राहुघाट जलविद्युत्को मुख्य सुरुङको काम अन्तिम चरणमा
नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माण गरिरहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङको काम अन्तिम चरणमा पुगेको छ।
प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर प्रवर्द्धक रहेको राहुघाटको पहिलो र दोस्रो अडिट जोड्ने दुई हजार ३३२ मिटर लामो सुरुङ निर्माण पूरा हुन लागेको हो। रघुगंगा गाउँपालिका–४ दग्नामको फेदीमा रहेको बाँधबाट वडा नं. ३ अँधेरीखोलाको दोस्रो अडिट जोड्ने १३ मिटर सुरुङ खन्न बाँकी रहेको आयोजनाका व्यवस्थापक राजबहादुर विष्टले बताए।
“६ हजार २०० मिटरमध्ये साउन ५ गतेसम्म ६ हजार १८७ मिटर सुरुङ निर्माण भएको छ,” विष्टले भने, “केही दिनमा मुख्य सुरुङ छिचोल्ने तयारी भएको छ।” तीन हजार ८३६ मिटर लामो दोस्रो र तेस्रो नम्बर अडिटको सुरुङ गत फागुनमा छिचोलिएको थियो।
रघुगंगा गाउँपालिका–३, पिप्लेस्थित मुख्य सुरुङको आउटलेट (अन्तिम बिन्दु)बाट तिल्केनीचौरमा निर्माणाधीन विद्युत्गृहमा पानी खसाल्ने पाइपलाइन राख्ने एक हजार ४९ मिटर लामो ‘प्रेसर शाफ्ट’ सुरुङ गत जेठ महीनामा जोडिएको थियो। मुख्य सुरुङबाट आउने पानीलाई विद्युत्गृहमा लैजाने पाइपलाइन राख्न प्रेसर शाफ्ट बनाइएको हो। पिप्लेमा ६१ मिटर गहिरो ‘सर्च शाफ्ट’ निर्माण भएको छ।
भारतीय एक्जिम ब्यांकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एशोसिएट्ससँग २०७४ मंसीरमा सम्झौता भएको थियो। २०७६ कात्तिकमा ठेक्का सम्झौता गरेको इलेक्ट्रिकल ठेकेदार भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले भारतमा निर्माण गरेका उपकरणको परीक्षण गरी आयातको प्रक्रिया अघि बढाइएको छ। इलेक्ट्रोमेकानिकलतर्फको भौतिक प्रगति २२ प्रतिशत छ।
रघुगंगा गाउँपालिकाका वडा नं ४ दग्नाम र ५ नं. वडा झिंको सिमानामा १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त प्रविधिको बाँध र तिल्केनीचौरमा विद्युत्गृहको संरचना निर्माण तीव्रताका साथ भइरहेको छ। घुमाउने तालबाट ११ किलोमिटर पहुँचमार्ग र एउटा ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरी विद्युत्गृह र बाँधलाई सीधा सडकले जोडिएको छ।
कमजोर आर्थिक अवस्थाका कारण २०७२ सालमा पुरानो ठेकेदार आईभीआरसीएलसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनीयरिङ प्रक्युमेन्ट एन्ड कन्ट्र्याक्ट (ईपीसी) प्रारूपमा राहुघाट जलविद्युत् आयोजना निर्माण अघि बढाइएको थियो। (रासस)