सगरमाथाबाट ‘लाइभ’ गरिएको त्यो आरोहण र राजा वीरेन्द्रको निम्तो
सगरमाथाको चुचुराबाट प्रत्यक्ष प्रसारण गरिएको साढे तीन दशकअघिको त्रिदेशीय आरोहणले सगरमाथासँगै नेपाललाई पनि संसारभर परिचित बनाएको थियो।
कम्पाई!
क्यामेरापर्सनले यति बोलेपछि अरू पनि ‘कम्पाई’ भनेर कराए। केहीले हिउँ उछाले त केही हिउँमा उफ्रिए। केहीले आकाशतिर हेरेर आँखा चिम्लिए त केही खुशी साट्दासाट्दै रुन पुगे।
यो सगरमाथाको चुचुराको दृश्य हो, २०४५ वैशाख २३ को बिहानपख। संसारभरका दर्शक टेलिभिजनमा झुम्मिइरहेका थिए। आधारशिविरको ‘स्याटेलाइट डिभाइस’ मार्फत सगरमाथा चुचुराको दृश्य देखिइरहेको थियो। त्यही वेला एक्कासि क्यामेरापर्सन सुसमु नकमुराको ‘कम्पाई’ भन्ने आवाजसँगै टेलिभिजनको पर्दामा सगरमाथाको दृश्य झल्कियो।
जापानी भाषामा ‘कम्पाई’ को अर्थ हुन्छ- ‘चिअर्स’ अर्थात् जयजयकार। सगरमाथाको टुप्पोमा पुगेको खुशियालीमा जयजयकार गरिएको थियो, प्रसन्नता प्रकट गरिएको थियो।
सर्वोच्च शिखरको चुचुराको त्यो दृश्य जापानको निप्पोन टेलिभिजनले ‘स्याटेलाइट डिभाइस’ मार्फत प्रत्यक्ष प्रसारण गरेको थियो। जसलाई संसारभरका दर्शक पहिलो पटक टेलिभिजनमा हेरिरहेका थिए।
सगरमाथाको उत्तरी र दक्षिणी मोहडाबाट नेपाल, जापान र चीनको टोली सगरमाथाको चुचुरामा पुगेका थिए। त्रिदेशीय आरोहण दलका १२ जना सदस्य एकै पटक दुवै मोहडाबाट चुचुरामा पुग्दा तीनै देशका मात्रै होइन, संसारभरका पर्वतारोही र दर्शकले खुशियाली मनाएका थिए। यो त्यही आरोहण थियो, जसले सगरमाथालाई घर घरमा पुर्याएको थियो। नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङछिरिङ शेर्पा भन्छन्, “सगरमाथाको चुचुराबाट गरिएको ‘लाइभ ब्रोडकास्ट’ ले संसारले सगरमाथा र नेपाललाई चिन्ने मौका पाएको थियो।”
‘ट्राभर्स’ को तयारी
विश्वको अग्लो पर्वत सगरमाथाको उचाइमा पुग्ने मानवीय प्रयासको १०० वर्ष बितिसकेको छ। तेन्जिङ नोर्गे र एडमन्ड हिलरीले २९ मे १९५३ अर्थात् २०१० जेठ १६ मा सगरमाथाको सफल आरोहण गरेपछि विश्वको ध्यान खिचिएको थियो। त्यही दिनको सम्झनामा हरेक वर्ष २९ मेमा सगरमाथा दिवस मनाइन्छ।
संसारको अग्लो शिखरको चुचुरामा पहिलो पटक मानव पाइला टेकेको ३५ वर्ष बितेको थियो। २०४४ सालसम्म २११ जनाले सगरमाथाको सफल आरोहण गरिसकेका थिए। सगरमाथा आरोहण प्रयास गर्ने पनि उत्तिकै थिए, त्यसमा जापानी नागरिक अझ उत्सुक देखिन्थे।
त्यसको कारण थियो, जुन्को ताबेई। २०३२ सालमा सगरमाथाको सफल आरोहण गरेर चुचुरामा पुग्ने पहिलो महिलाको कीर्तिमान राखेकी थिइन् उनले। त्यसपछि पर्वतारोहणमा रुचि राख्ने जापानी नागरिकका लागि सगरमाथा आरोहणको चाह उस्तै थियो।
नेपाल र जापानबीच २०१३ भदौ १७ मा कूटनीतिक सम्बन्ध स्थापित भयो। त्यसयता जापानको नेपालप्रति चासो बढेको थियो। पर्वतारोही जुन्को ताबेईले त्यसमा झन् ऊर्जा भरिन्।
त्यति वेला जापानको अल्पाइन क्लबले सगरमाथा दिवस अर्थात् २९ मेको सन्दर्भ पारेर सगरमाथाको आरोहणको योजना बुनिरहेको थियो। त्यसका लागि नेपालको पर्वतारोहण संघसँग छलफल चलिरहेको थियो। त्यसलाई जोड्ने कडी बने, डा. हर्क गुरुङ। अनि बुनियो, नेपाल, चीन र जापानको टोलीले संयुक्त रूपमा दुवैतिरबाट सगरमाथा ‘ट्राभर्स’ गरेर इतिहास रच्ने योजना।
ऐतिहासिक आरोहण
सगरमाथा आरोहणका लागि नेपाल र जापानले दक्षिणी मोहडाबाट र चीनले उत्तरी मोहडाबाट सगरमाथाको आरोहणको तयारी गरे। केही नेपाली आरोही उत्तरी मोहडाबाट चुचुरामा पुग्न चीनको टोलीमा मिसिए।
सगरमाथाको चुचुरामा पुगेको प्रत्यक्ष प्रसारण गर्ने जापानको निप्पोन टेलिभिजनको तयारी थियो। सगरमाथा आधारशिविरमा ‘स्याटेलाइट डिभाइस’ जडान गरिए। त्यस्तै, पर्वतारोही सुसकु नकमुराको हेल्मेटमा पनि सानो भिडिओ क्यामरा जडान गरिएको थियो, उनी क्यामेरापर्सन थिए।
सगरमाथा आरोहणका लागि १२ जना पर्वतारोहीको टोली थियो। जसमा पाँच जना जापानी, चार जना चिनियाँ र तीन जना नेपाली थिए। पाँच जापानीमध्ये तीन जना निप्पोन टेलिभिजनसँग सम्बन्धित थिए।
उनीहरूको सामान बोक्न र व्यवस्थापन मिलाउन २५२ जनाको टोली सगरमाथा आधारशिविर पुगेको थियो। जुन त्यति वेलासम्म सगरमाथा आरोहण गर्ने सबैभन्दा ठूलो आरोहण दल हो।
नेपालका तर्फबाट नेपाल पर्वतारोहण संघको नेतृत्व गरिरहेका कुमार खड्कविक्रम शाहले नै समन्वय गरिरहेका थिए। त्यति वेला त्रिदेशीय आरोहणको आयोजनाको अग्रभागमा रहेर काम गरेका परतेम्बा शेर्पा भन्छन्, “साढे तीन महीना लगाएर सगरमाथा आरोहण गरेका थियौं।”
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्यांक अनुसार १२ जना आरोही सगरमाथाको चुचुरामा पुगेका थिए। त्यो दृश्य टेलिभिजनको पर्दामा पनि देखिएको थियो। नेपाली पर्वतारोही आङ लाक्पा शेर्पा, आङ फुर्वा शेपा र लाक्पा सोनम शेर्पाले चुचुरामा टेकेका थिए।
त्यस्तै, जापानबाट चर्चित पर्वतारोही नोबोरु यामादा, मुहेहिको यामामोता, सुसमु नाकमुरा, नाकामुरा स्योजी र सीगुसा तेरयु तथा चीनबाट सेरिन दोजी, रिनजिन फुन्चोग, दा सेरिङ र लि छि चिनले सफल आरोहण गरेका थिए। त्रिदेशीय आरोहण दले दुई ठाउँबाट एकै पटक आरोहण गरेर सगरमाथाको चुचुरामा भेटिएर ‘ट्राभर्स’ गरिएको इतिहास रचेका थिए।
नेपाली पर्वतारोही लाक्पा सोनम शेर्पा चीनको टोलीमा मिसिएर उत्तरी मोहडाबाट चुचुरामा पुगे। चुचुरामा पुगेपछि उनलाई क्यामेरापर्सन नेपालीमै सोध्छन्, “अहिले तपाईंलाई कस्तो छ?”
“अहिले राम्रो छ। तिब्बतबाट ‘सबमिट’ मा पुग्यो। राम्रो भयो,” शेर्पा उत्साहित हुँदै भन्छन्।
प्रत्यक्ष प्रसारण भएको त्यो दृश्यमा आङ लाक्पा शेर्पालाई पनि नेपालीमै प्रश्न गरिन्छन्। उनी यति मात्रै भन्छन्, “नेपालबाट आएको हो। राम्रो भयो, राम्रो।”
अर्का पर्वतारोही आङ फुर्वा शेर्पाको भने चिसोले घाँटी बसेको थियो। उनी बोल्न नसक्ने अवस्थामा थिए। तैपनि उत्साहित देखिन्थे। उनी टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुँदा हातले इशारा गरेर बिस्तारै ‘म बोल्न सक्दिनँ’ भन्छन्।
त्रिदेशीय आरोहण दल पाँच मिनेट चुचुरामा अडिन्छ। निप्पोन टेलिभिजनले पाँचै मिनेट प्रत्यक्ष प्रसारण गरेको थियो। आरोहणको खर्च पनि टेलिभिजनले नै बेहोरेको थियो। पछि यसको वृत्तचित्र पनि बनाएको छ।
टेलिभिजनमा देखिएको दृश्यबारे चर्चा गर्दै संसारभरका पत्रपत्रिकाले प्राथमिकताका साथ छापेका थिए। त्यति वेला लस एन्जलस टाइम्सले गरेको रिपोर्टिङमा भनिएको छ, ‘प्रत्यक्ष प्रसारणमा रातो, नीलो र पहेंलो पोशाक लगाएका पर्वतारोहीले एकअर्कालाई बधाई दिए। उनीहरूले सानो बोतलमा हिउँ भरे।’
प्रत्यक्ष प्रसारणको त्यो ‘क्लिप’ पछि चीन, अमेरिका, बेलायत लगायत विभिन्न देशका सञ्चारमाध्यमले पनि प्रसारण गरेका थिए। नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङछिरिङ शेर्पा त्यो त्रिदेशीय आरोहण नेपालका लागि महत्त्वपूर्ण रहेको बताउँछन्। “त्रिदेशीय भएकाले नेपालको प्रचारप्रसारसँगै त्यति वेला धेरैले रोजगारी पनि पाएका थिए,” उनी भन्छन्।
त्रिदेशीय आरोहणका लागि सबैभन्दा धेरै लगानी जापानले गरेको थियो। जापानको निप्पोन टेलिभिजन नेटवर्कले आरोहणको प्रत्यक्ष प्रसारण गरेको थियो। त्यसको व्यावसायिक प्रचार बापत ठूलै रकम उठाएको उनी सुनाउँछन्।
राजा वीरेन्द्रको निम्तो
त्यो आरोहण सफल बनाउनेमा एक थिए, डा. हर्क गुरुङ। उनी त्यति वेला आरोहण तयारी समितिमा पनि थिए। जापानी नागरिकसँग उनको राम्रो सम्बन्ध थियो। फलस्वरूप आरोहणको योजना बनेको थियो।
नेपाल, चीन र जापानको सम्बन्ध सुमधुर बनाउन पनि त्रिदेशीय आरोहणले सहयोग गरेको जानकारहरू बताउँछन्। त्यति वेला नेपाल पर्वतारोहण संघका सदस्य रहेका पर्वतारोही परतेम्बा शेर्पा भन्छन्, “त्यो आरोहणले नेपाल सरकारलाई ऐतिहासिक र व्यावसायिक रूपमा फाइदा पुगेको थियो।”
जापान, चीन र नेपालको मैत्रीपूर्ण व्यावसायिक आरोहण भएकाले नेपाल सरकारले राम्रै रोयल्टी पनि पाएको उनी सुनाउँछन्। आरोहण दलका सदस्यलाई तीनै देशमा सम्मान गरिएको बताउँछन्।
आरोहण दललाई राजा वीरेन्द्रले दरबारमै निम्त्याएका थिए। “राजा वीरेन्द्र साह्रै खुशी हुनुभएको थियो,” उत्साहित हुँदै शेर्पा विगत सम्झिन्छन्, “राजदरबारमै बोलाएर पर्वतारोहीलाई सम्मान सहित विजयोत्सव मनाइएको थियो।”
त्यति वेला नेपाल पर्वतारोहण संघका सदस्य रहेका वसन्त थापा पनि त्यो ऐतिहासिक आरोहण भएको सुनाउँछन्। “पर्वतारोहणको इतिहासमा नेपालले पुनः प्रमाणित गर्न सकेको जस्तो त्यति वेला भएको थियो,” थापा त्यो समय सम्झिन्छन्।
यस आरोहणले सगरमाथाको उचाइमा पुग्न सक्ने सपनालाई विपना बनाउन प्रेरणा पनि दिएको थियो। त्यसपछि संसारभरका पर्वतारोहीको नेपाल आगमन पनि बढेको पर्यटन व्यवसायी बताउँछन्। पहिलो ससानो समूहमा आउने पर्वतारोही त्यसपछि ठूलो समूहमा आउन थालेका थिए।
त्यसअघिको ३५ वर्षमा २११ जनाले सगरमाथा आरोहण गरेका थिए। त्यसयताको ३५ वर्षमा ६ हजारभन्दा बढीले सफल आरोहण गरिसकेका छन्। बर्सेनि यो संख्या बढ्दै गएको छ। सगरमाथा आरोहण गरेर इतिहास रच्नेको दौड उस्तै छ।
यो दौडमा केही सफल हुन्छन्, केहीले जीवन नै सगरमाथामा गुमाउँछन्। अहिलेसम्म ३०० जनाले ज्यान गुमाइसकेका छन्।
अहिले भने सगरमाथामा लाग्ने गरेको आरोहीको भीड नियन्त्रण गर्नुपर्ने बहस शुरू भएको छ। पर्वतारोही एवं लेखक जोन पोर्टर सगरमाथा असन्तुलित भइसकेकोमा चिन्ता जनाउँछन्। त्यो आरोहणभन्दा आठ वर्षअघि सन् १९८० मा आरोहणमा गएका पोर्टर त्यति वेला सगरमाथा शान्त रहेको बताउँछन्। “सगरमाथा आरोहणमा लाग्ने गरेको भीड नियन्त्रण गरिनु जरूरी छ,” उनी भन्छन्, “नेपाल सरकार, पर्वतारोहण समुदाय, सगरमाथा क्षेत्रको समुदाय लगायतले सन्तुलन खोज्नु जरूरी छ। किनभने अहिले सगरमाथा असन्तुलित भइसकेको छ।”
याे पनि पढ्नुहाेस्: