बाङ्लादेशमा रहेका नेपाली विद्यार्थी सुरक्षित : परराष्ट्र मन्त्रालय
बाङ्लादेशमा रहेका नेपाली विद्यार्थी सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
आरक्षणलाई लिएर बाङ्लादेशको राजधानी ढाकासँगै प्रमुख शहरहरूमा विद्यार्थीले प्रदर्शन गरिरहेका छन्। विद्यार्थीले आरक्षण हटाउन माग गर्दै देशव्यापी रूपमा प्रदर्शन गरिरहेका छन्।
प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा शुक्रबारसम्म ३२ जनाको मृत्यु भएको रोयटर्सले उल्लेख गरेको छ। त्यस्तै, एक हजार ५०० भन्दा बढी विद्यार्थी घाइते भएका छन्।
त्यस्तै, १०० भन्दा बढी प्रहरी पनि घाइते छन्। प्रहरीका ५० बूथमा आगो लगाइएको छ। बाङ्लादेशका ६४ मध्ये ४७ जिल्ला सदरमुकाममा प्रदर्शन भइरहेका छन्।
परराष्ट्र मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी बाङ्लादेशमा रहेका नेपाली विद्यार्थी सुरक्षित रहेको जनाएको हो। ‘हालसम्म सम्बन्धित विश्वविद्यालय, कलेज तथा ढाकास्थित नेपाली राजदूतावास समेतको सहयोग र समन्वयमा नेपाली विद्यार्थी सुरक्षित रहेको तथा उहाँहरूको थप सहजताका लागि निरन्तर प्रयत्न भइरहेको छ,’ परराष्ट्र मन्त्रालयले भनेको छ।
बाङ्लादेशमा रहेका नेपाली विद्यार्थीलाई सुरक्षित राख्ने प्रयत्न भइरहेको जनाइएको छ। परराष्ट्र मन्त्रालयले भनेको छ, ‘बाङ्लादेशमा विकसित पछिल्लो घटनाक्रममा सन्दर्भमा त्यहाँ अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ नेपाल सरकार पूर्ण रूपमा सचेत छ।’
तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी, उनीहरूका अभिभावक एवं आफन्तलाई ढाकास्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह गरिएको छ। यसका लागि दूतावासको ८८०१८८०६९१०१३ र ८८०१७४५४०७९५८ नम्बरमा सम्पर्क गर्न भनिएको छ।