मनसुनी विपद्मा अहिलेसम्म १२८ जनाको मृत्यु
मनसुन भित्रिएयता बाढीपहिरो तथा डुबानमा परेर अहिलेसम्म १२८ जनाको मृत्यु भएको छ।
गत जेठ २८ गते मनसुन भित्रिएको थियो। त्यसयताका ४२ दिनमा अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायत विपद्मा परी शनिबार दिउँसोसम्म १२८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै, १४३ जना घाइते भएका छन्।
बाढीपहिरो लगायत विपद्मा परी काठमाडौं उपत्यकामा दुई, कोशी प्रदेशमा २२, मधेश प्रदेशमा पाँच, बागमती प्रदेशमा २२, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा नौ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता दानबहादुर कार्कीले बताए।
बाढीका कारण १८२ घर डुबानमा परेका छन्। त्यस्तै, २२८ वटा घर, ८३ वटा गोठ, ४३ वटा पुल, एक विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ।
विपद्मा परी ५८९ वटा पशुचौपाया मरेका छन्। यो अवधिमा विपद्का घटनाबाट तीन हजार ७७९ घरपरिवार विस्थापित भएको प्रहरीको तथ्यांक छ।