विश्वलाई नै चिन्तित बनाउने अमेजन जङ्गलकाे आगलागी
–कार्लोस फबाल
ब्राजिलको विशाल अमेजन जङ्गलमा लागेको भीषण आगलागीप्रति अहिले विश्व समुदायको ध्यान आकर्षित भएको छ । पृथ्वीका अथाह जीवजन्तु र वनस्पतिको वासस्थानका रुपमा परिचित अमेजन जङ्गलमा लागेको यसपटकको डढेलोले एउटा धरोहर नै नष्ट हुने अड्कलबाजी गरिएकाे छ।
ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले शुक्रबार अमेजन जङ्गलको डढेलो नियन्त्रणमा सघाउन सेना परिचालनको आदेश दिएका छन् । विश्वका प्रकृतिप्रेमीले अमेजनको डढेलो नियन्त्रण गर्न ब्राजिल सरकारले बेवास्ता गरेको भन्दै सजायस्वरुप ब्राजिलसँगको व्यापार रोक्न विश्व समुदायले ध्यान दिनुपर्ने आवाज उठाएसँगै राष्ट्रपति बोल्सेनारोले यस्तो आदेश दिएका हुन् ।
ब्राजिलको उत्तरपश्चिमी रोन्डोनिया राज्यको घना जङ्गलमाथिको आकाशमा बाक्लो धुवाँ निरन्तर देखिएको छ । एकजना एएफपी फोटोग्राफरका अनुसार सयौं किलोमिटरको दूरीमा आगोका लप्का जताततै देखिएका छन् ।
“यो दृश्य सामान्य छैन । जङ्गलमा जताततै आगो लागिरहेकाले आकाश धुवाँ नै धुँवाले ढाकेको छ,” राज्यको राजधानी पोर्टो भेल्होको एक होटलका कर्मचारीले बताए । पोर्टो भेल्हो नगरकै नजिक आगलागी भइरहेकाले पूरै नगर धुवाँ र धुलोले छपक्क ढाकेको छ ।
विश्वकै सबैभन्दा ठूलो जङ्गलको उपमा पाएको यस जङ्गलमा आगलागी भएपछि विश्वभर नै चिन्ता व्यक्त गरिएको छ । ब्राजिली राष्ट्रपति बोल्सोनारो र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोबीच एकअर्काविरुद्ध आरोप प्रत्यारोप नै चलेको छ ।
फ्रान्सेली राष्ट्रपति म्याक्रोले अमेजन जङ्गलको डढेलोलाई “अन्तर्राष्ट्रिय संकट”का रुपमा लिनुपर्ने बताएका छन् । उनले ब्राजिलले तत्काल नियन्त्रणका आपतकालीन उपाय अवलम्बन नगरे युरोपेली युनियनसँगको व्यापार सम्झौता नै अवरुद्ध पार्ने धम्की दिएका छन् ।
पछिल्लो सरकारी तथ्यांकमा यस वर्षमात्र ब्राजिलमा ७६ हजार ७२० वटा वन डढेलोका घटना रेकर्ड गरिएका छन् । सन् २०१३ यता यो नै सबैभन्दा बढी डढेलाका घटना भएका हुन् ।
विज्ञहरुले चरिचरन वा बाली लगाउनका लागि जमिन तयार गर्न स्थानीयवासीले सुख्खा मौसममा जङ्गल आसपास डढेलो लगाउने प्रचलनले आगलागीका घटना बढेको बताएका छन् ।
अमेजन वनक्षेत्रले ठूलो परिमाणमा अक्सिजन दिने भएकाले पनि यसलाई “पृथ्वीको फोक्सो”का रुपमा लिइन्छ । साथै यसले जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न ठूलो भूमिका खेल्ने गरेको छ ।
यी आगलागीमध्ये आधाभन्दा बढी अमेजन जङ्गलमै भएका हुन् ।
राष्ट्रिय अन्तरिक्ष अनुसन्धान इन्स्टिच्यूट (इन्पे)का अनुसार बुधबार र बिहीबारकै बीचमा अमेजनमा ७०० वटा आगलागीका नयाँ घटना भएका छन् ।
धुवाँका कारण साओ पाउलो समेतका नगर क्षेत्रको आकाशको हावाको गुणस्तर अत्यन्त न्यून विन्दुमा पुगेको थियो । सोमबार यी क्षेत्रको आकाशलाई धुवाँले ढाकेका कारण दिउँसै रातिजस्तो भएको थियो ।
परिस्थिति अति नाजुक बन्दै गएपछि राष्ट्रपति बोल्सोनारोले शुक्रबार अबेर राति मन्त्रिपरिषदको बैठक समेत डाकेका थिए । उक्त बैठकले आगलागी नियन्त्रण गर्न र अमेजन आसपासका आपराधिक घटना नियन्त्रणमा ल्याउन सैनिक परिचालन गर्न स्वीकृति दिएको थियो ।
अमेजन वनक्षेत्रले ठूलो परिमाणमा अक्सिजन दिने भएकाले पनि यसलाई “पृथ्वीको फोक्सो”का रुपमा लिइन्छ । साथै यसले जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न ठूलो भूमिका खेल्ने गरेको छ ।
ब्राजिलकै रियो डे जेनेरियो र साओ पाउलोमा हजारौं मानिसले अमेजनमा लागेको डढेलो नियन्त्रणमा सरकारी बेवास्ताको विरोध गर्दै दिनहुँ प्रदर्शन गरिरहेका छन् ।
युरोपेली मुलुकहरुले ब्राजिलका राष्ट्रपतिमाथि दबाब दिनुका साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आगो नियन्त्रणमा ल्याउन सघाउने वचन दिएका छन् ।
फ्रान्सेली राष्ट्रपति म्याँक्रोले युरोपेली युनियन र ब्राजिल समेत सहभागी दक्षिण अमेरिकी व्यापार क्षेत्र (मर्कोसर) बीच तय भएको व्यापार सम्झौता रोक्ने चेतावनी दिएका थिए।
आयरल्याण्डले पनि व्यापार सम्झौता रोक्ने चेतावनी दिएको छ । फिनल्याण्डले ब्राजिली बिफ युरोप भित्रिन नदिने बताएको छ ।
बोल्सोनारोले डढेलोलाई देखाएर ब्राजिललाई सजाय नदिन बारम्बार आग्रह गरेका छन् । “विश्वभर नै वन डढेलोका घटना भइरहेका हुन्छन्, र यसैलाई कारण देखाएर प्रतिबन्ध लगाइनु जायज होइन,” शुक्रबार साँझ एक टेलिभिजनलाई दिएको संक्षिप्त प्रतिक्रियामा बोल्सोनारोले बताए।
म्याँक्रोले बिहीबार एक ट्वीट गर्दै अमेजनको डढेलोलाई अन्तर्राष्ट्रिय संकटका रुपमा लिनुपर्ने र फ्रान्समा यसै साता हुने सात आैद्योगिक राष्ट्रहरुको बैठक (जी७) मा उच्च प्राथमिकता दिएर छलफल गरिनुपर्ने बताएका छन् ।
म्याँक्रोको ट्वीट लगत्तै आक्रामक भएका ब्राजिली राष्ट्रपति बोल्सोनारोले म्याँक्रोमाथि “उपनिवेशवादी प्रवृत्ति” रहेको आरोप लगाए।
वातावरण क्षेत्रका विज्ञहरुको भनाइमा वन डढेलोसँगै तीव्र गतिमा अमेजन जङ्गलमा वनविनाश हुनेछ । इन्पेका अनुसार सन् २०१८ को जुलाई महिनाको तुलनामा यसवर्ष सन् २०१९ को जुलाईमा वनविनाश झण्डै तीनगुणा बढेको छ । बोल्सोनारोले विगतमा गरिएका दाबी झुटो रहेको भन्दै इन्पेका प्रमुखलाई नै बर्खास्त गरेका थिए।
यसै साताको शुरुमा बोल्सोनारोले गैरसरकारी संस्थाहरु बन डढेलोका लागि जिम्मेवार रहेको दाबी गरेका थिए।
बोल्सोनारोका प्रमुख समर्थक मानिएको ब्राजिलको निकै शक्तिशाली कृषि क्षेत्रले पनि राष्ट्रपतिका भनाइप्रति चासो व्यक्त गरेकाे छ। कृषकको भनाइमा समयमै बोल्सोनारोले अमेजन मामिलामा सही कदम नचाले आफ्ना उत्पादनले प्रमुख विश्व बजार गुमाउने छन् ।
कन्ट्रोल रिस्क परामर्शदाताका थोमज फाभारोको भनाइमा बोल्सोनारोका टिप्पणीहरुले अन्तर्राष्ट्रिय प्रतिबन्धको जोखिम बढाएका छन् । “यो पछिल्लो वन डढेलोले ब्राजिलको वन संरक्षणको विश्वव्यापी मोडेल पनि समाप्तिको संघारमा पुगेको छ,” रियो डे जेनेरियोस्थित इगारेप इन्स्टिच्यूटका अनुसन्धान निर्देशक रोबर्ट मुग्गाहले बताए।
अमेजन क्षेत्रमा रहेको ब्राजिलकै सबैभन्दा ठूलो मानस नगरका प्रमुखले शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै अमेजनको वनक्षेत्र विश्वकै लागि जीवनको आधार रहेको बताए।
प्रबुद्ध आदिवासी प्रमुख राओनीले पनि आगो नियन्त्रण गर्न अन्तर्राष्ट्रिय सहयोगका लागि आह्वान गरेका छन् । छिमेकी मुलुकहरु पाराग्वे र बोलिभियाले पनि अमेजन जङ्गलमा लागेको डढेलो नियन्त्रण गर्न भरमग्दुर प्रयत्न जारी राखेका छन् ।
अमेजन जङ्गलको सबैभन्दा ठूलो क्षेत्र ब्राजिलमा पर्दछ भने यो पेरु, कोलम्बिया, भेनेजुएला, इक्वेडर, पाराग्वे र बोलिभिया समेतमा फैलिएको छ ।
अमेजन जङ्गलको क्षेत्रफल करीब ५५ लाख वर्गकिलोमिटर छ । यस जङ्गल क्षेत्रमा साना ठूला हजारौं नदीनाला रहेका छन् । अत्यधिक वर्षा पनि हुने यस वन क्षेत्रलाई जैविक विविधताका दृष्टिले यो पृथ्वीकै अद्भूत र अनुपम उपहार मानिन्छ ।
बोलियाका सरकारले शुक्रबार वन डढेलो नियन्त्रण गर्न “सुपरट्यांकर” विमान प्रयोग गरिएको छ । गत महीनादेखि पूर्वी प्रान्त सान्ता क्रुज क्षेत्रको करीब सात हजार ७७० वर्ग किलोमिटर वन क्षेत्र सखाप पारिसकेको छ ।