चेतनारायण आचार्य लुम्बिनीको मुख्यमन्त्री नियुक्त
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन्।
प्रदेश प्रमुख अमिक शेरचनले सोमबार आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। नेपालको संविधानको धारा १६८ उपधारा २ बमोजिम आचार्यलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता धर्मा अर्याल बेलबासेले जनाएका छन्।
नेपाली कांग्रेसको समर्थनमा सोमबार अपराह्न आचार्यले प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए। उनले एमाले र कांग्रेसका गरी ५६ सांसदको हस्ताक्षर बुझाएका थिए।
एमालेले समर्थन फिर्ता लिएपछि नेकपा (माओवादी केन्द्र)बाट मुख्यमन्त्री बनेका जोखबहादुर महराले आइतबार राजीनामा दिएका थिए। त्यससँगै आचार्यलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको थियो। प्रदेश संसदीय दलको नेता लीला गिरी भए पनि एमालेले उपनेता आचार्यलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको थियो।
८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेश सभामा एमालेका २९ र कांग्रेसका २७ सांसद छन्।