एशिया कपको सेमिफाइनल प्रवेशका लागि पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै नेपाल
एसीसी महिला एशिया कप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा आज नेपाल पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै छ।
श्रीलंकाको दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज बेलुका ७ः१५ बजे नेपाल र पाकिस्तानको खेल शुरू हुनेछ। आजको खेल जितेमा नेपाल सेमिफाइनलमा पुग्नेछ।
नेपालले पहिलो खेलमा शुक्रबार यूएईलाई पराजित गरेको थियो। पाकिस्तान भने पहिलो खेलमा भारतसँग पराजित भएको थियो।
यसअघि नेपाल र पाकिस्तानले सन् २०१६ मा एशिया कपमै प्रतिस्पर्धा गरेका थिए। त्यति वेला पाकिस्तानले नेपाललाई नौ विकेटले पराजित गरेको थियो।
आठ वर्षपछि दुवै टोली फेरि प्रतिस्पर्धा गर्न लागेका हुन्। यस पटक भने पाकिस्तानले राम्रो प्रदर्शन गर्न सकेको छैन।
पाकिस्तानले पछिल्लो पटक खेलेका पाँच वटा टी-२० मा जित हासिल गर्न सकेको छैन। नेपालले भने पछिल्लो पाँचमध्ये चार खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ।
नेपाल र पाकिस्तान रहेको समूह ‘ए’ मा भारत र यूएई छन्। नेपाल र भारतले दुई-दुई अंक जोडेका छन् भने पाकिस्तान र यूएईले अंक जोड्न सकेका छैनन्।
त्यस्तै, समूह ‘बी’ मा थाइल्यान्ड, श्रीलंका, बाङ्लादेश र मलेशिया छन्। यो समूहमा रहेका थाइल्यान्ड र श्रीलंकाको दुई/दुई अंक छ भने बाङ्लादेश र मलेशिया अंकविहीन छन्।