लुम्बिनीमा लीला गिरीलाई मुख्यमन्त्री बनाउने सहमति
लुम्बिनी प्रदेशमा नेकपा (एमाले)का सांसद लीला गिरीलाई मुख्यमन्त्री बनाउने सहमति भएको छ।
केन्द्रमा नयाँ सत्ता समीकरण बनेसँगै लुम्बिनी प्रदेशमा पनि सरकार परिवर्तन हुन लागेको हो। कांग्रेस र एमालेबीच गिरीलाई मुख्यमन्त्रीका रूपमा अगाडि बढाउने सहमति भएको एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बताए।
अहिले नेकपा (माओवादी केन्द्र)का सांसद जोखबहादुर महरा मुख्यमन्त्री छन्। एमालेले समर्थन फिर्ता लिएपछि उनी आजै प्रदेश सभामा विश्वासको मत लिंदै छन्। दुई ठूला पार्टी एमाले र कांग्रेस विपक्षमा रहेकाले महराले विश्वासको मत नपाउने निश्चित छ।
त्यसपछि एमाले नेता गिरीको नेतृत्वमा सरकार बनाउने सहमति बनेको चौधरीले बताए। ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन चाहिन्छ। अहिले प्रदेश सभामा एमालेका २९ र कांग्रेसका २७ सांसद छन्।