पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या
पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या गरिएको छ।
सर्लाहीको चन्द्रनगर गाउँपालिका-१, रत्नपुरस्थित निवासमै गए राति रायको हत्या भएको सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए। ८० वर्षीय रायको राति ११:३० बजे धारिलो हतियार प्रहार गरेर हत्या भएको श्रेष्ठले जानकारी दिए।
राय मलंगवामा बस्दै आएका थिए। आइतबार मात्रै उनी रत्नपुर आएको स्थानीय बासिन्दाले बताए। रत्नपुरमा उनको पुरानो घर र खेतीपाती छ। त्यसकै लागि उनी आउनेजाने गर्दै आएका थिए।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य समेत रहेका रायको टाउकोमा धारिलो हतियार प्रहार गरिएको श्रेष्ठले बताए। उनका अनुसार गए राति नै घटनास्थल पुगेको प्रहरी टोलीले यसबारे अनुसन्धान गरिरहेको छ।