त्रिशूलीमा हराएका दुई यात्रु भारतमा मृत भेटिए
पहिरोले बगाउँदा त्रिशूली नदीमा खसेका दुई वटा बसमा सवार यात्रुमध्ये दुई जना भारतमा मृत भेटिएका छन्।
भारतको चम्पारण नगाहास्थित नारायणी नदीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दुई वटा शव भेटेको हो। एसएसबीले दुवै शव सशस्त्र प्रहरीलाई बुझाएको छ।
एउटा शव बिहीबार र अर्को शव शुक्रबार बिहान बुझाएको सशस्त्र प्रहरीले जनाएको छ। नेपाल प्रहरी र स्थानीय प्रतिनिधि सहित सशस्त्र प्रहरीको बीओपी त्रिवेणीको टोलीले भारतबाट शव ल्याएको हो।
यीसँगै सिमलताल दुर्घटनामा हराइरहेका यात्रुमध्ये २३ जनाको शव भेटिएको सशस्त्र प्रहरीले जनाएको छ। अझै ३९ जना हराइरहेका छन्। तिनीहरूको खोजी जारी छ।
गत असार २८ गते बिहान साढे ३ बजे काठमाडौंबाट गौर जाँदै गरेको र वीरगन्जबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस सिमलतालमा पहिरोले बगाउँदा त्रिशूली नदीमा खसेका थिए। काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४९५ नम्बरको बसमा २७ जना र वीरगन्जबाट काठमाडौं आइरहेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको बसमा ३८ जना सवार थिए।
गौर जाँदै गरेको बसमा सवार नन्दन दास, जोगेश्वर राय यादव र सुरज गुप्ता त्रिशूलीमा पौडिएर जोगिएका थिए।
हराएका यात्रु र बस खोज्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको छ। तालीमप्राप्त गोताखोरसँगै ५०० सुरक्षाकर्मी खोजबिनमा खटिइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन्।
यो पनि पढ्नुहोस् : सिमलताल दुर्घटनासँग जोडिएका सात कारण