सम्झनाको अर्धशतकमा नेपालको शानदार जित
प्रारम्भिक ब्याटर सम्झना खड्काले अर्धशतक प्रहार गरेपछि नेपालले एसीसी महिला एशिया कपमा विजयी शुरूआत गरेको छ।
प्रतियोगिताको पहिलो खेलमा शुक्रबार नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको हो। श्रीलंकाको दाम्बुल्ला अन्तर्राष्ट्रिय रंगशालामा यूएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा पूरा गर्यो।
नेपालका लागि खड्काले ७२ रन बनाइन्। उनले ४५ बलमा ११ चौका प्रहार गरिन्।
त्यस्तै, नेपालका लागि रुबिना क्षेत्रीले १०, सीता राना मगर र पूजा महतोले सात/सात, इन्दु बर्माले ६ र कविता कुँवरले दुई रन बनाए।
यूएईका लागि कविसा इगोजले तीन र लावन्या केनीले एक विकेट लिए। अन्य खेलाडीले राम्रो बलिङ गर्न सकेनन्।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले आठ विकेटको क्षतिमा ११५ रन बनाएको थियो। यूएईका लागि खुशी शर्माले ३६, कविसा इगोजले २२, समैरा धर्निधर्काले १३ र ईशा ओजाले १० रन बनाए।
नेपालका लागि इन्दु बर्माले तीन, सबनम राई र कृतिका मरासनीले एक-एक विकेट लिए।
दोस्रो खेलमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेल आइतबार साँझ ७ः१५ बजे शुरू हुनेछ।