भारतीय टोली पनि लाग्यो त्रिशूलीमा हराएका यात्रुको खोजीमा
नारायणगढ-मुग्लिन सडकको सिमलतालमा पहिरोले त्रिशूलीमा बगाएका दुई वटा बसमा सवार यात्रुको खोजीमा भारतीय टोली पनि लागेको छ।
भारतको न्याशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ)को १२ सदस्यीय टोली आइतबार बिहानदेखि खोजतलासमा लागेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। एनडीआरएफको टोली शनिबार चितवन पुगेको थियो।
गत असार २८ गते काठमाडौंबाट गौरतर्फ गइरहेको बागमती प्रदेश ०३-२४९५ ख ००१ नम्बरको बस र वीरगन्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको बसलाई पहिरोले बगाएको थियो। दुवै बस त्रिशूली नदीमा खसेका थिए।
बसमा सवार ६५ जनामध्ये तीन जना यात्रु त्रिशूलीमा पौडी खेलेर जोगिएका थिए। हराइरहेका ६२ जनामध्ये २५ जना मृत भेटिएका छन्। उनीहरूमध्ये १७ जनाको सनाखत भएको छ। अझै ३७ यात्रु हराइरहेका छन्।
उनीहरूको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली जुटेको छ। गोताखोर सहित ५०० जना सुरक्षाकर्मी परिचालन भइरहेका छन्।
नदीमा खोजबिनका लागि आवश्यक आधुनिक उपकरण नभएपछि भारतीय टोलीलाई बोलाइएको हो। नेपाली टोलीसँगै मिलेर भारतीय टोलीले पनि खोजबिन शुरू गरेको प्रमुख जिल्ला अधिकारी यादवले बताए।