जो कुकुरलाई सन्तान मान्छिन्
सडक कुकुरको उद्धार र हेरचाहमा रमाइरहेकी सुनिता प्रधान लिम्बू भन्छिन्, “यी अबोध प्राणीलाई त मैले दिन सक्ने माया दिएकी हुँ, यिनीहरूलाई स्याहार्दा कता हो कताको अपार खुशी पाएकी छु।”
साँझको करीब ७ बजेको छ। काठमाडौंको गोंगबु चोकमा एक महिला दुवै हातमा बाल्टिन बोकेर सडकमा देखा पर्छिन्। उनलाई देख्नासाथ २५/३० वटा कुकुर वरिपरि झुम्मिन्छन्।
सधैंको दैनिकी भएकाले कुकुरहरूलाई थाहा छ, बाल्टिनमा उनीहरूका लागि खानेकुरा आयो। महिलाले तिनलाई मासुभात भाग लगाएर खुवाउँछिन्। सबैले सासैले टिप्छन् खाना। खूब स्वादले खाएको हेरेर महिला प्रसन्नचित्तमा घर फर्कन्छिन्।
सुनिता प्रधान लिम्बू (५०)को केही वर्षयताको नियमित काम हो, सडक कुकुरलाई खाना खुवाउनु। हरेक साँझ उनी खाना बोकेर घर नजीकैको सडकमा जान्छिन् र चोक वरपरका कुकुरलाई खुवाउँछिन्।
उनको घर छेउछाउमा ६० वटा जति सडक कुकुर छन्। उनले तिनीहरूको नाम पनि राखिदिएकी छिन्– गोरे, काली, खैरु, बैनी, ठूलो गुन्डा, सानो गुन्डा, डेजी, नाकढोरे आदि।
उनीहरूले सुनिताबाट नाम र खाना मात्र पाएका छैनन्, गाह्रोसाह्रो पर्दा आश्रय पनि पाउँछन्। जस्तै- यसपालिकै वर्षा यामको कुरा गरौं। पानी पर्दा सडकका कुकुर दगुर्दै उनको घरमा ओत लाग्न आए। हरेक वर्षा याममा उनी भुइँतलाको बार्दलीमा बोराहरू ओछ्याइदिन्छिन्। भिजेर आएका कुकुरलाई पुछपाछ पार्छिन्, झरी दर्कियुन्जेल उनीहरू त्यहीं सुस्ताउँछन्। उनीहरूले जाडो याममा पनि न्यानो बोरामा बस्न पाउँछन्।
यसरी सडक कुकुरलाई खुवाउँदा र माया दिंदा सुनिताको मन तृप्त हुन्छ। उनी भन्छिन्, “उनीहरूलाई दिएभन्दा बढी मैले उनीहरूबाट पाएको छु। यी अबोध प्राणीलाई माया बाँड्न पाउँदा अपार शान्ति र खुशी मिल्छ।”
उनले धेरै कुकुरलाई खाना खुवाउन थालेको कोभिड-१९ महामारीपछि हो। महामारी र त्यसको रोकथाम गर्न लागू गरिएको बन्दाबन्दीका कारण शहरका धेरै मानिस आफ्नो गाउँ गए, पालेका कुकुर यतै छाडिदिए। बेसहारा ती कुकुर सडकमा आइपुगे। उनीहरूको सहारा बनिन् उनी।
यो त सडक कुकुरप्रतिको प्रेम भयो, सुनिताले घरमा पनि कुकुर पालेकी छिन्। एउटा/दुइटा होइन, नौ वटा। यी सबै कुकुर बेवारिसे अवस्थामै भेटेर उद्धार गरी ल्याएकी हुन्। उनीहरूलाई परिवारका सदस्यकै दर्जा दिएकी छिन्। घरमा उनी आमाबुबा र छोरीसँग बस्छिन्, श्रीमान् विदेशमा छन्। तर भन्छिन्, “हाम्रो घरमा १३ जना छौं। यी कुकुरहरू मेरा बच्चा हुन्।”
पशुप्रेम जगाउने त्यो घटना
२०७१ सालको एउटा घटनाअघि सुनिताको खास प्रेम संगीतसँग थियो। उनी गायिका हुन्। विगतमा एकल अल्बम नै निकालेकी छिन्। तर त्यो एउटा घटनाले उनको प्रेम संगीतबाट मोडिएर कुकुरको स्याहारमा पुग्यो।
बिहेपछि उनी २०५५ सालमा श्रीमान्सँगै हङकङ गएकी थिइन्। आफ्नो एकल अल्बम आरोहीको विमोचन गर्न २०७१ सालमा नेपाल आइन्। अल्बम विमोचनको बन्दोबस्त मिलाउन दौडधूप गरिरहेकी थिइन्। त्यस्तैमा एक दिन शहीदगेट छेउको आकाशेपुलमा हिंड्दै गर्दा नेपाली सेनाको मुख्यालय हाताको चौरको कुनामा एउटा माउ कुकुर निष्प्राण सुतेको देखिन्, छेउमा उसका छाउराछाउरी बह पोखे झैं कुइँकुइँ गरिरहेका थिए।
त्यो दृश्यले उनको मन नराम्ररी कुँडियो। घर फर्केपछि आफूले देखेको कुरा परिवारलाई सुनाइन्, तर कसैले वास्ता गरेनन्। उनको मनमगजमा मरेको माउ कुकुर र छाउराहरूको तस्वीर आइरह्यो।
पर्सिपल्ट ती छाउरा लिन गइन्, तर त्यस ठाउँमा भेटिएनन्। उनलाई वेलैमा छाउराहरूको उद्धार गर्न नसकेकोमा पछुतो लाग्यो। त्यो दिन उनले अठोट गरिन्, यस्तै समस्यामा परेका बेवारिसे कुकुरको हेरचाह गर्ने। त्यसपछि उनले सडक कुकुरहरूलाई खाना खुवाउन शुरू गरिन्।
मरेको माउ कुकुरको छेउमा रोइरहेका छाउराहरू देख्दा उनीभित्र एउटा कम्पन पनि चल्यो, जसले उनलाई बाल्यकालको स्मृतिमा पुर्याएको थियो।
उनको बाल्यकाल कुकुर र बिरालोले नै उत्सवमय बनाएका थिए। उनी कहिले कुकुरको छाउरो, कहिले बिरालोको बच्चा घरमा ल्याउँथिन्। घरमा जोनी नामको कुकुर थियो। जोसँग उनी खेल्थिन्। जसले उनलाई पिठ्युँमा बोकेर हिंड्थ्यो। कुकुरप्रति परिवारका सबै सदस्यको प्रेम थियो।
उनका मावली हजुरबुबा पशुचिकित्सक थिए। हजुरबुबाले पशुहरूको उपचार र स्याहार गरेको देख्थिन्। निर्धो प्राणीप्रतिको त्यो प्रेम उनलाई राम्रो लाग्थ्यो। त्यसले उनको मनमा विशेष छाप पारेको थियो।
समयक्रममा उनको बिहे भयो। बिहेपछि पारिवारिक जीवन र बच्चाको रेखदेखमै केन्द्रित भइन्। बिहेपछि १६ वर्ष हङकङमा बित्यो।
शहीदगेट छेउको त्यो दृश्यले पो आफू पहिले कस्ती थिएँ, कता हराएँ भन्ने विचारको बाछिटाले उनलाई चसक्क बनायो। त्यो दिन आफ्नो जीवनमा ठूलो परिवर्तन आएको उनी मान्छिन्। “मैले आफू कस्ती थिएँ भनेर बाल्यकाल सम्झें, त्यही सुनिता फर्किनुपर्छ भन्ने सोचले भित्रैदेखि तरंगित बनायो,” उनी भन्छिन्।
कुकुरको हेरचाहले उनलाई आफ्नो पुरानै दुनियाँमा बाँचेको अनुभूति दिइरहेको छ। विगतमा साथीभाइप्रति हुरुक्क हुन्थिन् उनी। अधिकांश समय साथीहरूसँग घुमफिरमै बित्थ्यो। बाहिर राति वास बस्ने गरी पनि साथीहरूसँग निस्कन्थिन्। कार्यक्रमहरूमा हिंडिराख्थिन्। तर कुकुरको स्याहारमा लागेयता उनी आजसम्म वास बस्ने गरी घुम्न गएकी छैनन्। सबै समय यिनमै खर्चेकी छिन्। भन्छिन्, “म बाहिर राति बस्नै सक्दिनँ, दिउँसो पनि कतै गएँ भने मेरा यी बच्चाहरूलाई सम्झन थाल्छु।”
हामीले उनलाई सोध्यौं, कुकुरलाई खाना खुवाउँदा कति खर्च लाग्छ?
उनी यसको हिसाब नै नराखेको बताउँछिन्। उनका अनुसार कुकुरको खानाका लागि महीनामा १२ बोरासम्म चामल लाग्छ। मासु एकैचोटि ४०/५० किलो मगाउँछिन्। उनी भन्छिन्, “हामी खाना खाँदा कति खायौं भनेर हिसाब गर्दैनौं, यिनीहरूले खाएको पनि के हिसाब राख्नु भन्ने लाग्छ। मेरो क्षमताले भ्याएसम्म उनीहरूलाई खाना खुवाइराख्छु।”
परिवार नै प्रेमिल
सुनिताले घरमा पालेका कुकुरहरू बेवारिसे र घाइते अवस्थामा विभिन्न ठाउँमा भेटेर ल्याएकी हुन्। कुनै तातोपानीले छाला खुइलिएका थिए, कुनै छाउरा छँदै सडकमा फालिएका थिए।
उनको घरमा पहिलो कुकुर भने उनकी छोरीले ल्याएकी थिइन्। सडकमा फालिएको अवस्थामा उद्धार गरिएको थियो उसको। नाम राखियो, सिन्चु। आफैंले ल्याएको कारण उनकी छोरीको विशेष प्यारो थियो।
केही महीनाअघि बितेको उसलाई सम्झिराख्छिन् सुनिता। भन्छिन्, “अलि छुचो थियो, तर मान्छे जस्तै थियो। गुन्द्रुकको झोल, अकबरे खुर्सानी खान्थ्यो। बिहान घरका सबैलाई उठाउँथ्यो, घरमा आएको पत्रिका लगेर दिदीलाई दिन्थ्यो।”
छोरी जस्तै सानोमा उनी पनि बाटोबाट कुकुर र बिरालोको बच्चा उठाएर घर लैजान्थिन्। तर आमालाई कुकुर मन पर्दैनथ्यो। जहाँबाट ल्याएको हो त्यहीं पुर्याइदिन भन्थिन्। तर उनको जिद्दीको अगाडि आमाको जोर चल्दैनथ्यो। उनी मन खोलेर कुकुरसँग खेल्थिन्, खानेकुरा दिन्थिन्।
त्यसरी पहिलेदेखि अहिलेसम्म कुकुरलाई निरन्तर माया दिएको देखेपछि पछिल्लो समय आमाको मन पनि बदलिएको उनी बताउँछिन्।
“जसरी मैले कुकुरलाई माया गरें, त्यो देखेर आमालाई पनि माया लागेको हो कि। अचेल त मैलेभन्दा पनि बढी उहाँहरूले माया गर्नुहुन्छ,” दंग पर्दै सुनाउँछिन्।
कुकुर हेरचाहको काममा परिवारबाट उनले भरपूर सहयोग पाइरहेकी छिन्। उनका श्रीमान् हङकङमा बस्छन्। तर कुकुर स्याहार्ने काम छाड्न नसकेर उनी श्रीमान्लाई भेट्न पनि गएकी छैनन्। “यसमा उहाँ रिसाउने र टिप्पणी गर्ने कहिले पनि भएन,” उनी भन्छिन्।
बाटोघाटोमा कसैले कुकुरलाई ढुंगा र लात्ती हानेको देख्दा उनको मन चसक्क हुन्छ। उनलाई आफ्नै सन्तानलाई थिचोमिचो गरे जस्तै लाग्छ। कुकुर पिट्नेलाई सम्झाउँछिन्।
आदिम समयदेखि मानिसप्रति निर्भर प्राणी हो, कुकुर। मानिसको पहिलो घरपालुवा जनावर यही हो। यही कारण हजारौं वर्षदेखि कुकुर हाम्रो साथीका रूपमा रहँदै आएको छ। बोलेर भावना व्यक्त गर्न नसक्ने र माया खोज्ने यस्तो अबोध प्राणीलाई किन हेला गरेको होला भन्ने लाग्छ सुनितालाई।
“खान नपाएर आएको भन्दै कुकुरलाई छि:छि: दूरदूर गरिए पनि खासमा तिनीहरू मायाका भोका हुन्छन्, माया दिन कन्जुस्याइँ किन गर्नु?” कुकुर नरुचाउनेलाई उनी आग्रह गर्छिन्, “मन छैन वा सक्नुहुन्न भने बरु खान नदिनुस्, तर माया गर्नुस्। माया दिन सक्नुहुन्न भने पनि घृणा र कुटपिट चाहिं नगरिदिनुस्।”
मायाले बदलिएको टोलसमाज
सुनिताले सडकमा कुकुरलाई खाना दिंदा पहिले टोलछिमेकका मानिसहरू ‘यहाँ भात नदेऊ, फोहोर हुन्छ’ भन्थे। तर उनले बेसहारा प्राणीलाई अनवरत नि:स्वार्थ माया गरेको देखिरहेपछि छिमेकीहरूमा पनि परिवर्तन आउन थालेको छ। पहिले कराउने मानिसहरू अचेल आफै कुकुरलाई खाना दिने, पानी राखिदिने गर्छन्।
उनको काम देखेर साथीसँगीको व्यवहारमा पनि सकारात्मक बदली आएको छ। खुशी साट्छिन्, “दिदीबहिनीहरू पनि कति कुकुर कुकुर भनिराख्छे भनेर झर्को मान्थे, अहिले उनीहरू ‘बाटोमा कुकुर देखेपछि तिम्रो याद आउँछ र बिस्कुट किनेर दिन्छु’ भन्छन्।”
उनले खाना खुवाउने भएकाले ती सडक कुकुरलाई छरछिमेकीले उनकै कुकुर भनेर चिन्छन्। त्यसैले तिनको दायित्व र जोखिमको पाटो उनैले बोक्ने गरेकी छिन्। सबै कुकुरलाई हरेक वर्ष रेबिज विरुद्धको भ्याक्सिन लगाउँछिन्। साथै, बन्ध्याकरण पनि गराएकी छिन्। त्यसैले उनको टोलमा नयाँ कुकुर थपिएका छैनन्।
विदेशी कुकुर भित्रिंदासम्म सडक कुकुर रहिरहने र तिनले हेला भोगिरहने उनको बुझाइ छ। हेला भोग्लान् भन्ने पीरले नै कुकुर माग्नेलाई उनले दिने गरेकी छैनन्। भन्छिन्, “आफूले माया गरेर पालेकी छु, उता लगेर कसरी पाल्ने हुन्, कुट्ने हुन् कि भन्ने लाग्छ। महँगा विदेशी कुकुर ल्याए भने लोकललाई हेला गर्न थाल्छन्।”
सुनिताको अबको योजना के छ?
कुकुरको दुनियाँभन्दा पर उनको चाहना र सपना छैन। उनी सुनाउँछिन्, “अहिले भएका नौ वटा कुकुर बाँचुन्जेल पाल्छु, मेरो उमेरका कारण धेरै हेर्न नसक्ने भएकाले थप कुकुर ल्याउँदिनँँ। तर सडक कुकुरलाई हेरचाहको काम निरन्तर गरिराख्छु।”