नेपाललाई २३ वर्षमा झन्डै दुई खर्ब सहयोग गरेको यूएसएडको दाबी
संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (यूएसएड)ले नेपाललाई पछिल्लो २३ वर्षमा झन्डै दुई खर्ब रुपैयाँ सहयोग गरेको जनाएको छ।
सन् २००० यता मात्रै १.५ अर्ब अमेरिकी डलर अर्थात् एक खर्ब ९६ अर्ब रुपैयाँ बराबरको सहयोग गरेको यूएसएडले जनाएको छ। यूएसएडले सञ्चालन गरिरहेको कार्यक्रमका विषयमा जानकारी दिन बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा संस्थाले नेपालको विकासका लागि स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, आर्थिक वृद्धि, महिला तथा बालबालिकाको सशक्तीकरण, मानवीय सहायता, सुशासन, वातावरण, नागरिक समाज र सञ्चार तथा व्यवसाय विकासका क्षेत्रमा यो रकम खर्च भएको उल्लेख गरेको छ।
कार्यक्रममा यूएसएडको नेपालका लागि कार्यवाहक निर्देशक बेथ होगनले स्थानीय समस्यालाई स्थानीय स्तरमै समाधान गर्न यी कार्यक्रम सञ्चालनमा गरिएको बताइन्। शिक्षा, स्वास्थ्य, लोकतन्त्र, अधिकार र सुशासन, आर्थिक वृद्धि एवं वातावरण र विपद् न्यूनीकरण गरी पाँच मुख्य क्षेत्रमा यूएसएडले गरिरहेका कार्य पारदर्शी भएको बताइन्। उनले नेपालका संस्थाहरू खासगरी स्थानीय तहलाई बलियो बनाउन यूएसएडले सहयोग गरिरहेको जानकारी दिइन्।
यूएसएडले सन् २०२३ मा मात्रै शिक्षा, स्वास्थ्य र आर्थिक वृद्धिका कार्यक्रम मार्फत १० लाखभन्दा बढी महिलाको जीवनमा प्रत्यक्ष योगदान पुर्याएको र ५० लाख महिलामाझ अप्रत्यक्ष रूपमा आफ्ना कार्यक्रम पुगेको जनाएको छ। त्यसैगरी, पाँच वर्षमुनिका ११ लाखभन्दा बढी बालबालिकालाई पोषण सम्बन्धी कार्यक्रम मार्फत सहयोग गरेको पनि संस्थाले उल्लेख गरेको छ।
सन् २०२३ मा एक करोड २४ लाख नागरिकलाई मतदाता र नागरिक शिक्षा प्राप्तिका लागि सहयोग गरेको, ६ करोड ३० लाख अमेरिकी डलर मूल्यको कृषि उत्पादनको बिक्री गर्न किसान र साना उद्यमीलाई सहयोग गरेको पनि संस्थाको दाबी छ। अहिले नेपाल सरकारलाई दुई अर्ब ४० करोड अमेरिकी डलर मूल्य बराबरको एक हजार २०० मेगावाट विद्युत् उत्पादन गर्ने ११ जलविद्युत् परियोजनालाई अन्तिम रूप दिन मद्दत गरिरहेको जनाइएको छ।
सन् १९६१ देखि यूएसएडले नेपालमा सहयोग गर्दै आएको छ। नेपालको दक्षिणी भागबाट मलेरिया उन्मूलन, पोलियो थोपा वितरण लगायत काममा यसले सहयोग गरेको छ। नेपालमा साक्षरता दर बढाउन, बाल मृत्युदर उल्लेखनीय रूपमा घटाउन, औसत आयु बढाउन पनि लगानी गरिएको संस्थाको दाबी छ।
संस्थाले पछिल्लो १३ वर्षमा कृषि क्षेत्रमा मात्रै १८ करोड अमेरिकी डलर अर्थात् अहिलेको मूल्यमा २४ अर्ब रुपैयाँको सहयोग गरेको र आठ लाख किसानको जीवनस्तर सुधार गरेको जनाएको छ। कृषि क्षेत्रमा दाता र नेपाल सरकारले ठूलो रकम खर्च गरेको दाबी गरे पनि देशको कृषि उत्पादन र उत्पादकत्वमा उल्लेख्य सुधार आउन सकेको छैन।
उदाहरणका लागि प्रमुख कृषि बाली धानको उत्पादकत्व दोब्बर हुन ६३ वर्ष लागेको छ। सन् १९६० तिर नेपालको धानको उत्पादकत्व प्रतिहेक्टर १.९ मेट्रिक टन रहेकामा सन् २०२३ मा आइपुग्दा ३.८ मेट्रिक टन मात्रै छ। अन्य कृषि बालीको उत्पादकत्वमा पनि सामान्य सुधार मात्रै आएको छ। देशका अधिकांश किसानको आर्थिक स्थिति निकै कमजोर छ।
यूएसएडले सन् २०२२ यता पाँच वर्षका लागि ६५ करोड ९० लाख अमेरिकी डलर अर्थात् अहिलेको मूल्यमा ८७ अर्ब ६५ करोड रुपैयाँ बराबरका कार्यक्रम सञ्चालन गरिरहेको छ। यी कार्यक्रममध्ये नेपाल सरकारको बजेट प्रणाली मार्फत कार्यान्वयन हुने गरी ४० प्रतिशत र विभिन्न संस्था, गैरसरकारी संस्था आदि मार्फत कार्यान्वयन हुने गरी ६० प्रतिशत कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिइएको छ।
नेपालमा सञ्चालित अन्तर्राष्ट्रिय संस्थाले ठूलो रकम सहयोग गरेको दाबी गरे पनि प्रतिफल भने कमजोर रहेको भन्दै आलोचना हुने गर्छ। यस्ता संस्थाको ठूलो रकम परामर्श, प्रशासनिक खर्च आदिमा जाने कारणले गर्दा आमनागरिकको जीवनस्तर सुधारमा निकै थोरै मात्रै पुग्ने गरेको छ।