नेतृत्वमा महिला सहभागिता बढाउनुपर्नेमा दक्षिणएशियाका सांसदको जोड
दक्षिणएशियाका सांसदहरूले राजनीतिक नेतृत्वमा महिला सहभागिता बढाउनुपर्नेमा जोड दिएका छन्।
चीनमा आयोजित दक्षिणएशियाली महिला राजनीतिक नेतृत्व सम्बन्धी सेमिनारमा सहभागी विभिन्न देशका सांसदले महिला सहभागिता बढाउनुपर्ने आवश्यकता औंल्याएका हुन्। केही देशमा समानुपातिक सहभागिता भए पनि त्यो पर्याप्त नभएको उनीहरूको भनाइ थियो।
माल्दिभ्सको विदेश मामिला मन्त्रालयकी राज्यमन्त्री शेरीना अब्दुल समदले माल्दिभ्समा महिलाको संख्या ५२ प्रतिशत भए पनि नेतृत्वमा निकै न्यून सहभागिता रहेको बताइन्। “समस्या कहाँ छ, के कारणले महिलाहरू नेतृत्वदायी भूमिकामा आउन सकेनन् भनेर त्यसको पहिचान गर्न आवश्यक छ,” उनले भनिन्।
नेपालका तर्फबाट भ्रमण टोलीको नेतृत्व गरेकी सांसद सुशीला श्रेष्ठले संसद्मा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गरिएको उल्लेख गरिन्। अहिले स्थानीय सरकारमा करीब ४४ प्रतिशत महिला सहभागिता रहेको श्रेष्ठले जानकारी दिइन्। उनले भनिन्, “यतिले पुगेको छैन, अझै पनि मूल नेतृत्वमा महिलाको सहभागिता बढाउन काम गर्नुपर्नेछ।”
त्यस्तै, श्रीलंकाकी महिला तथा बालबालिका राज्यमन्त्री गीता समन्माली कुमारसिंघे, माल्दिभ्सकी उच्चशिक्षा मन्त्री मारिया, श्रीलंकाकी स्वास्थ्य राज्यमन्त्री सीथा लगायतले राजनीतिमा महिला सहभागितामा जोड दिएका थिए।
त्यस्तै, दक्षिणएशियाका सांसदको टोलीले चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका महानिर्देशक लुओ चाओहुईसँग भेट गरेका थिए। महानिर्देशक लुओ केही समयअघि लगानी सम्मेलनमा भाग लिन नेपाल आएका थिए।
सांसदहरूसँगको भेटका क्रममा लुओले दक्षिणएशियामा लैंगिक समानता र महिला तथा बालबालिकाको विकासमा चीनले सहयोग गर्न सक्ने बताए। कोभिड-१९ महामारीका कारण धेरै समस्याको सामना गर्नुपरे नि अहिले बिस्तारै सबै लयमा आएको बताए।
उनले चीनमा पनि राजनीतिमा महिला सहभागिता बढ्दै गएको सुनाए। “राजनीतिमा महिला नेतृत्वको अवस्था राम्रो हुँदै गएको छ। यो भ्रमणका क्रममा तपाईंले चीन र यहाँ भएको महिला नेतृत्वको विषयमा अझ बुझ्न सक्नुहुनेछ,” उनले भने, “अब दिगो विकास लक्ष्य पूरा गर्न ६ वर्ष बाँकी छ। यो धेरै महत्त्वपूर्ण विषय हो। जुन हामीले गर्नै पर्नेछ।”
चीनको अखिल चीन महिला महासंघ र चीन अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीसँगको सहकार्यमा महिला विश्वविद्यालय चीनले सेमिनार आयोजना गरेको थियो। सेमिनारमा नेपालसँगै श्रीलंका, माल्दिभ्स र पाकिस्तानका मन्त्री तथा सांसदको सहभागिता थियो।
नेपालबाट प्रतिनिधि सभा सदस्य सुशीला श्रेष्ठको नेतृत्वमा सांसदहरू सूर्यकुमारी श्रेष्ठ, ईश्वरी घर्ती, दुर्गा राई, हर्कमाया विश्वकर्मा, कल्पना मियाँ कुसारी, विनीताकुमारी सिंह र कोशी प्रदेश सभा सदस्य ललिताकुमारी चौधरी सहभागी थिए। त्यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका विज्ञ समिति सदस्य राजकुमारी चौधरी, शाखा अधिकृत प्रतिमा ढकाल र देविका घर्ती मगर पनि सेमिनारमा सहभागी थिए। यसका लागि तत्कालीन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले पहल गरेकी थिइन्।
नेपाली टोलीले चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग, परराष्ट्र मन्त्रालय, अखिल चीन महिला महासंघ, चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय कमिटीको पार्टी स्कूलसँग भेटघाट गरी राजनीतिमा महिला सहभागिताबारे जानकारी लिएको थियो। त्यस्तै, चीनमा महिला तथा बालबालिकाको समग्र अवस्थामा आएको सुधार र नेपालमा कसरी राम्रो बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरेको थियो।