प्रि-मनसुनमा तापक्रम बढेसँगै नेपालमा कीर्तिमानी गर्मी
तापक्रम बढेसँगै यस वर्षको प्रि-मनसुनको अवधिमा नेपालमा कीर्तिमानी गर्मी रेकर्ड भएको छ।
नेपालले गएको प्रि-मनसुनका वेला अभूतपूर्व गर्मीको अनुभव गर्यो। जल तथा मौसम विज्ञान विभागको भर्खरैको प्रतिवेदनले गत मार्चदेखि मेसम्म तीन महीना (फागुन १८ देखि जेठ १८ गतेसम्म)मा अधिकांश स्थानमा सामान्यभन्दा माथिको तापक्रम र औसतभन्दा कम वर्षा भएको देखाएको छ। यसले जलवायु परिवर्तनको सम्भाव्य असरको संकेत गर्छ।
प्रि-मनसुनमा नेपालभरका सात वटा मौसम स्टेशनले दैनिक अधिकतम तापक्रमको यसअघिको रेकर्ड तोडेका छन्। अर्थात् यी क्षेत्रमा यस वर्षको प्रि-मनसुनको अवधिमा रेकर्ड गरिए जति तापक्रम यसअघि कहिल्यै रेकर्ड भएको थिएन।
सबैभन्दा उल्लेखनीय उदाहरण भक्तपुरको चाँगुनारायण हो, जहाँ ३१ मेमा अधिकतम तापक्रम ३४.४ डिग्री सेल्सियस पुगेको थियो। यसअघि सन् २०१५ को ६ जूनमा चाँगुनारायणको तापक्रम ३३.६ डिग्री सेल्सियस रेकर्ड भएको थियो।
कैलालीको टीकापुरमा गत ३० मेमा अधिकतम तापक्रम ४५.२ डिग्री सेल्सियस पुग्यो, यसअघि १३ जून २०१२ मा अधिकतम तापक्रम ४५ डिग्रीसम्म रेकर्ड भएको थियो। सिन्धुपाल्चोकको चौतारा र सुनसरीको धरान बजार, खोटाङको दिक्तेल, सर्लाहीको कर्मैया, बैतडीको पाटनमा पनि अधिकतम तापक्रम नयाँ उचाइमा पुगेको थियो।
बाँके, कपिलवस्तु, रुपन्देही, मोरङ लगायत तराईका जिल्लामा अप्रिलदेखि मेको अन्तिम सातासम्म कैयौं दिन तापक्रम ४० डिग्री सेल्सियस नाघेकाले नेपालको दक्षिणी क्षेत्र विशेष प्रभावित भएको थियो। कैयौं स्थानमा हल्कादेखि गम्भीर तातो लहरको अवस्था निम्तिएको थियो, जसले आर्थिक अवस्था कमजोर भएको जनसंख्यालाई बढी जोखिममा पारेको थियो।
विभागका अनुसार प्रि-मनसुनको अवधिमा देशभरिका अधिकांश स्थानमा अधिकतम र न्यूनतम दुवै तापक्रम सरदरभन्दा बढी थियो। अधिकतम र न्यूनतम दुवै तापक्रम बढ्दा गर्मी अनुभूति हुन्छ।
देशको उत्तरी क्षेत्र चिसो रहे पनि सामान्यभन्दा बढी तापक्रम अनुभव भयो। यद्यपि गण्डकी र बागमती प्रदेशका उत्तरी भूभागमा भने विगतको सरदरको तुलनामा यस वर्ष केही कम अधिकतम तापक्रम देखियो। प्रि-मनसुनको अवधिमा रौतहटको गौरमा विगतको औसतको तुलनामा यस वर्ष ३.४ डिग्री सेल्सियससम्म बढी तापक्रम रेकर्ड हुन पुग्यो।
मनसुन अवधि शुरू भइसकेपछि समेत कैयौं स्थानमा अभूतपूर्व तापक्रम रेकर्ड भएको छ। जस्तै- गत असार १ मा काठमाडौंको अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस रेकर्ड भयो, यो पछिल्लो २५ वर्षयताकै उच्च थियो।
सन् २०२३ चार दशकयताकै सर्वाधिक तातो वर्षमध्येको एक बन्न पुगेको थियो। त्यस वर्ष नेपालको वार्षिक औसत अधिकतम तापक्रम २७.९ डिग्री सेल्सियस पुगेको थियो। नेपालका एक दर्जन स्थानमा उच्च तापमानको रेकर्ड भंग भएको थियो। विभागको तथ्यांक अनुसार सन् २०२३ मा नेपालको वार्षिक औसतभन्दा अधिकतम तापक्रम ०.६ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ०.५ डिग्री सेल्सियसले बढी मापन गरिएको थियो। यस वर्ष संसारभर उच्च तापक्रम मापन भएको थियो।
पछिल्लो समय तापक्रमको बढ्दो प्रवृत्ति संसारभरि चिन्ताको विषय बनिरहेको छ। खासगरी, नेपाल जस्ता जोखिमयुक्त देशमा यसले विविध पारिस्थितिक प्रणालीमा असर पुर्याउने र कृषिमा निर्भर अर्थतन्त्रमा दूरगामी नकारात्मक परिणाम ल्याउँछ।
गत प्रि-मनसुनको अवधिमा तापमान बढेको मात्रै होइन, सामान्यभन्दा पानी समेत कम पर्यो। विभागका अनुसार यस अवधिमा औसतका तुलनामा ८०.९ प्रतिशत मात्रै पानीको परेको थियो। कम वर्षा सँगसँगै देशका अधिकांश भागमा खडेरीको अवस्था सिर्जना भयो। बागमती, मधेश र कर्णाली प्रदेशका केही भागले चर्को खडेरी महसूस गरे भने अन्य क्षेत्रमा मध्यम स्तरको खडेरी पर्यो।
खासगरी, देशको पश्चिमी भागमा थोरै मात्र पानी पर्यो। गत हिउँद पनि देशैभरि सुक्खाप्रायः बितेको थियो। हिउँदका तीन महीनामा सरदरको २१ प्रतिशत मात्रै पानी परेको थियो।
जलवायु परिवर्तन देखिने तापक्रम र पानीको आँकडामा आएको फेरबदलले जनजीविकामा परिरहेको असरलाई संकेत गर्छ। पछिल्ला वर्षहरूमा वर्षा यामपूर्वको अवधिमा कम पानी पर्ने प्रवृत्ति देखिंदै आएको छ। यसले हिउँदे बालीको उत्पादनलाई असर गरेको छ। उच्च तापक्रम र कम वर्षाले पानीको अभाव निम्त्याएको छ भने यसले कृषि र जलविद्युत् उत्पादन दुवैलाई असर गरिरहेको छ। अत्यधिक गर्मीले कैयौं घातक स्वास्थ्य जोखिम पनि निम्त्याउने गरेको छ।
बढ्दो तापक्रमसँग जुध्नुपर्ने अवस्थामा नेपालमा जलवायु परिवर्तन अनुकूल रणनीतिको आवश्यकता बढ्दो भए पनि यसमा अपेक्षित काम हुन सकेको छैन। यसले गर्दा विपन्न र कृषिमा आधारित समुदाय बढी जोखिममा पर्दै आएका छन्।