लुम्बिनीका मुख्यमन्त्री महराले पनि दिए राजीनामा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पनि राजीनामा दिएका छन्।
प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै महराले राजीनामाको घोषणा गरेका हुन्। नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न राजीनामा दिने निर्णयमा पुगेको उनले बताए।
नेकपा (एमाले)ले गत असार २० मा सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। त्यसपछि महराले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका थिए। त्यसका लागि आइतबार प्रदेश सभाको बैठक बोलाइएको थियो।
प्रमुख दुई दल एमाले र कांग्रेसबीच नयाँ सरकार गठन गर्ने सहमति भएकाले विश्वासको मत नपाउने भएपछि महराले राजीनामाको बाटो रोजेका हुन्।
यसअघि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पनि राजीनामा दिएका थिए। कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरण बनेपछि माओवादीका दुवै मुख्यमन्त्री राजीनामा दिन बाध्य भएका हुन्।
लुम्बिनीमा एमालेका नेता लीला गिरीलाई मुख्यमन्त्री बनाउने सहमति भएको छ। ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेश सभामा एमालेका २९ र कांग्रेसका २७ सांसद छन्।