एशिया कपमा यूएईसँगै प्रतिस्पर्धा गर्दै नेपाल
एसीसी महिला एशिया कप क्रिकेट अन्तर्गत आज नेपालले पहिलो खेलमा यूएईसँग प्रतिस्पर्धा गर्दै छ।
श्रीलंकाको दाम्बुल्ला इन्टरन्याशनल रंगशालामा नेपाली समय अनुसार दिउँसो २ः१५ बजे नेपाल र यूएईको खेल हुनेछ। इन्दु बर्माको नेतृत्वमा रहेको नेपाली टोलीले तेस्रो पटक प्रतिस्पर्धा गर्न लागेको हो।
यसअघि नेपाल सन् २०१२ र २०१६ मा सहभागी भएको थियो। दुवै प्रतियोगितामा नेपाल पराजित भएको थियो।
नेपाल रहेको समूह ‘ए’ मा यूएईसँगै पाकिस्तान र भारत पनि छन्। समूह ‘बी’ मा बाङ्लादेश, श्रीलंका, मलेशिया र थाइल्यान्ड छन्।
नेपाली टोलीमा कप्तान बर्मा सहित रुबिना क्षेत्री, सीता राना मगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ र पूजा महतो छन्। त्यस्तै, डली भट्ट, बिन्दु रावल, रोमा थापा, कृतिका मरासिनी, सबनम राई र राजमती ऐरी टोलीमा सहभागी छन्।