घरज्वाइँ : संस्कृतिसँग अधीनस्थ राजनीति
आकाशबाट होइन, आमजनको आँखाको ‘लेभल’ बाट अनि यानीमाया गीतिको लय, उही भुइँबाट शुरू भएर घरज्वाइँ त्यही भुइँमै अन्त्य हुन्छ।
‘घरज्वाइँ’ नाम सुनेदेखि नै यो सिनेमा हेर्ने हुटहुटी थियो। कीर्तिपुरस्थित बागभैरवमा बिहान दैनिक तरकारी बेच्ने मगर समुदायका दिदीहरूसँग भेटघाट भइराख्छ।
‘हाम्रो तकसेरा गाउँकै कथा हो नी भाइ, घरज्वाइँ’ भन्दै सुटिङको सन्दर्भ सुनाइरहन्थे। गलैचा कारखानाका दिदीहरू पनि ‘घरज्वाइँ फिल्म चाहिँ हेर्ने हो’ भनिरहन्थे।
म पनि ‘घरज्वाइँ’ हेर्न गएँ, साइकल हाँक्दै।
पर्दामा मगर परिवेश
मन्द गतिमा गीतको धुन सुनिन्छ। विरह मिस्रित धुन ‘बिन्जुरी’ गीतको भन्दा बढी मार्मिक बोध हुन्छ। ग्रामीण जीवन जस्तै बगेको ‘यानीमाया’ लामो लयमा वनपाखा, घाँसदाउरा, मेलापातमा घन्किए झैं सहज, सरल लयधुनमा मगर बस्तीसँग मिसिन्छ:
यानीमाया, यानीमाया... हा...आ...हा...हा
गोधुलीमा मिर्मिरेमा, तकसेराको धुवाँ
कसले सुन्छ, केले बुझ्छ...
मनले सुम्की रुँदा... यानीमाया...
यस आलापबाट शुरू अनिल बुढा मगर निर्देशित ‘घरज्वाइँ’को सत् प्रतिशत छायांकन मगर गाउँमा भएको रहेछ। चलचित्र मौलिकता र बजारीया बाटोको बीचमा उभिएर बनेको छ।
मलाई पटकथाले बाँधिराख्यो, दोहोर्याएर सिनेमा हेर्ने चाह भयो। कतिपय ठाउँ अझ ‘यस्तो भइदिएको भए’ भन्ने थकथक लागिरह्यो।
रुकुम-रोल्पा क्षेत्रमा मगर समाजमा आदरार्थी, उच्चआदरार्थी शब्दको पदानुक्रम (हाइरार्की) हुँदो रहेनछ। यता अश्लिल मानिने शब्दहरू उता सहज सुनिँदो रहेछ, मगर समाजमा। भारतीय सेनाले प्रयोग गर्ने गालीका शब्द समेत मगर समाजमा सहजै पसिसकेको बोध भयो।
यताको समाजले सोचेजस्तो त्यताको समाजले सोच्दैन रहेछ, शब्द प्रयोगमा। आक्रोश, हाँसखेल, गाली, सार्वजनिक बोलिचालिको भाषामा बराबर समानार्थी रुपमा शब्दहरू प्रयोग हुँदो रहेछ।
यति दमदार स्क्रिप्टको ‘स्पिरिट’ चलचित्रले कति बोक्न सक्यो? बोक्न सकेन भने निर्देशक, निर्माता, कलाकार को दोषी हुन्? अलग बहसको विषय बन्न सक्ला।
मलाई भने मगर परिवेश केन्द्रित कथैले लठ्यायो। यानीमाया गीति लयमा बगेको स्क्रिप्ट नै काफी लाग्यो, चलचित्रभन्दा चोटिलो।
साँझपख झ्यालछेउ बसेर चुरोट तान्दै गाउँतिर हेरिरहेको छ, प्रमुख पात्र सोरो। छेउमा एउटा परेवा बार्दलीमाथि बसिरहेको दृश्य मन पर्यो। शान्ति सम्झौतामा हस्ताक्षरपछि विस्थापित विस्तारै गाउँ फर्कदै भन्ने रेडियोमा बजिरहेको समाचारसँगै इतिहास बल्झियो।
साली सम्झनाले सोरोलाई जाँडले स्वागत गर्दै आकर्षित गर्न खोजेको दृश्यले छोयो। सोरोकी आमा अभिसरा र झाँक्री बुवा मैतेको पहिरन, ढ्यांग्रो, छेर्ला, शिरमा लगाउने प्वाँखहरूले आदिवासीको आदिमता झल्कायो। अल्लो र भेडाको भुत्लाको धागो कातिरहेको, राडी बुनिरहेको दृश्यहरू गज्जब छन्।
जाबी बुन्ने, ऊन पखाल्ने, लुगुम मेला, नचारु नाच, सेतो टीका, कानमा तितेपातीको पात, धनुषधारीहरू, बँदेलको फिला र रक्सी, चोयामा उनेको रोटी, खेतबारी खनजोतदेखि सामुहिक शिकारसम्ममा एकता, मेलापात, जात्रा, रोदी (धापा), मर्दापर्दामा समुदाय जुटेको, सराबरी केटाकेटी सुतेको दृश्यहरू लोभलाग्दा छन्। केटीलाई केटाको भय छैन। सहमति बेगर हातपात हुन्न भन्नेमा ढुक्क छन्।
सोरो शहर बोकेर गाउँ पसेको छ। उसको लवाइखवाइ अलग छ। अत्तर छर्कन्छ मेलामा जाँदा। तर पढेलेखेको मास्टर भए पनि खेतबारी खनजोत गर्न, डोकोडालो बुन्न, धागो कात्न, रोदी बस्न नजान्ने सोरोलाई मगर समाजले स्वीकारेन। जोत्न नजान्दा मामा सुरजितले भन्छ, ‘थुक्क ***...यस्तो तालले के गरि खान्छस्...। भान्जा भन्न पनि लाज लाग्न लाईसक्यो गाँठे।’
बाउ मैतेले थप्छ, ‘चक घोट्नेले के जमीन जोट्ला माइती राजा। घरज्वाइँ राख्नु भयो भने त कुटेरै लखेट्नु हुन्छ कि भन्ने डर पो लाग्या छ।’
अनि सोरो गाउँकै लयमा ढल्कदै जान्छ। पहिरन, खानपान, हाउभाउ सबै फेरिँदै जान्छ। चुरोटबाट बिडी हुँदै सुल्पा तान्छ।
माओवादी सशस्त्र द्वन्द्वपछि मगर गाउँमा धेरै बदलाव आएको छ। यद्यपि समाज आफ्नै लयमा चलिरहेको छ। संस्कृतिप्रति सबै नतमस्तक छन्। युद्धको प्रभाव र लाहुरे संस्कृतिले युवाविहीन झैं बनेको तकसेरा गाउँमा सोरो निजी स्रोतको सामाजिक शिक्षक बनेको छ।
ऊन बेचेको पैसा र भेंडा गोठालोको बनाउलोले स्कूल चलेको छ। पराय संस्कृतिको प्रभाव, भेडा गोठालो गरेर परिवारसँगै रमाउनेहरू र लाहुरे बन्न लालायित समाजमा पहिचान पढाउन रुचाउने मास्टर सोरोलाई रोदीधापा बस्नै आउँदैन। न खेत जोत्न, खन्न र डोकोडालो बुन्न आउछ। ऊन कात्न पनि आउदैन।
बिन्जुरीले ‘राडी बुनेर रिडी मेला जाउँला’ भन्दै उसलाई ऊन कात्न सिकाउँछ। सोरो मात्र होइन, चैते लाहुरे, चिमे अनि अग्नि कमरेडहरू समेत समाजकै लयमा चल्न बाध्य बन्छन्। चैते घरज्वाइँ बस्न तम्तयार छ। कमरेडहरू ‘हाम्रो पार्टीको कुरा चल्दैन, केटीको बाउको कुरा चल्छ’ भन्छन्।
सामुहिकतामा टिकेको समाजमा कोही व्यक्ति नायक, महानायक छैनन्। माइती मनाउँदा मनाउँदै ‘नायक’को कन्तबिजोक हालत हुन्छ, हुत्तिहारा घरज्वाइँ बिचरा पात्र बन्छ। महानायकका मानकहरू नराम्ररी भत्किन्छन्, मगर समाजमा।
मगर समाजमा महिला
चलचित्र हेरिरहँदा विश्वविद्यालयमा बहस गर्ने नारीवादले काम गरेको देखिनँ। यौनका कुरा मगर समाजमा सहजै चल्दो रहेछ। सोरो र सम्झना बिहेको हकवाला हुन्। तर खेत जोत्दै गर्दा छोरोतिर पुलुक्क हेर्दै सोरोको बाउ मैतेले भन्छ,
उमेरमा भदैनी जन्मेको भए त
यस्तो चाउरी भएको फुपुलाई के बिहे गर्थें!
अब त पिछा गरौं भन्दा पनि
छोराले जार सोच्ला भन्ने डर लाग्छ।’
मर्ने वेलामा हरियो काँक्रो भन्दै सोरोकी आमासँगै भदैनी सम्झना मुस्कुराउँछे। मैतेले ‘सम्झनाको जोबन ढल्कीसक्यो’ भन्छ र सोरोतिर हेर्दै मुस्कुराएर ‘छोरो बालखै छ, कि मसँगै ब्या गर्छस् त?’ भन्छ।
सम्झना ‘घरज्वाइँ बस्नु न त बोबो’ भन्छिन्। मैतेले ‘घरज्वाइँ त तेस्तै हो भदैनी...लतारेरै भए पनि ब्वारी चाई पक्का’ भन्छ। हुनेवाला बुहारी-ससुरा यसरी जिस्कँदै छन्। आमा अभिसरा बारी खन्दै भन्छिन्,
आजभोलि काँ सजिलो छ त?
आफ्नो माल तान्न नि,
अस्ति उपल्लो सेराको मनजितले
आफ्नै मामाकै छोरी
जबरजस्ती तान्यो भनेर
पार्टीले लगेचन जनकारबाइ भन्दै,
समाज बसेर हर्जना तिराए...
केटाकेटीलाई नि छुटाए रे।
सुरजित बारी जोत्दै भन्छ, ‘आफ्नै मामाको छोरी तान्दा...! त्यो ***हरूलाई के को टाउको दुखाई हो...गाँठे। खैं... के जमाना आयो आयो।’
सोरोको बाउ मैते भन्छ, ‘हाम्रो पालामा त धापा बस्न लुकुमसम्मै पुग्थ्यौं। तिमीहरू पनि यै वेला त हो डुल्ने, तरुनी भेट्ने, रमाइलो गर्ने, हामी जस्तो खसी भएपछि त लुते बाख्राले नि पत्याउदैन।’
अनि मुख्यानीलाई घरबाटै उठाएको रमाइलो गफ चल्छ। छोरा सोरोले सुनिरहेको छ, बाउले आमालाई छोपेर श्रीमती बनाएको कुरा। मैते छोरातिर हेर्दै भन्छ, ‘बीच बाटोमा ल्याएपछि किन जबरजस्ती भनेर जंगिएपछि छाडेर आउनखोज्दा रुँदै अलि कति नक्कल पार्न नि नपाउने हो र भन्छ।’
छोरा सोरो हाँस्छ। आमा अभिसरा बाउ मैतेसँग रिसाउछे, ‘आफ्नो इज्यत आफै फाल्छ।’
मैते छोरा सोरोलाई हेर्दै भन्छ, ‘केटीहरूको मन बुझ्न गाह्रो छ, मनै पराए पनि कम्ताको स्वाङ पार्छन त, फकाउन जान्नुपर्छ।’
डम्बरेले थप्छ, ‘फकाएर भएन भने लतार्ने हो।’
काम गर्दागर्दै बाउले छोरा सोरोलाई बुहारी छोप्न सिकाउँछ। मैतेले सोरोलाई भन्छ, ‘रोदीमा ट्वाल्ल परेर मात्र नबस्। कति दिन चोखो राँडा बस्छस्? फर्किदा ब्वारी लिएर आउ। म भाले खोजेर राख्छु।’
रोदी घरमा जोडी केटाकेटीहरू ऊन कात्दै, गीत गाउँदै गर्दा डम्बरे भीमा र अर्की केटीको बीचमा बसेर दुवैलाई अँगालो हाल्छ। भीमाले ‘धेरै टाँसिन नआउ है अईले आगोमा पुर्याईदिन्छु’ भन्दा डम्बरले ‘एक रात सँगै सुत्दैमा के हुन्छ...लाउरे नल्याए नि मास्टर त ल्याको छम्’ भन्छ।
भीमाले ‘यो दाज्यु कस्तो छिल्लेको हो...काँकाँ हात छिराउँछ’ भन्दा डम्बरले ‘तलाई देखेपछि हात आफै गैजान्छ म के गरम्’ पो भन्छ।
भीमाले ‘कुन दिन अग्नि कमरेडको फेला पर्छ अनि भेट्छ भाटे कारबाही’ भन्दा त चिमे कमरेडै त्यही गाउँदै बस्या देखिन्छ। डम्बरे भीमा पाए जस्तो कारबाही नि सहिदिन्छु भन्दै राति लस्करै सुत्छन्, केटाकेटी एउटै मझेरीमा। डम्बरले भीमालाई अँगालो हाल्छ, निदाएको मौकामा।
चलचित्रमा एकातिर महिलालाई वस्तुकरण गरिए झैं भान हुन्छ। अर्कोतिर केटीहरू बढी स्वाधिन झैं देखिन्छन्। भलिबल खेल्छन्, जिस्किन्छन्। केटाहरूसँग लड्छन्।
बिन्जरी र सम्झनाको बुबा दुवैले घरज्वाइँ राख्छु भनिरहेका छन्। घरज्वाइँ बस्नेबीच लडाई भइरहेको छ। छिप्पेको भेंडालाई कसले पत्याउछ भन्दै सोरोलाई अधिनस्थ बनाइरहेको छ, समाजै मिलेर। यूके लाहुरे चैतेको इमेज पनि पलप्रतिपल खुइलिँदै छ।
बाछीगाउँकी बन्दुक चलाउन पनि जान्ने बिन्जुरी साहसिक देखिन्छे। मेलामा चिमेले सोरोको हातमा बन्दुक दिन्छ। अलमलमा परेको सोरोको हातबाट बन्दुक लिएर बिन्जुरीले निशाना लगाएर हान्छे। उनै बिन्जुरीलाई छोपेर, तानेर लान्छ।
पहिले जस्तो सजिलो थिएन, पार्टीको निकै चहलपहल थियो। चौकी पनि फर्किने कुरा चल्दै थियो। दानबहादुर चार गाउँमै गनिने शिकारी हुँ भन्दै हिड्नेको डर छदै थियो। तैपनि बिन्जुरीलाई उठाएर लान्छ।
सिङ्गो समाजै मिल्छ बिन्जुरीलाई छोप्न। मैतेले तल्लो सेराको मुखियाको छोरा साइलाले पनि उठाएरै ल्याको कुरा गर्छ। सोरोले ‘केटीले मानेन भने नि?’ भन्दा मैते भन्छ, ‘***... त्यत्ति नि हिम्मत गर्न सक्दैनस् भने त माया मार। ब्या गरेर जान्छे, अनि टाउको समातेर बस्लास्। की ढाँटले कि आँटले खान्छ। तानेपछि जे पर्ला टर्ला।’
अन्ततः मध्ये रातमा बिन्जुरीलाई उठाएर लान्छन्। मुख थुनेर बोक्दै सोरोको घरमा पुर्याउँछन्। बोक्ने डम्बरेलाई बिन्जुरीले टोक्दा पनि छाडिन्न। लुंगी फुत्कन खोज्दा सबैले समाइकन मिलाइदिन्छन्। सबै लागेका छन् बिन्जुरी बोक्न, घिच्याउन, सघाउन।
बिन्जुरीको खुटाले नौ ठाउँको गोबरमा टेकाउँदै बुहारी बनाएर घरभित्र हुल्छन्। डम्बरे त्यही मौकामा भीमालाई पनि छोप्न खोज्छ। ‘तँलाई मुर्दार’ भनेर भीमाको चप्पल खाएपछि डम्बरे भाग्छ। सोरो र बिन्जुरीलाई भित्र राखेर बाहिरबाट चुकुल लगाइदिन्छ। ‘रातभर सुतेपछि सब मिल्छ’ भन्छ डम्बरे।
अरुहरूलाई छोपेर ल्याएको घट्नाको चर्चा चल्छ। परार बिनसरीलाई उठाउने वेला धनसुर भिरबाट गुल्टेको, मकैबारीमा भिजिभिजी कुरेर छोरीको सट्टा आमालाई उठाएको आदि कुरा सुनिन्छ, मोफसलमा।
फिल्म हेरेपछि उनै तरकारी बजार र गलैचा कारखानाका मगर दिदीहरूसँग केटी छोपेर, उठाएर ल्याउने चलनको चर्चा चल्यो। हिरामाया मगरले भनिन्, “हाम्रो आमाको मामाले पनि माइजु छोपेरै...अझ कोतर्छ, टोक्छ भनेर पछाडि फर्काएर बोकेर घर ल्या’अरे।”
दिदीहरू भन्दैथिइन्, “पहिले त्यस्तै थियो भाइ, अहिले अलि फरक छ।”
मेरा एक नारी अधिकारकर्मी अभियन्ता मित्र छिन्, राई समुदायकी। उनले भनिन्, “मेरो बाले पनि आमालाई छोपेरै ल्याएको हो...। यसर्थ म मेरी आमालाई यो फिल्म हेराउन लान्न।”
उनको आमाको इतिहास बल्झिन्छ अरे। तर आमा, छोरी, छोरा, ज्वाइँ सबैको आँखाबाट हेर्दा महिला कहि कतै कमजोर देखिन्नन्। पुरुषको पीडा महिलाको भन्दा कम छैन। महिलाको स्वतन्त्रता कतिपय अवस्थामा पुरुषकोभन्दा कम देखिन्न।
मगर समाजमा बन्दुक बिम्ब
मगर गाउँमा सेना र माओवादी दुवैले उस्तै दुःख दिन्थ्यो। लाहुरे संस्कृतिले पनि सताएकै देखिन्छ। सोरो शहर बसेर गाउँ फर्केको छ। आमा अभिसरा भन्छिन्, ‘त्यत्रो लेखापढी जानेको मान्छे, विदेश नगएर झन् उल्टै गाउँ फर्केर आउँछ।’
बिहे गर्न बितिसक्यो। मनदयाले थप्छ, ‘उमेर पनि छिप्पिसक्यो, फेरि मास्टरलाई कस्ले पत्याउने, सबैले लाउरे भान्जा खोज्छ।’
शिक्षक जस्तो सुन्दर पेशाकर्मी निरिह बनेको छ। बन्दुकको कुरा बढी हुन्छ। बन्दुक शक्तिको बिम्ब बन्छ।
मगर बस्तीमा बाउबाजेको पालामा घरैपिच्छे सयौं भेडा हुन्थ्यो। त्यसैको मल, राडीले जीवन चल्थ्यो। सशस्त्र द्वन्द्वपछि त कोही कता कोही कता, गाउँनै सुनसान हुन थाल्यो। ‘ब्या गर्न नि लाहुरे हुनु पर्ने गाँठे’ भन्ने कुरा सुनिन्छ।
गाउँमा ‘मास्टर भए जस्तो होइन, केटी खोज्न। जुनी खोजे बराबर भयो’ भन्छन्। केटी उमेर पुग्ने वित्तिकै उठाई हाल्छन्। ‘हिजो पनि गाउँमा खैं को केटीलाई ताने भन्थे’ भन्ने कुरा सुन्ने वित्तिकै सोरो झस्किन्छ। खाइरहेको खाना छाडेर सोचमग्न हुन्छ।
बिन्जुरीलाई कसैले तान्ला भन्ने भयमा छ। चैतेले बिन्जुरीको बाउको मन जितिसकेको छ। उपल्लो सेरा गाउँको यूके लाहुरे चैतेले भलिबल खेल जितेपछि १० हजार इनाम बाडेको थियो। बिन्जुरीलाई भनेको थियो, ‘सालीज्यूले भेनाको इज्जत राख्यो, अब बाँकी खेल भेनासँग यूकेतिर खेल्ने है।’
चैतेले साली बिन्जुरीमाथि हकदाबी गरिरहेको छ, सार्वजनिक रुपमै। बिन्जुरीको लागि सोरो र चैतेको मेलामा हात हालाहाल भइसकेको छ।
चिमेले चैतेलाई भन्छ, ‘लडाई खेल्ने भए लाहुर तिरै बस्, पल्टनको घमण्डले गाउँमा टिकिन्न, जनकार्बाहीमा ठेल्दिम्ला।’
बिन्जुरी जहिल्यै पैसाको घमण्ड गर्ने चैतेसँग बिहे गर्न चाहन्न। खासमा उनलाई लाउरेहरू मनै पर्दैन। उनलाई गाउँमै बस्ने, परिवारको हेरबिचार गर्ने, घमण्ड नगर्ने, मुस्कुराई रहने अनि नरिसाउने केटा मन पर्छ।
बिन्जुरीलाई सम्झनाको हक लाग्ने मास्टर मन परेको छ। शहर छाडेर सोरो किन गाउँ आए, उनी अचम्ममा छिन्। गाउँका जति सबै लाहुर गइसके। बच्चा वेलामा लडाइ चलिरहेपछि बाउले गाउँ आउनै नदिएको सोरोलाई गाउँ नै मन पर्छ। दानबहादुरलाई सोरोसँग बिन्जुरीको बिहे मञ्जुर छैन। ‘शहरमा केइ गर्न नसकेपछि गाउँ फर्केको ***, न लाहुरे हुने हुति छ’ भन्दै जाबो मास्टर स्वाठले बुडी कसरी पाल्छ भन्छ।
बिन्जुरी छोपेर ल्याएपछि गाउलेले ‘कस्तो नराम्रो लुंगी लगाइ दिएको है दुलहीलाई’ भन्दा अर्को गाउलेले ‘लाहुरेसँग गए पो ब्यामा होल्यान्ड लुंगी लगाउन पाउछ जाबो मास्टरसँग गएपछि यस्तै त हो’ भन्छ।
लाहुरे संस्कृति हाबी हुँदा मास्टरको मानमर्दन सामान्य देखिन्छ। दानबहादुर सधैँ बन्दुक बोकेर हिड्छ। चिमे कमरेड सोरोलाई ‘लाल सलाम’ गर्छ। पढेको मान्छेले गोरु धपाउन थाले पछि ‘केहि न केहि परिवर्तन त हुन्छ है अब’ भन्छ। कमरेड बन्दुककै कुराकानी गरिबस्छ।
चैते लाहुरे बन्दुक किन्ने कुरा गर्छ। दानबहादुरसँग २० वटा बँदेल ढालेको बन्दुक छ। घरज्वाइँ बस्नेलाई त्यो बन्दुक दिन्छु भन्छ। सोरो मास्टरको साटो उनको रोजाइमा घरज्वाइँ यूके लाहुरे चैते नै लायक छ।
अधिनस्थ पुरुषत्व
अभिसरा राडी बुन्दै छोरा सोरोलाई सराप्दै छिन्। झन् आफ्नै भान्जा भनेर जागिर मिलाइदेको, भान्जा चै थाहै नदिई अन्त केटी माग्न हिडेको भनेर मामाले चित्त दुःखाइका कुरा झिक्छिन्। ‘मति बिग्रेपछि के लाग्छ र, न यताको हुने भो न उताको’ भन्छिन्।
डम्बरले थप्छ, ‘बाउआमाले खोजेको नि घरज्वाइँ बस् भन्छ, छोरोले रोजेको नि घरज्वाइँ, खै...यसको ब्या होला जस्तो लागेन।’
बिन्जुरीलाई उठाएपछि जब दुवैलाई ढोका थुनेर राखिदिन्छन्, सोरोले भन्छ, ‘मामाले हाम्रो सम्बन्ध कुनै हालतमा स्वीकार्ने थेनन्...। उठाउने बाहेक मसँग अरु कुनै उपाय भएन। गलत या सहि के गरे...। तिम्रो लागि जे पनि गर्न सक्छु।’
बिन्जुरी रिसाउदै बोल्छे, ‘बाउलाई मना भनेको होइन, अब तेरो बाआमा छोडेर तँ मेरो घर बस्न सक्छस त?’
सोरोको बोली बन्द हुन्छ। बिन्जुरीलाई खाटमा ओछ्यान लगाएर सोरो भुइँमा सुत्छ।
भोलिपल्ट भव्य बिहेको तामझाम छ। दानबहादुर कमरेडहरू लिएर आउँछन्। अग्नि कमरेडले भन्छ, ‘अर्काको छोरी चेली मनपरी उठाउन पाइदैन भनेर पार्टीले उर्दी जारी गरेको थाछैन?’
डम्बर भन्छ, ‘घरघरको मामिलामा के को पार्टी?’
बिन्जुरी चुपचाप बसेकी छे। अग्नि कमरेडले भन्छ, ‘जबरजस्ती उठाको हो भने जनकारबाहीमा हाल्दिन्छु, यस्ता शोषण सहने दिन गैसके।’
बिन्जुरीले जबरजस्ती उठाएर ल्याएको भन्छे कि भन्दिन भन्ने थाहा पाउन भने चलचित्र हेर्नै पर्छ।
अग्नि कमरेड भन्छ, ‘बिहेपछि काम गरेर माइती रिझाउने यहाँको चलनै हो, यो कुरामा हाम्रो पार्टीले पनि सहमति जनाएको छ। माइतीले अराएको सबै काम पूरा गर्यो भने घरज्वाइँ बस्न पर्दैन। यदि त्यसो नभएमा बिहे नभएको ठहर्छ। उल्टै जनकारबाही बोक्नुपर्नेछ।’
अग्नि कमरेडकाे याे संवाद पछि सोरो र मैतेले के भन्लान्? जवाफ घरज्वाइँ मा छ।
माइती मनाउन ढिकीजाँतो, भाँडा माझ्ने, मकै पिस्ने, डोको बुन्ने काम गर्नै पर्यो। दानबहादुरले ज्वाइँलाई ‘बाउकै छोरा होस् भने डोको बुनेर देखा ***’ भन्छ।
खाना पनि खान नदिई मकै छोडाउन, राडी पखाल्न, मल बोक्न लगाइरहेको छ। केटीहरू गिल्ला गर्छन्, ‘अर्काको छोरी लान काँ सजिलो छ त।’
‘हुत्तिहारा’ सोरो बिन्जुरीको हात समात्दा कुकुर भुक्दा पनि तर्सिन्छ। बिन्जुरीले साससँगै ‘डरछेरुवा’ भन्छ। सोरो ‘कुकुरले पनि हेला गर्न थाल्यो’ पो भन्छ।
दानबहादुरले छोरीसँग सुतेको देखेर सोरोलाई घर बाहिर हुत्याइदिन्छ। खुट्टाको बुढीऔंलाको नङ नै उप्किन्छ। ‘अब जोत्न पनि सकिनस् भने अनुहार छोपेर घर फर्के हुन्छ ***’ भन्छ ज्वाइँलाई।
विमार बाउ मैते रातमा सोरोलाई गोरु जोत्न सिकाउँछ। तैपनि जोत्न जान्दैन। चैतेले ‘घर फर्की, शहर पस’ भनेपछि उर्लिएको झगडा दानबहादुरले राेक्न सक्ला?
चैतेले ‘माइती मनाउन नसकेर मामा कुट्छस् ***’ भन्छ। दानबहादुरले थप्छ, ‘आजदेखि तँ ***को पाइला मेरो घरमा देखे भने मैले जानेको छु।’
रुझेको मुसा झैं ससुराल घर पुगेको घरज्वाइँ बिन्जुरीले पनि ‘माइतीको इज्जत गर्न नजान्ने *** यहाँ बस्न पर्दैन’ भन्दै झिटीझाम्टा फालिदिएपछि सोरो नम्र हुँदै भन्छ, ‘सक्ने जति गरेकै त हो नि...। घरमा बिमारी बाउलाई छोडेर गोरुझै जोतिएँ। न खाने ठेगान, न इज्जत, स्कूलको जागिर पनि गयो।’
बिन्जुरीले ‘उल्टै बाउ कुटेर कुन मुखले हिड् भन्छस्...! तँ को होस् मेरो बाउको बारे बोल्ने, त *** हाँबाट निस्किहाल्’ भन्छे।
रित्तोहात घर फर्केको घरज्वाइँलाई बाउ मैतेले पनि बचन लगाउछ, ‘मुख देखाउन नसक्ने बनाइस् ***...। गाउँमा बसेर यहाँको रिवाज जानेको छैनस् ***।’
काकाले थप्छ, ‘भान्जाले मामा कुटेको त अहिलेसम्म कहिँ सुन्न परेको थिएन।’
पार्टी कार्यालयमा शिर उठाउने अजेन्डामा बैठक बोलाएको छ। चैतेले सोरोलाई जन कारबाहीसहित बिन्जुरी आफुले पाउनु पर्ने जिकिर गर्दै जथाभावी बोल्छ। चिमे कमरेडले चैतेको पक्षमा निर्णय गराउन खोज्छ। बिन्जुरी रोइबस्छ, निर्णयमा पुग्न सक्दैन। कमरेडहरु रनभुल्ल बन्छन्।
चैतेको सगुन खाइसकेकोले दानबहादुरको मुखमा बुझो लागेको छ। भोलिको सिकारमा जसले बँदेल ढाल्छ उसैले छोरी पाउने सर्त राख्छ। अग्नी कमरेडले अन्नतः उदघोष गर्छ, ‘यहाँ बाबुको सर्त मान्य हुन्छ, पार्टीको होइन।’
आमाले ‘जति तलाई बाउ छाड्न गाह्रो थियो त्यति ब्वारीलाई पनि बाउ छोड्न गाह्रो होला’ भनेपछि सोरो रुन्छ। अन्ततः अधिनस्थ ‘हुत्तिहारा’ सोरोले बिन्जुरी पाउँछ। सोरोले यता र उताको दुबै घर अर्धघरज्वाईझैँ धान्दैछ। ससुराको खेत जोत्न गइरहन्छ। रेडियोमा देश गणतन्त्रमा गएको खबर घन्किरहेको सुनिन्छ।
जाँदाजाँदै
हल्लाबाजी बेगर अनिल सीमितताको बाबजुद जबरजस्त अब्बल निर्देशकका रुपमा उभिएका छन्। आमजनको आँखाबाट सिनेको दृश्यांकन गराएका छन्। आकाशबाट होइन, आमजनको आँखाको लेभलबाट अनि यानीमाया गीतिको लय, उहि भुइँबाट शुरू भएर सिनेमा त्यही भुइँमै अन्त्य हुन्छ। बहसका लागि विविध रङ्ग, विचार, बोली बोकेको चलचित्रबारे निर्देशक अहिलेसम्म कतै सार्वजनिक रुपमा बोलेका छैनन्।
मिडियामा उनकै शब्दमा ‘इन्टरभ्यू’ दिन अनिच्छुक अनिल भन्छन्, ‘जे बोल्छ फिल्मले बोल्छ, मैले किन बोल्नु पर्यो!’
फिल्मले पनि बोल्न नसकेको कुरा स्क्रिप्टले बोलेको बोध गर्दै छु। स्क्रिप्ट नै एक ऐतिहासिक उपन्यासजस्तो स्तरीय छ। स्क्रिप्टको मर्ममा मार हान्नेहरू हुँदाहुँदै पनि फिल्म जीवन्त बनेको बोध भयो। अझ स्वाधिन भएर यस स्क्रिप्टमा ‘अनिलले शत्प्रतिशत मौलिक चलचित्र बनाउन सकेको भए’ भन्ने कुरामा थकथक लागिरहेछको छ।
सेन्सरबोर्डमा सिनेमाको ‘इसेन्स नमारिदिन’ बिन्ती बिसाउँदा पनि बोलीचालीमा मगर समाजमा चलेका शब्दहरू सेन्सर बोर्डले काट्न बाध्य बनाएछ। जसले संवादको सुक्ष्म संवेदना सिध्याइदियो। सिनेमामा मौलिक ठेट मगर लवज पनि आएन, स्क्रिप्ट त ठेट लवजमै लेखिएको रहेछ।
सिनेमामा ठेट मगर लवज किन आएनन्, निर्देशक अनिल नै जानुन्। तर ती ‘यानीमाया’ धुन झैं मेरो स्वैरकल्पनामा सलबलाइरहेका छन्, साइकलको गतिसँगै।
यो पनि पढ्नुहोस् :