माओवादीका मन्त्रीले दिए राजीनामा
कर्णाली प्रदेश सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र)का चार मन्त्रीले राजीनामा दिएका छन्।
चारै मन्त्रीले सोमबार मुख्यमन्त्री यामलाल कँडेललाई राजीनामा बुझाएका छन्। माओवादीबाट महेन्द्रबहादुर केसी आर्थिक मामिला तथा योजना, दुर्गबहादुर रावत उद्योग, पर्यटन, वन तथा वातावरण, रणसिंह परियार ऊर्जा तथा जलस्रोत र वीरबहादुर शाही सामाजिक विकासमन्त्री थिए।
केन्द्रमा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ समीकरण बनेसँगै माओवादीबाट सरकारमा सहभागी मन्त्रीले राजीनामा दिएका हुन्। नयाँ समीकरण बनेपछि स्वविवेकले राजीनामा दिएको केसीले बताए।
मन्त्रीहरूले राजीनामा दिए पनि माओवादीले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन। राजीनामापछि आयोजित पत्रकार सम्मेलनमा केसीले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयबारे संसदीय दलले निर्णय गर्ने बताए।