बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएका छन्।
प्रदेश सभाको आइतबारको बैठकमा जम्कट्टेलले राजीनामाको घोषणा गरेका हुन्। विश्वासको मतको प्रस्ताव पारित नहुने भएपछि उनले राजीनामाको बाटो रोजेका हुन्।
नेकपा (एमाले)ले समर्थन फिर्ता लिएपछि जम्कट्टेलले विश्वासको मत लिने तयारी गरेका थिए। त्यसका लागि आज प्रदेश सभाको बैठक बोलाइएको थियो।
प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै जम्कट्टेलले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न खोजेको बताए। दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्ने सहमति भएकाले आफूले लिने विश्वासको मतले सार्थकता पाउने अवस्था नभएको उनको भनाइ थियो।
यसअघि उनले दुई पटक विश्वासको मत लिनुपरेको थियो। जम्कट्टेल २०७९ पुस २५ मा एमाले, राप्रपा, माओवादी र नेकपा (एकीकृत समाजवादीको)को समर्थनमा मुख्यमन्त्री बनेका थिए।
सत्ता गठबन्धन फेरिएपछि एमाले सरकारबाट बाहिरिएको थियो। त्यसपछि उनले २०७९ चैत १० विश्वासको मत लिएका थिए। त्यति वेला कांग्रेस र एकीकृत समाजवादीले विश्वासको मत दिएका थिए।
कांग्रेससँगको गठबन्धन तोडेर माओवादीले एमालेसँग गठबन्धन बनाएपछि फेरि जम्कट्टेल अल्पमतमा परेका थिए। कांग्रेसले समर्थन फिर्ता लिएपछि उनले २०८० फागुन २० मा दोस्रो पटक विश्वासको मत लिएका थिए। त्यति वेला एमाले, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले मत दिएका थिए।
अहिले नयाँ सत्ता समीकरण बनेपछि एमालेले असार २४ मा समर्थन फिर्ता लिएको थियो। यस पटक भने उनले राजीनामा दिनुपरेको छ।
अब कांग्रेस सांसद बहादुरसिंह लामा मुख्यमन्त्री बन्ने भएका छन्। कांग्रेस र एमालेबीच लामालाई मुख्यमन्त्री बनाउने सहमति भएको छ।