विपद्बाट कोशी प्रदेशमा एक वर्षमा ७७ जनाको मृत्यु
कोशी प्रदेशमा प्राकृतिक विपद्बाट एक वर्षमा ७७ जनाको ज्यान गएको छ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीबाट मृत्यु हुनेको संख्या सबैभन्दा बढी छ। प्रदेशका विभिन्न ११७ स्थानमा बाढीमा परी २२ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएको कोशी प्रदेश प्रहरी प्रवक्ता भीमबहादुर दाहालले बताए।
यसैगरी, प्रदेशका विभिन्न एक हजार ७३१ स्थानमा भएका आगलागीका घटनामा २० जनाले ज्यान गुमाएका छन्। त्यस्तै, आगलागीमा परी १३४ जना घाइते भएका छन्।
प्रवक्ता दाहालका अनुसार जंगली जनावरको आक्रमणबाट १३ जनाको मृत्यु भएको छ भने ५७ जना घाइते भएका छन्। चट्याङ लागेर १३ जनाको ज्यान गएको छ भने ३६ जना घाइते भएका छन्।
यस्तै, पहिरोमा परेर नौ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। प्रदेशभर ४९६ स्थानमा पहिरो गएको छ। एक वर्षमा प्रदेशभर सात हजार ९०८ चौपाया मरेका छन्।