‘अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीति लचिलो हुनुपर्छ’
प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो हुनुपर्ने बताएका छन्।
शुक्रबार नेपाल उद्योग परिसंघका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री ओलीले मुलुकमा देखिएका समस्या समाधान र केही परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको बताएका छन्। आफू यसअघि नै प्रधानमन्त्री बनिसकेकाले पदका लागि मात्रै पुन: जिम्मेवारीमा नआएको बताए। “विद्यमान समस्या समाधान तथा अर्थतन्त्रलाई सुदृढ बनाउनु नै वर्तमान सरकारको प्रमुख ध्येय हो,” ओलीले भन।
निजी क्षेत्रले यो सरकारप्रति आशा र भरोसा राखेर सँगसँगै मिलेर काम गर्नुपर्ने ओलीको भनाइ थियो। उनले करका दर अनुहार हेरेर परिवर्तन गर्न नहुने र गलत नीति लिएका वेला निजी क्षेत्रले विरोध गर्न सक्नुपर्ने बताए। “अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीति कठोर हुनु हुँदैन,” ओलीले भने।
परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले विगत तीन वर्षदेखि शिथिल रहेको अर्थतन्त्र उकास्न सरकारलाई उच्च प्राथमिकताका साथ काम गर्न आग्रह गरे। उत्पादनशील र निर्माण क्षेत्र बढी प्रभावित हुँदा बाह्य क्षेत्र उत्साहजनक भए पनि आन्तरिक अर्थतन्त्र अझै समस्यामा रहेको उल्लेख गर्दै अग्रवालले निजी क्षेत्रको मनोबल बढाउनुपर्नेमा जोड दिए। मौद्रिक नीति मार्फत शिथिल रहेको अर्थतन्त्रलाई चलायमान बनाउनसक्नुपर्ने उनको भनाइ थियो।
परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, पूर्व अध्यक्षद्वय सतिशकुमार मोर र हरिभक्त शर्मा, उपाध्यक्षहरू निर्वाण चौधरी, वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, अमित मोर, भीम घिमिरे, गभर्निङ काउन्सिल सदस्य शिवरतन शारडा, योगेश्वरलाल श्रेष्ठ, बालकृष्ण श्रेष्ठ लगायतले अर्थतन्त्रको विद्यमान अवस्था र सुधारका विषयमा प्रधानमन्त्रीलाई सुझाव दिएका थिए।