व्यवसायी अम्बिका श्रेष्ठको निधन
काठमाडौंको बत्तीसपुतलीस्थित द द्वारिकाज् होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ।
व्यवसायी श्रेष्ठको बिहीबार ९२ वर्षको उमेरमा निधन भएको हो। ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको परिवारजनले बताएका छन्।
श्रेष्ठ निमोनिया र बाथरोगबाट पीडित थिइन्। दुई महीनायता मेडिसिटी अस्पतालमा उनको उपचार चलिरहेको थियो।
उनी हिमालमिडिया प्रालिको संस्थापक अध्यक्ष पनि हुन्। त्यस्तै, उनी स्पेनका लागि अवैतनिक महावाणिज्यदूत भएकी थिइन्।
१९८९ सालमा भारतको सिक्किममा जन्मिएकी श्रेष्ठले २०१२ सालमा द्वारिकादास श्रेष्ठसँग विवाह गरेकी थिइन्। श्रीमान्को निधन भएपछि उनले व्यवसाय सम्हालेकी थिइन्।
साढे ६ दशकदेखि होटल तथा पर्यटन व्यवसायमा संलग्न श्रेष्ठले ३३ वर्षदेखि पूर्ण रूपमा द्वारिकाज् होटल सम्हाल्दै आएकी थिइन्।
उनले धुलिखेलमा पनि होटल सञ्चालन गरेकी थिइन्। साथै, ट्राभल एजेन्सी पनि चलाउँदै आएकी थिइन्।
शनिबार पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिने जनाइएको छ।