प्रधानमन्त्रीले साउन ६ मा विश्वासको मत लिने, पक्षमा कति सांसद?
प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ मा प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि संघीय संसद् सचिवालयमा पत्राचार गरेको नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले बताए। “प्रधानमन्त्रीले साउन ६ गते विश्वासको मत लिने तय भएको छ,” बर्तौलाले भने।
संविधानको धारा ७६ को उपधारा २ अनुसार ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका हुन्। यस उपधारा अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बनेको प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका ओलीलाई अन्य साना पार्टीले पनि विश्वासको मत दिने भएका छन्। विश्वासको मतको पक्षमा १८५ सांसद देखिएका छन्।
अहिले सरकारमा सहभागी कांग्रेसका ८८, एमालेका ७७, अशोक राई नेतृत्वको जसपाका सात र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का चार सांसद छन्। एमालेबाट सभामुख छन् भने एक जना सांसद निलम्बित छन्।
त्यस्तै, सरकारमा सहभागी नभए पनि उपेन्द्र यादव नेतृत्वको जसपा, नेपालले पनि विश्वासको मत दिने भएको छ। जसपा, नेपालका पाँच सांसद छन्।
नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने जनाएको छ। संसदीय दलका नेता गंगाराम चौधरीले नाउपा सरकारको पक्षमा रहेको बताए।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विश्वासको मत दिने वा नदिने तय भएको छैन। राप्रपा प्रवक्ता मोहन श्रेष्ठले विश्वासको मत दिने वा नदिने भन्नेबारे निर्णय हुन बाँकी रहेको बताए। राप्रपाका १४ सांसद छन्।
अहिले सरकारको विपक्षमा रहेका चार दलका ६४ सांसद छन्। नेकपा (माओवादी केन्द्र)का ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २१ सदस्य, नेकपा (एकीकृत समाजवादी)का १० र राष्ट्रिय जनमोर्चाका एक सांसद छन्।
नेपाल मजदूर किसान पार्टी र आम जनता पार्टीका एक-एक सांसद छन्। दुवै पार्टीले सरकारलाई विश्वासको दिने-नदिने सम्बन्धमा कुनै निर्णय गरेका छैनन्। त्यस्तै, दुई स्वतन्त्र सांसद छन्।