निर्माण व्यवसायीको रोकिएको रकम भुक्तानी गर्न अर्थमन्त्री तयार
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न सरकारी निकायबाट निर्माण व्यवसायीलाई भुक्तानी हुनुपर्ने रकम चाँडै भुक्तानी गरिने बताएका छन्।
नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग शुक्रबार अर्थ मन्त्रालयमा भएको भेटघाटमा पौडेलले दायित्व सिर्जना भइसकेको रकम भुक्तानी नरोकिने बताए। यसका लागि भुक्तानी गर्न बाँकी रकम यकीन भइरहेको उनको भनाइ थियो।
महासंघका पदाधिकारीसँगको छलफलअघि अर्थमन्त्री पौडेलले विभिन्न विषयगत मन्त्रालयका सचिवसँग छलफल गरेका थिए। “काम सम्पन्न भइसकेका आयोजनाको भुक्तानी नरोक्न विभिन्न मन्त्रालयलाई भनिसकिएको छ,” अर्थमन्त्री पौडेलले भने, “समस्या आइसकेपछि यत्तिकै राख्ने होइन, समाधान गर्दै जाने हो। दुवै पक्ष छलफल गरेर निकास खोज्नतर्फ लागौं।”
सम्पन्न भएको कामको भुक्तानी नरोक्न विषयगत मन्त्रालयका सचिवलाई निर्देशन दिइसकेको पौडेलले बताए। पूर्वाधार निर्माणको गुणस्तर कायम गर्दै तोकिएको समय र लागतभित्र काम सम्पन्न गर्न पनि अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीलाई आग्रह गरे।
“तपाईंहरूका जायज समस्या सुन्न र समाधान गर्न सरकार तयार छ। तपाईंहरू पनि तोकिएको समय र लागतभित्र काम सक्नुहोस्,” उनले भने, “कामको गुणस्तर कायम गर्ने विषयलाई पहिलो प्राथमिकतामा राख्नुहोला।”
निर्माण व्यवसायीले प्रदेश र स्थानीय तह समेतबाट गरेर करीब ६० अर्ब रुपैयाँ बराबर भुक्तानी पाउन बाँकी रहेको बताउँदै आएका छन्।