कांग्रेस र लोसपा मधेश सरकारमा सहभागी, पाँच मन्त्रीले लिए शपथ
नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि मधेश प्रदेश सरकारमा सहभागी भएका छन्।
मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कांग्रेस र लोसपाबाट पाँच मन्त्री थपेका छन्। कांग्रेसबाट रौतहटका सुनील यादव अर्थ, पर्साका जनार्दन सिंह क्षेत्री भूमि व्यवस्था, कृषि तथा सहकारी, धनुषाका शेषनारायण यादव ऊर्जा, सिंचाइ तथा खानेपानी र सर्लाहीका कौशलकिशोर राय श्रम तथा यातायातमन्त्री बनेका छन्।
त्यस्तै, लोसपाबाट महोत्तरीकी रानी शर्मा तिवारी शिक्षा तथा संस्कृतिमन्त्री बनेकी छन्।
नवनियुक्त मन्त्रीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहीबार साँझ आयोजित विशेष समारोहमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पाँचै जना मन्त्रीलाई शपथ खुवाएकी हुन्।
मुख्यमन्त्री सिंहले विश्वासको मत लिए लगत्तै मन्त्रिपरिषद् विस्तारको तयारी भएको थियो। तर कांग्रेस र जनमत पार्टीबीच अर्थ मन्त्रालयका विषयमा सहमति नजुट्दा ढिलाइ भएको थियो।
मुख्यमन्त्री सिंहले अर्थ मन्त्रालय आफ्नै पार्टीसँग राख्न खोजेका थिए। कांग्रेसले अर्थ मन्त्रालय नपाए सरकारमा नजाने अडान लिएको थियो। अन्तत: मुख्यमन्त्री सिंह कांग्रेसलाई अर्थ मन्त्रालय दिन तयार भएपछि सहमति जुटेको हो।