‘मोबाइलमा आउने शवको फोटो आमाबुबाको हो कि भनेर झस्किन्छु’
जग्गा बन्धकी राखेर उपचार गर्न काठमाडौं हिंडेको परिवार त्रिशूलीमा अस्ताएपछि पर्साको जमुनियाका गाउँ शोकमा डुबेको छ।
दुई वर्षदेखि पर्साको सखुवा प्रसौनी गाउँपालिका-२, जमुनियाकी २८ वर्षीया चन्द्रप्रभा राउत थारूलाई पेट सम्बन्धी समस्याले सताएको थियो। शौच गर्न गाह्रो हुन्थ्यो, दिसामा रगत आउँथ्यो।
स्थानीय स्वास्थ्य संस्थाबाट औषधि ल्याएर खाँदै आएकी थिइन्। जति गर्दा पनि रोग निको नभएपछि ५८ वर्षीय हृदयनारायणले छोरीलाई उपचारका लागि भारत लग्ने विचार गरे, तर पैसा थिएन।
गाउँमा ऋण निकालेर ८५ हजार रुपैयाँ जोडे। अनि छोरीलाई भारतको पटना पुर्याए। केही दिन उपचार चल्यो, पैसा सकियो, चन्द्रप्रभाको व्यथा भने कम भएन। बरु समस्या झन् बढ्न थाल्यो।
निराश भएर घर फर्केका उनी के गर्ने भन्ने अन्योलमा थिए। यत्तिकैमा काठमाडौंबाट माइला छोरा २५ वर्षीय ओमप्रकाशको फोन आयो। दिदीलाई सन्चो नभएको सुनेपछि उनले काठमाडौं ल्याउन आग्रह गरे। उनी मूर्ति बनाउने काममा सहयोगी भएर दैनिकी चलाइरहेका थिए।
उनैको सल्लाह अनुसार काठमाडौंको नर्भिक अस्पताल लग्ने तयारी भयो। हृदयनारायण पैसाको जोहो गर्न थाले। पहिले पटना लग्दा लागेको ऋण तिर्न पनि सकेका थिएनन्। गाउँघरमा थप ऋण मिलेन। “धान रोपिसकेको सात कट्ठा खेत दुई लाख ५० हजार रुपैयाँमा बन्धकी राखेर साहुबाट ऋण लिनुभयो,” हृदयनारायणका भतिजा शिवशंकर भन्छन्।
नातेदारले खेत बन्धक नराखौं भनेका थिए। तर हृदयनारायणको मनले मानेन। छोरीभन्दा खेत ठूलो होइन भनेर परिवारजन र छरछिमेकीलाई मनाएको शिवशंकर सुनाउँछन्।
पैसाको जोहो भएपछि २०८० असार २७ गते जमुनियाबाट काठमाडौंका लागि निस्के। हृदयनारायण र चन्द्रप्रभा त भए नै, आमा ५५ वर्षीया भगवती पनि सँगै काठमाडौंतिर लागिन्। आमाबुबा र दिदीलाई बस पाइने ठाउँसम्म पुर्याउन भाइ जयलाल आए।
तीनै जना सखुवा प्रसौनीको रंगपुरबाट काठमाडौं जाने बसमा चढे। उनीहरूले काठमाडौं पुगेर खबर गर्छौं भनेका थिए। अर्को बिहान खबर त आयो, तर त्रिशूलीमा बस हराएको। “बस खसेको खबर सुन्ने बित्तिकै जमीन भासिए जस्तो भयो, संसार अन्धकार भयो,” शिवशंकर भन्छन्, “थचक्क बसें, त्यसपछि के भयो? थाहै भएन।” यति बोल्दा उनी भक्कानिए।
वीरगन्जबाट काठमाडौंका लागि गुडेको बस चितवनको सिमलतालमा पहिरोले बगाउँदा त्रिशूलीमा खस्यो। बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्समा हृदयनारायण, भगवती र चन्द्रप्रभासँगै ३८ जना सवार थिए।
योसँगै सिमलतालको पहिरोले असार २८ गते बिहान साढे ३ बजे काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्सको बस पनि बगाएको थियो। त्यो बसमा २७ जना सवार थिए। दुवै बस हराएको खबरले जमुनिया गाउँ नै शोकमग्न बन्यो। “अझै पीडाबाट निस्किन सकेका छैनौं, गाउँ नै शोकमा डुबेको छ,” शिवशंकर भन्छन्।
दुवै बसमा चालक सहित ६५ जना थिए। उनीहरूमध्ये तीन जना त्रिशूलीमा पौडी खेलेर जोगिए। ६२ जना हराएका थिए। उनीहरूमध्ये २५ जना मृत भेटिएका छन्। जसमध्ये २१ जनाको सनाखत भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव बताउँछन्।
सनाखत भएकामध्ये दुई जना महिला छन्। दुईमध्ये एक हुन्, चन्द्रप्रभा। जो आमाबुबासँगै उपचार गर्न भनी काठमाडौंतर्फ लागेकी थिइन् ।
चन्द्रप्रभाका जेठा दाइ ३० वर्षीय श्यामविनय राउत दुई वर्षअघि वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका थिए। बहिनी र आमाबुबा त्रिशूलीमा हराएको खबर सुनेपछि उनी आकस्मिक बिदा लिएर स्वदेश फर्किए।
दुर्घटनाको पाँचौं दिन साउन १ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका श्याम घर नगई सीधै त्रिशूली पुगे। शिवशंकर भन्छन्, “दाइको दिवालीमा घर फर्किने योजना थियो, अब बहिनी नै रहिनन्।”
असार १ गते नै नवलपरासीको विनय-त्रिवेणी गाउँपालिका-७ स्थित नारायणी नदी किनारमा चन्द्रप्रभाको शव भेटियो। त्यहींबाट देवघाट लगेर उनको दाहसंस्कार गरेको दाइ शिवशंकर बताउँछन्। “घरमा ल्याउने अवस्था थिएन, देवघाटमा दाहसंस्कार गरेर फेरि त्रिशूलीतिरै फर्कियौं,” उनी भन्छन्।
सिमलतालबाट त्रिशूली नदीमा खसेका दुवै बसमा सवार ३७ यात्रु अझै भेटिएका छैनन्। उनीहरूको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासँगै हराइरहेका यात्रुका परिवारजन खटिएका छन्। सशस्त्र प्रहरी र नेपाली सेनाको गोताखोर टोलीसँगै ५०० सुरक्षाकर्मी खोजबिनमा लागिरहेका छन्।
आधुनिक उपकरणको अभावमा धमिलो पानीमा खोजबिन गर्न मुश्किल भएपछि भारतको सहयोग लिइएको छ। भारतको न्याशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ)का १२ जना गोताखोर पनि साउन ६ गतेदेखि खोजबिनमा जुटेका छन्। “नेपाल र भारतका तालीमप्राप्त गोताखोरसँगै सुरक्षाकर्मी परिचालन भएका छन्, तर त्रिशूली नदीमा पानी बहाव बढेकाले समस्या भइरहेको छ,” चितवनका प्रमुख जिल्ला अधिकारी यादव भन्छन्।
सोही दुर्घटनामा हराएका ३५ जनामध्ये दुई हुन्, हृदयनारायण र भगवती। साउदीबाट फर्केपछि केही दिन त श्याम पनि खोजबिनमा लागेका थिए। तर केही अत्तोपत्तो नभएपछि र भेटाउने आश मर्दै गएपछि अन्तिम संस्कार गर्ने निर्णयमा पुगे। “बहिनीको लास भेटिएपछि देवघाटमा दाहसंस्कार गरेका थियौं, तर आमाबुबाको भेटिएन,” शिवशंकर भन्छन्, “सबैको सरसल्लाहपछि कुशका आमाबुबा बनाएर अन्तिम संस्कार गर्यौं।”
हृदयनारायण र भगवतीको पनि कुशको शव बनाएर असार ३ मा दाहसंस्कार गरिएको छ। श्याम सहित दाजुभाइ काजकिरिया बसेका छन्। उनीहरूलाई सान्त्वना दिन गाउँभरिका मान्छे आउँछन्। नातेदार र छरछिमेकी पनि आइरहन्छन्। तर कोही पनि बोल्न सक्दैनन्, भक्कानिन्छन् मात्र।
काजकिरिया बसेका चार दाजुभाइ पनि टोलाइरहन्छन्। कान्छो भाइ १४ वर्षीय चन्दन त सम्हालिन सकेका छैनन्। बिरामी दिदीलाई लिएर उनी पहिलेदेखि नै साह्रै चिन्तित थिए। यो घटनापछि एकोहोरिएको शिवशंकर सुनाउँछन्। “दिदी र आमाबुबालाई बसमा चढाएर फर्किएको थियो, अर्को बिहान ब्युँझिंदा त्यस्तो खबर सुनेपछि चोट पर्यो होला,” उनी भन्छन्, “छिनछिनमै बेहोश हुन्छ, सलाइन चढाउनुपरिरहेको छ।”
कुशको शव बनाएर दाहसंस्कार गरे पनि काजकिरियामा बसिरहेका उनीहरू मोबाइलको स्क्रीन चलाइरहन्छन्। किनकि त्रिशूलीमा नयाँ शव भेटिंदा चितवन प्रहरीले सनाखतका लागि परिवारजनलाई फोटो पठाउने गरेको छ। त्यो फोटो आमाबुवाको हो कि भन्ने डर र आश यथावत् छ।
आमाबुबा जीवितै होलान् भन्ने विश्वास त छैन, तर मृत्यु भएको खबर सुन्नुपर्छ कि भन्ने डर छ। कुशको शव जलाएर अन्तिम संस्कार गरेका उनीहरूलाई आमाबुबाको शव भेटियो भने दाहसंस्कार गर्न पाइएला भन्ने आश पनि छ।
पहिलो दिनदेखि नै आफन्तको खोजबिनमा खटिइरहेका शिवशंकरको मोबाइलमा पनि प्रहरीले पठाउने शवका फोटो आइरहन्छन्। “लासको फोटो आउँदा आमाबुबाको पो हो कि भनेर हेर्छु, तर अर्कैको हुन्छ,” उनी भन्छन्, “अहिलेसम्म २५ वटा फोटो हेरिसकें। अब त मोबाइलमा आउने शवको फोटोले पनि झस्काउँछ।”
यो पनि पढ्नुहोस् :