लुम्बिनीको मुख्यमन्त्रीमा आचार्यको दाबी पेश
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्यले दाबी पेश गरेका छन्।
नेपाली कांग्रेसको समर्थनमा सोमबार आचार्यले प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेश गरेका हुन्। उनले एमाले र कांग्रेसका गरी ५६ सांसदको हस्ताक्षर बुझाएका छन्।
प्रदेश संसदीय दलको नेता लीला गिरी भए पनि एमालेले उपनेता आचार्यलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको थियो। उपनेतालाई अघि सारिएको विषयमा नेता गिरीले भने बोल्न मानेनन्।
एमालेले समर्थन फिर्ता लिएपछि नेकपा (माओवादी केन्द्र)बाट मुख्यमन्त्री बनेका जोखबहादुर महराले आइतबार राजीनामा दिएका थिए। त्यससँगै प्रदेश प्रमुख शेरचनले दुई वा दुई दलको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका थिए। उनले आज साँझ ६ बजेसम्म दाबी पेश गर्ने समय दिएका छन्।
८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ। एमाले र कांग्रेस मिलेपछि सजिलै बहुमत पुगेको छ। प्रदेश सभामा एमालेका २९ र कांग्रेसका २७ सांसद छन्।