यसरी बन्यो एकोहोरो पाक्ने रोटीको ब्रान्ड
स्कूल छोडेर गुजरात पुगेका पाल्पाका दुई दाजुभाइले काठमाडौंमा शुरू गरेको लुम्बिनी तन्दुरी भोजनालय ‘ब्रान्ड’ बनिसकेको छ।
एसएलसी उत्तीर्ण भएपछि पाल्पाको रैनादेवी गाउँपालिका-४, छहराका शेषकान्त पोखरेललाई कलेज जान त मन थियो, तर घरको आर्थिक अवस्थाले नधान्ने बुझेपछि जागीरको खोजीमा लागे। गाउँठाउँ चहारे, कतै केही पाएनन्।
गाउँका मान्छे कामका लागि भारततिर जाने उहिल्यैदेखिको चलन थियो। कतिपय गाउँलेहरू भारत आउजाउ गरिराख्थे। गाउँमा केही काम नपाएपछि शेषकान्तलाई पनि लाग्यो- भारततिरै जाऊँ। “म पनि भाइलाई सँगै लिएर भारतको गुजराततिर लागें,” उनी पुराना दिन सम्झिन्छन्।
यो २०५१ सालको शुरूआततिरको कुरा हो। भाइ रामप्रसाद पोखरेललाई साथ लिएर छहराबाट तराई झरेका शेषकान्त सुनौली हुँदै भारततिर हुइँकिए।
गुजरातमा भने जस्ताे काम पाएनन्। केही समय काम पनि खोजे, तर सोचे अनुसार भएन। “घर छाडेसँगै पढाइ पनि नेपालमै छुट्यो,” शेषकान्त भन्छन्, “प्लास्टिकको बाटा बनाउने कम्पनीको क्यान्टिनमा काम पाएँ।”
गुजरातमा काम राम्रैसँग चलेको थियो। दुवै दाइभाइले कमाइ पनि गर्न थालिसकेका थिए। आफ्नो खर्च कटाएर बचत पनि भइरहेको थियो। काममा रमाइरहेकै वेला दिल्लीबाट एउटा खबर आयो- पसल बिक्रीमा छ।
पाल्पाका रमेशले दिल्लीमा बोबी नामको सानो होटल थापेका थिए। कुन्नि के कारणले हो, उनले पसल बेच्ने भएछन्। पोखरेल दाजुभाइले धेरै सोधखोज गरेनन्। बरु पसल किन्ने सुरसार कसे। “गुजरातको जागीर छोडेर दिल्ली आयौं,” शेषकान्त सुनाउँछन्।
पसल किनेपछि उनीहरूले तन्दुरी पकाउन शुरू गरे। दिल्लीमा तन्दुरी रोटी खूब चलेको उनीहरूले देखेका थिए। “तन्दुरी पकाउन सिकेका त थिएनौं, तैपनि अरूले पकाएको देखेरै सकिन्छ जस्तो लागेको थियो,” उनी भन्छन्।
तन्दुरी रोटीसँगै दाल, तरकारी पनि थपे। शुरूआतका केही दिन त सकसै भयो, बिस्तारै हात बस्यो। हेर्दाहेर्दै ग्राहक पनि बढ्न थाले। महीना दिनमै पसलले लय समातेको उनी बताउँछन्।
वर्ष दिनमा राम्रो कमाइ भयो। केही रकम बचत पनि गरे। घरमा पनि नियमितजसो खर्च पठाइरहन्थे। वर्ष दिनपछि भने स्वदेश फर्किन पाए हुन्थ्यो जस्तो लाग्न थालेको शेषकान्त सुनाउँछन्। अनि दुवै दाइभाइले नेपाल फर्कने सल्लाह गरे।
तन्दुरी ढावा चलाएको एक वर्ष तीन महीनापछि नेपाल फर्किए। तन्दुरी बनाउन चाहिने तन्दुर (घ्याम्पो), ठूलो पतेला डेक्ची, टीभी लगायत सरसामान बोकेर दिल्ली छाडे। “सबै सामान देख्दा नाकामा सताउलान् भनेर चोर गाडीमा बुटवल पुग्यौं,” शेषकान्त भन्छन्।
गुजरात हिंडेको तीन वर्षमै स्वदेश फर्किएका उनीहरूले केही दिन बुटवलमा रहेर तन्दुरीको बजार छ कि छैन भन्ने बुझे। त्यहाँ तन्दुरी नचल्ने देखेपछि काठमाडौं हानिए।
बुटवलमा जस्तै काठमाडौंमा पनि बजार बुझ्न थाले। कहिले गोंगबु, कहिले स्वयम्भू त कहिले कलंकी। सन्तोष लागेन। त्यसपछि सुन्धारा, बागबजार, पुतलीसडक पनि चहारे। गौशाला, चाबहिल, कोटेश्वर हुँदै नयाँ बानेश्वर क्षेत्रमा पनि ढुक्क भएनन्। ललितपुरतिर पनि मन बसेन। थापाथली, त्रिपुरेश्वर, टेकु हुँदै अगाडि बढ्दा कालीमाटीमा सहज लागेको शेषकान्त सुनाउँछन्।
दुवै दाइभाइले काठमाडौं र ललितपुरका विभिन्न स्थानमा १५ दिन बजार अनुगमन गरेका थिए। अन्यत्रभन्दा कालीमाटीमा तन्दुरी पसल चल्छ भन्ने लागेको उनी सुनाउँछन्। “भारतीय नागरिक र भारतसँग सीमा जोडिएका क्षेत्रका मान्छेले तन्दुरी रोटी बढी मन पराउँछन्,” उनी बजार अनुगमनको अनुभव सुनाउँछन्, “काठमाडौंका अन्य क्षेत्रभन्दा कालीमाटी क्षेत्रमा तन्दुरी रुचाउने मान्छेहरूको आवतजावत बढी देखें।”
त्यसपछि २०५३ कात्तिक २३ मा कालीमाटीस्थित टंकेश्वरमा नयाँ ढावा खुल्यो, लुम्बिनी तन्दुरी भोजनालय। “काठमाडौंमा लुम्बिनी भोजनालयका नामले पहिलो पटक तन्दुरी पाक्यो,” ४८ वर्षीय शेषकान्त मुस्कुराउँदै भन्छन्, “अहिले त काठमाडौं उपत्यकामा २३० भन्दा बढी लुम्बिनी तन्दुरी भोजनालय छन्।”
खानेभन्दा हेर्नेको घुइँचो
कालीमाटीको टंकेश्वरमा तन्दुरी भोजनालय त खुल्यो, तर ग्राहक कसरी ल्याउनु? भारतीय नागरिक र सीमा क्षेत्रका बासिन्दा त आउन थाले, तर अन्य क्षेत्रका मान्छेको रुचि देखिएन। “एक त काठमाडौंमा बिहान र साँझ भात तथा दिउँसो सेल, रोटी र पुवा खाने चलन थियो,” ग्राहक नआउने कारण सुनाउँदै उनी भन्छन्, “अर्को, रोटी दुवैतिर पाक्छ भन्ने मान्यता थियो। तन्दुरी एकैतिर पाक्ने भएकाले खान मानेनन्।”
एउटा कुराले भने उनलाई उत्साह थपेको थियो। “तन्दुरी खानेभन्दा हेर्न आउने धेरै हुन्थे,” शेषकान्त भन्छन्। तन्दुरी हेर्न आउनेले नै खानेछन् भन्ने विश्वास रहेको उनी सुनाउँछन्।
तन्दुरीसँगै भात पनि राखे। दाल, तरकारी त हुने नै भयो। भात खानेले पनि कहिलेकाहीं तन्दुरी चाख्न थाले। कहिले तरकारी लिन आउनेले किने। यसरी तन्दुरी चाख्दाचाख्दै खाने बानी बस्दै गएको उनी बताउँछन्।
तन्दुरी बनाउन चाहिने तन्दुर काठमाडौंमा पाइँदैनथ्यो। त्यसका लागि भक्तपुरमा माटोको भाडाकुँडा बनाउनेहरूलाई घ्याम्पो बनाउन लगाएको उनी सुनाउँछन्। भट्टीमा प्रयोग हुने कोइला पनि भारतबाट ल्याउने बन्दोबस्त गरे।
बिस्तारै बजार बढ्न थालेपछि नातेदारलाई पनि बोलाए। तेस्रो भाइ नेत्रप्रसाद पोखरेल पनि त्यसैमा थपिए। तन्दुरी बनाउन र ग्राहकसँग गर्ने व्यवहारबारे सिकाउँदै गए। काम गर्ने समूह पनि बढ्दै गयो। “अहिले त अर्घाखाँची र पाल्पाका अधिकांशले लुम्बिनी तन्दुरी भोजनालय चलाइरहेका छन्,” शेषकान्त भन्छन्।
तिनैमध्ये एक हुन्, सागर पौडेल। काठमाडौंको घन्टाघरमा लुम्बिनी तन्दुरी भोजनालय छ। २०६६ सालदेखि तन्दुरी भोजनालय सञ्चालन गरिरहेका उनी न्यून र मध्यम आय भएका परिवारका सदस्यको रोजाइमा परेको बताउँछन्। “सस्तो मूल्यमा स्वस्थकर खाना उपलब्ध गराइरहेका छौं, ग्राहकले पनि रुचाइरहेका छन्,” उनी भन्छन्।
खानेकुरा पकाइरहेको प्रत्यक्ष देखिने भएकाले पनि ग्राहकको विश्वास बढेको उनको भनाइ छ। “अब त तन्दुरीको गुणस्तरमा पनि ध्यान दिन थालेका छौं,” सागर भन्छन्।
खाजा र खाना बन्यो तन्दुरी
लुम्बिनी तन्दुरीको व्यापार बढ्दै गएपछि व्यवसायी संगठित भए। उनीहरूले २०६८ सालमा लुम्बिनी तन्दुरी व्यवसायी संघ बनाएका छन्। यसमा अहिले २३० ढावा आबद्ध छन्।
अहिले लुम्बिनी तन्दुरी भोजनालय सबैको खाना खाने थलो बनेको अर्का व्यवसायी कृष्णप्रसाद पोखरेल बताउँछन्। लाजिम्पाटमा कृष्णप्रसादको लुम्बिनी तन्दुरी भोजनालय छ। “लुम्बिनी तन्दुरी भोजनालय ‘ब्रान्ड’ का रूपमा स्थापित भइसकेको छ,” उनी भन्छन्।
कोभिड-१९ महामारीपछि भने असर परेको तन्दुरी व्यवसायी बताउँछन्। त्यसयता घरबाटै ‘टिफिन’ लग्ने प्रचलन बढेकाले पनि असर परेको व्यवसायी सागर सुनाउँछन्। पछिल्लो समय काठमाडौंमा सडक व्यापार बन्द गरिएपछि पनि तन्दुरी व्यवसायमा असर परेको छ। “फूटपाथमा व्यापार-व्यवसाय गर्ने साना व्यवसायी विस्थापित भएपछि हाम्रो पनि व्यापार घटेको छ,” उनी भन्छन्।
विशेष गरेर निम्न र मध्यम वर्गका मान्छे तन्दुरीका मुख्य ग्राहक भएको व्यवसायी बताउँछन्। किनकि यो सस्तो छ। तन्दुरी रोटी प्रतिगोटा २० रुपैयाँ पर्छ। त्यस्तै, खाना १५० रुपैयाँमा उपलब्ध हुन्छ। यससँगै नान रोटी, दाल फ्राई, भात, पनीर, मटर लगायत तन्दुरी भोजनालयका सर्वप्रिय परिकार हुन्।
तन्दुरी भोजनालयले रोजगारी पनि सिर्जना गरेको छ। काठमाडौं उपत्यकामा मात्रै हजारभन्दा बढीले रोजगारी पाएको संघका अध्यक्ष रामप्रसाद पोखरेल बताउँछन्। काठमाडौं बाहिर पनि थुप्रैले लुम्बिनी तन्दुरी भोजनालय सञ्चालन गरेका छन्। संघसँग त्यसको लेखाजोखा भने छैन।
काठमाडौंमा रहेका तन्दुरी भोजनालयले सेवासुविधा पनि बढाउँदै लगेका छन्। एउटै गुणस्तर कायम गर्न संघले पहल र अनुगमन थालेको छ। यसको शुरूआत गरेका शेषकान्त अब तन्दुरी एउट वर्ग र क्षेत्रका बासिन्दाको मात्रै नरहेको बताउँछन्। “तन्दुरी बिहानको नास्ता तथा दिउँसो र बेलुकाको खाना भइसकेको छ,” शेषकान्त खुशी हुँदै भन्छन्, “उहिले जस्तो भारतीय र सीमा क्षेत्रका गरीब र श्रमिकले खाने खाना मात्रै रहेन, धनी र हाकिमहरूको भोजन बनेको छ।”
नेपाली उद्यम शृंखलाका थप सामग्री :