत्र जारी गरेको थियो भने २०६९ वैशाख २१ गते ललितपुरमै भएको भेलाले नेपाली वर्णविन्यासको प्रस्तावना ‘नेपाली कसरी शुद्ध लेख्ने (नेकशुले)- २०६९’ सार्वजनिक गरेको थियो।
कार्यक्रममा कोशकार चूडामणि गौतमले संसारलाई नै बन्दी बनाएको कोभिड-१९ महामारीको अँध्यारो समयलाई आफूले नेपाली भाषाको श्रीवृद्धिका लागि सदुपयोग गरेको अनुभव सुनाए। महामारी रोकथामका लागि २०७६ चैत ११ देखि सरकारले लकडाउन लागू गरेपछि दैनिक बिहान ८ देखि बेलुका १० बजेसम्म बृहत्तर शब्दकोश निर्माणको काममा चार वर्षसम्म खटेको उनले बताए। पाँच वटा शब्दकोश प्रकाशन गरेका उनले हालै १११औं पुस्तकका रूपमा वर्णविन्यासका दुश्मन प्रकाशन गरेका छन्।
राजेन्द्र दाहालले सहजीकरण गरेको कार्यक्रममा मुकुन्दशरण उपाध्याय, रमेश खकुरेल, खगेन्द्र संग्रौला, रोचक घिमिरे, प्रकाश वस्ती, लोचन भट्टराईले पनि बोलेका थिए। उनीहरूले नेपाली भाषा र हिज्जेको शुद्ध रूपमा अभ्यास गर्न र गराउन सचेत हुनुपर्नेमा जोड दिए।
भेलाले संकल्प पनि पारित गरेको छ। संकल्पमा समयको अन्तरालमा राज्यका विभिन्न निकायबाट लादिएका विकृतिहरूबाट भाषालाई मुक्त गराई ‘नेकशुले २०६९’ को दिशानिर्देश अनुरूप नेपाली भाषालाई स्वच्छ, उदार र एवम् गतिशील बनाउँदै लैजाने उल्लेख छ।