तीन लाखमा खुलेको उद्योगको तीन करोडको कारोबार
चितवनकी बुद्धिमाया घलेले आठ वर्षअघि तीन लाख रुपैयाँमा खोलेको हस्तकला उद्योगले अहिले तीन करोड रुपैयाँको कारोबार गरिरहेको छ।
कक्षा ७ को पढाइपछि बुद्धिमाया घलेले स्कूल जान पाइनन्। पढ्ने रहन त थियो तर अवस्था थिएन। बरु माइती नेपालले गाउँमा गठन गर्ने समूहमा आबद्ध भइन्। सामाजिक क्रियाकलापमा सक्रिय हुन थालिन्।
समूह मार्फत महिला बेचबिखन विरुद्ध सचेतना जगाउने काममा लागिन्। त्यही क्रममा बेचबिखनमा परेका महिलाको उद्धारका लागि भारतसम्म पुगिन्। गाउँमै र देशका अन्य भागमा पनि हिंसाका घटनामा महिलालाई न्याय दिलाउन सक्रिय भइन्। “हरदिन अदालत र प्रहरी धाउँदै फुर्सद हुँदैनथ्यो,” घले सम्झन्छिन्।
हिंसामा परेका महिलासँग दैनिक हुने कुराकानीले उनलाई पनि पीडा हुन थाल्यो। कतिपय घटनाले पिरोल्थ्यो। “महिला दिदीबहिनीका पीडा देख्दा, सुन्दा दुःख लाग्थ्यो, दुःखी बनाउँथ्यो,” उनी भन्छिन्, “कहिलेकाहीं त अर्कै काम गर्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो।”
यो २०५७ सालतिरको समय हो। त्यही वेला राष्ट्रिय प्रकृति संरक्षण कोषले चर्खा माफत ऊन कात्ने तालीम दियो। उनी पनि तालीममा सहभागी भइन्। केही वर्ष सिकाइमै बिते।
२०६२ सालदेखि बिक्री गर्ने गरी हस्तकलाका सामान बनाउन थालिन्। यसरी उत्पादन गरिएका सामानलाई व्यवस्थित रूपमा बजारसम्म पुर्याउन र थप तालीम सञ्चालन गर्न संस्था चाहिने भयो। त्यसका लागि २०७३ सालमा विकास महिला हस्तकला प्रशिक्षण केन्द्र स्थापना भयो। “महिलालाई सीप सिकाउन र हस्तकलाका सामान उत्पादन गर्न प्रशिक्षण केन्द्र शुरू गरिएको हो,” उनी भन्छिन्।
स्थानीय महिलालाई तालीम दिनेसँगै सरसामान पनि उत्पादन हुन थाले। थप व्यवस्थित बनाउन दर्ता गर्नुपर्ने भयो। कालिका नगरपालिका-२, पदमपुरमा स्थापना भएको यो उद्योग कालिका नगरपालिका र घरेलु कार्यालयमा दर्ता भयो। “राम्रो हुँदै गयो, यसको नाम पनि परिवर्तन गरें, बीएम हस्तकला प्रशिक्षण उद्योग बनाएँ,” घले भन्छिन्।
३७ वर्षीया घलेले सञ्चालन गरेको उद्योगमा अहिले ६०० परिवार प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएका छन्। उद्योगबाट सीप सिकेर आफूलाई स्वरोजगार बनाउने महिलाको संख्या ६०२ पुगेको छ भने पाँच जना पुरुष छन्। “घरमा खेर गएको सामान जसलाई सबैले फोहोर भनेर पन्छाउँछन्, हामी त्यसैबाट उपहार बनाउँछौं,” उनी भन्छिन्, “कुखुराको प्वाँख, मिनरल वाटरका बोतल, प्लास्टिक, धागोको टुक्राबाट सजावटका सामान बन्छन्।”
यस उद्योगमा ३९९ जना महिला चर्खा मार्फत ऊन कातेर ढाका बनाउँछन्। त्यस्तै, १५० जनाले गलैंचा बुन्छन्। उपहार सामग्री बनाउने २० जना छन्। विपन्न परिवारका १६ जना महिलाले ढाकाका कपडा तयार पार्छन् भने १५ जनाले शपिङ ब्याग बनाउँछन्। “उद्योग शुरू गर्दा १० जना थिए, अहिले ६०० जना आबद्ध छन्,” उद्योग सञ्चालक घले भन्छिन्, “तीन लाख रुपैयाँ लगाएर शुरू गरेको उद्योगले अहिले तीन करोड रुपैयाँको कारोबार गरिरहेको छ।”
दाउरा बेच्न छोडेर स्वरोजगार
चितवनका आर्थिक अवस्था कमजोर भएका परिवारका महिला वनबाट दाउरा खोजेर नारायणगढ र टाँडीमा बेच्ने गर्थे। दाउरा बिक्री नभएको दिन खानेकुराको जोहो गर्न मुश्किल हुन्थ्यो। आर्थिक अवस्था राम्रै भएको परिवारमा पनि महिलाले सम्मान पाउँदैनथे। “श्रीमान्को कुटपिट, परिवारजनको हेपाइ कत्ति हो कत्ति,” उनको अनुभव छ, “पैसा नहुँदा महिलाको मानसम्मान नै नहुने रहेछ।”
वनबाट दाउरा खोजेर बेच्ने महिलालाई उद्योगसँग जोड्न खोजिन्। उनीहरूलाई सीप सिकाइन्। घरबाट वन र वनबाट घर मात्रै गरेका महिलालाई समूहमा संगठित हुन, सीप सिक्न पनि शुरूआतमा उनीहरूको परिवारबाट सहयोग नमिलेको उनी सुनाउँछिन्। “महिला पनि चासो राख्दैनथे, धेरै मिहिनेत गरेर उद्योगबारे बुझाएँ,” घले भन्छिन्, “अहिले त ७० वर्षीया आमा पनि हामीसँगै काम गर्नुहुन्छ।”
वनबाट दाउरा खोजेर बेच्ने गरेका महिला अहिले धागोबाट विभिन्न सामग्री बनाउँछन्। खेर गएका सामग्रीबाट सौन्दर्य तथा उपहार दिने चिनो बनाउँछन्। दाउरा बेचेर दैनिक डेढ सय रुपैयाँसम्म कमाउनेहरूले अहिले मासिक ३० हजार रुपैयाँसम्म कमाइरहेको घले बताउँछिन्। घरैमा बसेर फुर्सदमा काम गर्नेहरू पनि महीनाको कम्तीमा आठ हजार रुपैयाँ आम्दानी गरिरहेका छन्।
घरको उत्पादन विदेश निर्यात
हस्तकलाका सामग्री बनाउन उद्योगले स्थानीय महिलालाई कच्चा पदार्थ उपलब्ध गराउँछ। त्यसपछि तयारी सामग्री खरीद गरिदिन्छ। कच्चा पदार्थ चीनबाट आयात हुन्छ। ऊन कात्ने, बुन्ने, गलैंचा तयार गर्ने मशिन र सामान पनि उद्योगले नै दिन्छ।
उनीहरूले तयार पारेका ऊनी सामग्री, गलैंचा, सजावटका सामग्री, ढाकाका कपडा, शपिङ ब्याग लगायत सामान उद्योगले खरीद गर्छ। यी सामान नेपालसँगै विदेश पनि पठाउने गरेको सञ्चालक घले बताउँछिन्। “चीन, भारत, जापान लगायत १० भन्दा बढी मुलुकमा सामान निर्यात गर्छौं,” उनी भन्छिन्।
यसरी सामान उत्पादन गर्दा निस्केको फोहोर, जस्तो- धागाको टुक्रा, गलैंचाको धूलो, भेडाको भुत्ला लगायत पनि खेर जाँदैन, उद्योगले जोखेर लिन्छ। सिरक तथा डसना बनाउन धूलो पनि बिक्री हुन्छ। “पैसा पाइने भएपछि फोहोर पनि कसैले फाल्दैनन्, जतन गरेर उद्योगमा ल्याउँछन्,” सञ्चालक घले भन्छिन्।
सिक्दै-सिकाउँदै
किशोरावस्थामै पढाइ छोडेपछि उनलाई लागेको थियो, अब स्कूल जान पाउँदिनँ होला। जब उद्योगबाट आर्थिकसँगै सामाजिक प्रतिष्ठा कमाउँदै गइन्, त्यसपछि भने फेरि स्कूल भर्ना भइन्।
स्कूल छोडेको दशकपछि कक्षा ८ मा भर्ना भएकी उनले हालै कक्षा १२ को पढाइ पूरा गरेकी छन्। “स्कूलको पढाइ पूरा गर्नु जस्तो खुशी केही भएन,” उनी भन्छिन्।
यससँगै उनलाई पुरस्कार र सम्मानले पनि खुशी थपेको छ। २०७६ सालमा बागमती प्रदेश सरकारबाट महिला उद्यमीको पुरस्कार प्राप्त गरिन्। त्यसमा उनी प्रदेशकै उत्कृष्ट काम गर्ने दोस्रो उद्यमी बनिन्।
२०७८ सालमा संघीय सरकारले पुरस्कृत गर्यो। उद्योग तथा वाणिज्य विभागले उद्योग दिवसको अवसरमा बागमती प्रदेशको उत्कृष्ट घरेलु उद्यमी पुरस्कारबाट सम्मानित गरेको थियो।
अब उनको ध्याउन्न उद्योगलाई विस्तार गर्ने र जतिसक्दो धेरै महिलालाई स्वरोजगार बनाउने भन्ने छ। अर्को वर्षसम्म सीपयुक्त जनशक्ति बढाएर दुई हजार पुर्याउने लक्ष्य राखेको घले बताउँछिन्।
चितवनमा मुख्य कार्यालय रहेको उद्योगको हाल काठमाडौंमा शाखा कार्यालय छ। यस वर्षभित्र धादिङ, मकवानपुर, सर्लाही र महोत्तरीमा शाखा कार्यालय खोल्ने तयारी रहेको उनी बताउँछिन्। घले भन्छिन्, “एक वर्षभित्र सात वटा शाखा कार्यालय खोलेर दुई हजार जनालाई रोजगारीमा जोड्ने योजना छ।”
नेपाली उद्यम शृंखलाका थप सामग्री :