सिमलताल दुर्घटनासँग जोडिएका सात कारण
चितवनको सिमलतालमा दुई वटा यात्रुवाहक बस बग्ने गरी आएको पहिरोलाई विज्ञहरूले सरोकारवालाको लापरवाहीसँगै जलवायु परिवर्तनसँग जोडेका छन्।
नवनियुक्त गृहमन्त्री रमेश लेखकले पदभार ग्रहण गरेलगत्तै पहिलो निर्णय गरे, सिमलताल पहिरोको अध्ययन गर्न कार्यदल गठन। गृह मन्त्रालयका सहसचिव छविलाल रिजालको नेतृत्वमा गठित पाँच सदस्यीय कार्यदल साउन २ मा चितवनको सिमलताल पुगेको छ।
नारायणगढ-मुग्लिन सडक अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालमा गत असार २८ गते बिहान साढे ३ बजे दुई वटा यात्रुवाहक बसलाई पहिरोले बगाएको थियो। पहिरोमा बगेका दुवै बस त्रिशूली नदीमा खसेका थिए। दुवै बसमा चालक सहित ६५ यात्रु सवार थिए।
काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४९५ नम्बरको बसमा २७ जना र वीरगन्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको बसमा ३८ जना सवार थिए। काठमाडौंबाट गौर जाँदै गरेको बसमा सवार नन्दन दास, जोगेश्वर राय यादव र सुरज गुप्ता त्रिशूलीमा पौडिएर जोगिएका थिए।
अध्ययन कार्यदलले साउन २ मा त्रिशूलीमा पौडिएर जोगिएका तीनै जनासँग कुराकानी गरेको छ। उनीहरूले घटनाबारे जानकारी दिएको कार्यदलका संयोजक रिजाल बताउँछन्। यसले अध्ययनका लागि सजिलो भएको उनको भनाइ छ।
दुवै बसमा सवार ६२ यात्रु हराएका थिए। उनीहरूमध्ये साउन ३ गते मध्याह्नसम्म १८ जना मृत भेटिएका छन्। अन्य यात्रुको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ। गोताखोर सहित ५०० जना सुरक्षाकर्मी खोजतलासमा खटिइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव बताउँछन्। “नदीमा पानीको बहाव अत्यधिक बढेको र गण्डक नहर ब्यारेजबाट समेत पानीको बहावले बगाउन सक्ने हुनाले भारतको बिहार राज्यस्थित पश्चिम चम्पारण जिल्लाका डीएमसँग खोज तथा उद्धारका कार्यमा समन्वय गरिरहेका छौं,” यादव भन्छन्।
अध्ययन कार्यदलले पनि सरोकारवाला विभिन्न निकायसँग छलफल तथा घटनास्थलको अनुगमन गरेको छ। “सिमलतालको पहिरो उत्पत्ति भएकै ठाउँसम्म पुगेका छौं,” संयोजक रिजाल भन्छन्, “पहिरो उद्गमस्थलमा खोल्सो छ। चेक ड्याम पनि छन्, तर पुराना भइसकेका छन्।”
सिमलतालको अनुगमन गर्दा ढुंगामाटो खसेको देखिएको उनी बताउँछन्। स्थानीय बासिन्दाले दिउँसो पनि ढुंगामाटो खसेको र डोजरले पन्छाएर यातायात चलाएको बताएका छन्। “माथिबाट ढुंगामाटो सहितको लेदो आएर बस बगाएको देखिन्छ, तर अहिले नै ठ्याक्कै भन्ने सकिने अवस्था छैन,” रिजाल भन्छन्।
अध्ययन टोलीले सिमलताल क्षेत्रको ‘ड्रोन शट’ पनि लिएको छ। माथिल्लो क्षेत्रमा बाटो खनेको छ कि छैन भनेर हेर्न ‘ड्रोन शट’ लिइएको हो। ड्रोनबाट खिचेका तस्वीरको अध्ययन गर्न बाँकी छ।
त्यस्तै, त्यस क्षेत्रमा सडक निर्माण गर्दा वरपरको जमीन हल्लिएर खुकुलो भएको हुन सक्ने उनको भनाइ छ। “त्यो दिन सिमलताल क्षेत्रमा अत्यधिक वर्षा पनि भएको रहेछ,” रिजाल भन्छन्।
यससँगै सडक विभागको टोलीले पनि अध्ययन गरिरहेको छ। सिमलतालसँगै आसपासको क्षेत्रको पहिरोको अध्ययन भइरहेको विभागले जनाएको छ। विभागको टोली विशेष गरेर सडकमा केन्द्रित रहनेछ।
दुवै अध्ययन टोलीको निष्कर्ष त आउला नै, त्यसअघि सिमलताल पहिरोको विषयमा विज्ञहरूसँग विस्तृत कुराकानी गरेका छौं। उनीहरूले सिमलतालमा पहिरो जानुका केही कारण देखाएका छन्।
पहिलो, सडकमाथिको बाटो। जलाधारविद् मधुकर उपाध्या सिमलतालको माथि स्थानीय सरकारले खनेको बाटाको कारण पनि पहिरो गएको बताउँछन्। “बाटो खन्दा निस्केको ढुंगामाटो एक ठाउँमा थुप्रिन्छ। पानी परेपछि गेग्रान (ढुंगामाटो) एकीकृत भएर लेदो बनेर बग्छ,” उपाध्या भन्छन्, “माथिबाट बग्ने लेदो शक्तिशाली हुन्छ। यो जति तल आउँछ, थप शक्तिशाली हुन्छ र क्षति पनि बढी हुन्छ। सिमलतालको फोटो हेर्दा त्यस्तै देखिन्छ।”
भूगर्भविद् श्रीकमल द्विवेदी एउटाले सडक बनाउने र माथि अर्कोले बाटो खनेर ढुंगामाटो थुपार्ने प्रवृत्ति गलत भएको बताउँछन्। यस्तै प्रवृत्तिले देशभरको अवस्था भद्रगोल बनिरहेको द्विवेदीको भनाइ छ। “एकातिर ढुंगामाटो खन्दै जाने, अर्कातिर फाल्ने प्रवृत्ति छ। त्यसको सही व्यवस्थापन गरिएको छैन,” उनी भन्छन्, “स्थानीय सरकारलाई रोक्ने कोही छैन, जे गरे पनि भयो भने जस्तै छ।”
दोस्रो, गेग्रान व्यवस्थापनको अभाव। नारायणगढ-मुग्लिन सडक निर्माणपछि गेग्रान व्यवस्थापन पनि गर्न थालिएको थियो। २०६८ सालदेखि सात वर्ष जल उत्पन्न प्रकोप अन्तर्गत नारायणगढ-मुग्लिन जल उत्पन्न प्रकोप र व्यवस्थापन कार्यक्रम सञ्चालन भएको थियो।
२०७५ सालमा जल उत्पन्न प्रकोप विभाग खारेज भयो। त्यसपछि गेग्रान व्यवस्थापनमा समस्या आएको भूगर्भविद् द्विवेदी बताउँछन्। “सडकको ४० मिटरभन्दा माथि कसले हेर्ने भन्ने स्पष्ट छैन,” उनी भन्छन्, “स्थानीय सरकारले गर्ने कि प्रदेश सरकारले भन्ने यकीन नहुँदा व्यवस्थापनमा समस्या छ।”
त्यति वेला ‘चेक ड्याम’ बनाएर ढुंगामाटो व्यवस्थापन गरिएको थियो। त्यसपछि नारायणगढ-मुग्लिन सडक धेरै समय राम्रोसँग चलेको उनी सुनाउँछन्। “चेक ड्याममा भरिएका गेग्रानको व्यवस्थापन भएन, अहिले पानी पर्दा बगेर पहिरोको रूप लियो,” उनी भन्छन्।
जलाधारविद् उपाध्या पनि माथि थुप्रिएको गेग्रान बगेको बताउँछन्। उनका अनुसार सिमलतालको पहिरो मेलम्चीसँग हूबहू मिलेको छ। मेलम्चीमा पनि माथि थुप्रिएको गेग्रान पानी पर्दा बगेको थियो, जसले गर्दा ठूलो बाढी आएको थियो।
तेस्रो, भल व्यवस्थापनमा समस्या। सिमलताल क्षेत्रमा भल व्यवस्थापन नहुँदा समस्या आएको विज्ञहरूको भनाइ छ। जलाधारविद् उपाध्या लमजुङको उदाहरण दिन्छन्। लमजुङमा भल बग्ने ठाउँ नहुँदा पहिरो गएको उनको भनाइ छ। “सिमलतालको खोल्सीको फोटो हेर्दा पनि पानी एकीकृत भएकाले लेदो आएको देखिन्छ। सबैतिर काटेर खोल्सो एकातिरै बनाएको छ। भल छरिएन। एकीकृत भएर बग्दा वेग पनि बढ्यो,” उनी भन्छन्।
बाटो बनाउँदा भल जाने मार्ग पनि चाहिन्छ। त्यस्तो मार्ग सिमलताल क्षेत्रमा नदेखिएको विज्ञहरू बताउँछन्। भूगर्भविद् द्विवेदी पनि भलबाढीले जोखिम बढाउने बताउँछन्। माथि थुुप्रिएको गेग्रानलाई सुक्खा याममा फाल्न सकिने बताउँदै उनी जनाउँछन्। “चेक ड्याम बनाएर गेग्रान व्यवस्थापन नगर्दा ठूलो पानी पर्दा भलबाढी आउँछ, निकास नहुँदा क्षति पुग्छ,” उनी भन्छन्।
चौथो, अत्यधिक वर्षा। सिमलताल क्षेत्रमा अत्यधिक वर्षा हुँदा पनि यो घटना भएको विज्ञहरूको आकलन छ। जल तथा मौसम विज्ञान विभागले अत्यधिक वर्षा हुने प्रक्षेपण पनि गरेको थियो। भूगर्भविद् द्विवेदी अत्यधिक वर्षाले गर्दा गेग्रान बगेर क्षति हुने अवस्था बनेको बताउँछन्।
“यसअघि पनि पानी पर्दा लेदो आउँथ्यो, बगेर त्रिशूलीमा जान्थ्यो, हामी थाहा पनि पाउँदैनथ्यौं,” उनी भन्छन्, “यस पटक ठूलो पानी पर्दा माथि पहिले नै थुप्रिएको गेग्रान बगायो। लेदो आएको वेला बस पर्यो।”
जलाधारविद् उपाध्या यसलाई मनसुनी चक्रसँग जोड्छन्। जलवायुमा आएको फेरबदलले आजभोलि एकै ठाउँमा ह्वार्र पानी पर्न थालेको उनी बताउँछन्। उनी कञ्चनपुरको उदाहरण दिन्छन्।
यस पटक कञ्चनपुरमा अहिलेसम्मकै धेरै वर्षा भएको थियो। असार २४ गते कञ्चनपुरका दोधारामा ६२४ मिलिमिटर, हनुमाननगरमा ५७३.६ मिलिमिटर र सुन्दरपुरमा ५५५.८ मिलिमिटर वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको थियो। २४ घण्टाको अवधिमा नेपालमा यति धेरै वर्षा यसअघि कहिल्यै रेकर्ड गरिएको थिएन।
कञ्चनपुरमा जति पानी नपरे पनि सिमलताल क्षेत्रमा त्यही प्रकृतिको अत्यधिक वर्षा हुँदा एकाएक ठूलो भलबाढी आएको उपाध्या बताउँछन्। “पानी पर्ने नयाँ चक्रले गेग्रान बगाउँदा भलबाढी बनेर बगायो,” उनी भन्छन्।
पाँचौं, लापरवाही। सिमलताल घटनामा लापरवाही पनि देखिएको सरोकारवाला बताउँछन्। पहिरोले भलबाढी आइरहेको वेलामा ट्राफिक प्रहरीले गाडी चलाउनु दिनु, दुवैतिरबाट दुई वटा बस आउनु पनि लापरवाही रहेको उनीहरूको भनाइ छ। “भलबाढी आइरहेको वेला बस हाल्ने कि नहाल्ने? लेदो बगिरहेको वेला हिंड्ने कि नहिंड्ने? चेतनाको पनि कमी वा लापरवाही देखिन्छ,” द्विवेदी भन्छन्।
जलाधारविद् उपाध्या पनि विपरीत दिशाबाट आएका दुई बस एकै ठाउँमा बग्नुमा लापरवाही पनि देखिने औंल्याउँछन्। “एकै दिशाबाट आएको भए एकपछि अर्को बगेको भन्न सकिन्थ्यो। तर यो त्यस्तो अवस्था होइन,” उनी भन्छन्, “एउटा बस रोकिएर अर्कोलाई पास दिंदै थियो कि?”
छैटौं, पूर्व तयारीको अभाव। सिमलताल घटनालाई मनसुनको अवधिमा अपनाउनुपर्ने पूर्व तयारीको अभावसँग पनि जोडिन्छ। बर्खाको समयमा कहाँ बढी पानी पर्छ भने पूर्व जानकारी गराएर यातायात सञ्चालन गर्न सकिने उपाध्या बताउँछन्। तर सिमलताल क्षेत्रमा पानी पर्ने आकलन गरिएको भए पनि पूर्व तयारी अपनाइएको देखिंदैन।
मनसुनको अवधिमा कहाँ कहिले पानी पर्छ भनेर ट्राफिक प्रहरीलाई जानकारी गराएर यातायात सञ्चालन गर्नुपर्ने उनको भनाइ छ। “बर्खा भर्खर शुरू भएको छ, पहाड गल्ने वेला भएको छैन,” उपाध्या भन्छन्, “थप क्षति हुन नदिन पनि ट्राफिकलाई मौसमबारे पूर्व जानकारी गराएर गाडी चल्ने व्यवस्था मिलाउनुपर्छ।”
सातौं, जथाभावी विकास निर्माण। सिमलताल घटनालाई विज्ञहरूले जथाभावी भइरहेको विकास निर्माणसँग पनि जोडेका छन्। सिमलतालमा पहिले नै खोल्सो रहेको र भीर काटेर सडक निर्माण नगरिएको जलाधारविद् उपाध्या सम्झन्छन्। तर त्यसभन्दा माथि जथाभावी विकास निर्माण गर्दा समस्या आएको उनको बुझाइ छ।
उनी अन्यत्र पनि यस्तै समस्या रहेको बताउँछन्। राजमार्गभन्दा माथि विकास निर्माणका कार्य गर्दा भौगोलिक अध्ययनलाई बेवास्ता गर्ने गरिएको सुनाउँछन्। “राजमार्ग वरपर बस्ती छन्। बाटो खनेर लगिएको छ। वडामा कम बजेटले काम गर्छन्। यसमा भौगोलिक अध्ययन हुँदैन,” उनी भन्छन्।
भूगर्भविद् द्विवेदी पनि सिमलताल घटनालाई जथाभावी विकास निर्माणको परिणामका रूपमा पनि लिन्छन्। अन्यत्र पनि अध्ययन विना बाटो खन्ने लगायत कार्य गर्दा पहिरो गइरहेको उनी बताउँछन्। “अहिलेको जथाभावी विकास निर्माणशैली पनि पहिरोको कारक बनेको छ,” उनी भन्छन्।
उनी अहिलेको सडक निर्माणको अभ्यास बन्द गर्नुपर्ने बताउँछन्। सडक निर्माण गरेर मात्रै नहुने र सुरक्षा जोखिमलाई पनि ध्यान दिनुपर्ने उनको भनाइ छ। द्विवेदी भन्छन्, “नेपाल जस्तो पहाडी मुलुकमा भीर काटेर मात्रै सडक बनाउने कि अन्य विकल्प सोच्ने, बहस गर्ने वेला भएको छ।”