मुक्त कमैया : नयाँ पुस्ताको नयाँ यात्रा
कमैयाबाट मुक्ति पाएपछि पश्चिम तराईको थारू समुदायको नयाँ पुस्ता नयाँ क्षेत्रमा पहिचान बनाइरहेको छ।
दाङका घोराही उपमहानगरपालिका-१६ का मानबहादुर चौधरी पुराना दिन सम्झिन चाहँदैनन्। विगत सम्झिँदा छटपटी मात्रै बढ्छ। “पहिलेको दुःख सम्झेर अहिले दुःखी हुन मन छैन,” उनी भन्छन्, “अहिले आनन्दको जिन्दगी छ, यसैमा खुशी छु।”
२४ वर्षअघि साउन २ मा कमैयाबाट मुक्ति पाएका थिए। ३२ वर्ष अर्काको घरमा बिताएका उनी अहिले आरामले आफ्नै घरमा बस्न पाइरहेको सुनाउँछन्। “काम पनि गर्नुपरेको छैन, सबै कामकाज छोराछोरीले गर्छन्,” उनी भन्छन्।
जेठा छोरा सन्तु चौधरी घर निर्माणमा संलग्न छन्। ठेक्कापट्टाको काम गर्दै आएका उनी अरूलाई पनि रोजगारी दिइरहेका छन्। माइला कर्णबहादुर र कान्छा टीकाराम गाडी चालक छन्। साहिंला छोरा वैदेशिक रोजगारीमा छन्। “सन्तानलाई धेरै पढाउन त सकिनँ, तैपनि आआफ्नो क्षमताले विभिन्न काम गरिरहेका छन्,” मानबहादुर भन्छन्, “मैले जस्तो अर्काको घरमा दास बनेर काम गर्नुपरेको छैन, आआफ्नो क्षेत्रमा राम्रो गरिरहेका छन्।”
कमैया मुक्तिको २४ वर्ष पुगेको छ। यस अवधिमा कमैया बसेको पुस्ता मुक्तिमा रमाइरहेको छ भने नयाँ पुस्ताले विभिन्न क्षेत्रमा नयाँ उडान भरिरहेको छ। नयाँ बाटो हिंडेर आफू त आत्मनिर्भर बनिरहेको छ नै, अरूलाई पनि रोजगारी दिइरहेको छ।
ठेक्कापट्टाको काम गर्दै आएका सन्तुले गाउँका २० जनालाई रोजगारी दिएका छन्। कर्णबहादुर त आफै ढुवानी व्यवसायी बनेका छन्। पहिला अरूको ट्रक चलाउने उनीसँग अहिले आफ्नै ट्रक छ। सानैमा भारततिर लागेका उनी उतै ट्रक चलाउन सिकेको बताउँछन्। “अहिले आफ्नै ट्रक छ, आफै चलाउँछु,” उनी भन्छन्, “मसँगै चालक र मजदूर गरेर आठ जनाले काम पाएका छन्।”
मानबहादुर झैं उनका छिमेकी पनि सुखको सास फेरिरहेका छन्। उनीहरू विगत कोट्याउनै चाहँदैनन्। बरु अहिले बाँचिरहेको सुखको जिन्दगीमै रमाइरहेका छन्।
तीमध्ये एक हुन्, सविता चौधरी। लामो समय जमीनदारको घरमा कमैया बसेकी सविताले छोरा स्वरूप नेपाल प्रहरीमा भर्ना होलान् भनेर कहिल्यै सोचेकी थिइनन्। “अर्काको घरमा काम गर्ने मान्छे! कहाँ ठूलो कुरा सोच्नु नि,” उनी भन्छिन्।
स्वरूपले २०७० सालमा नेपाल प्रहरीमा नयाँ भर्नाका लागि आवेदन दिए। उनले सोचेका थिए- एकपल्ट कोशिश त गरूँ। “पहिलो प्रयासमै नेपाल प्रहरीमा नाम निस्क्यो,” स्वरूप उत्साहित हुँदै भन्छन्, “म प्रहरी भएपछि त गाउँ नै खुशी भयो, गाउँभरि खुशीयाली मनाइयो।”
आमाबुबालाई अर्काको घरमा काम गरेको देखेको मुक्त कमैयाको नयाँ पुस्ता आफ्नै खुट्टामा उभिन संघर्ष गरिरहेको स्वरूप सुनाउँछन्। कतिपयको सफलताले समुदायलाई नै प्रेरित गरिरहेको उनको भनाइ छ। “लेखपढ गरे पनि सरकारी जागीर पाइँदैन होला जस्तो लाग्थ्यो,” स्वरूप भन्छन्, “प्रहरीमा नाम निस्केपछि संघर्ष र मिहिनेत गरेमा सफल भइन्छ भन्ने विश्वास जाग्यो।”
मुक्त कमैयाको नयाँ पुस्ताका युवायुवतीमा अर्काको खेतबारीमा मजदूरी गर्नुभन्दा जागीरे बन्ने प्रवृत्ति देखिएको छ। उनीहरू नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनामा भर्ना भइरहेका छन्। यससँगै सरकारी तथा गैरसरकारी संस्थामा पनि पहुँच बढ्दै गएको छ।
यसका अर्का उदाहरण हुन्, सोन्तली चौधरीका छोराछोरी। कमैयाबाट मुक्त भएपछि मजदूरी गरेर दैनिकी चलाउँदै आएकी सोन्तलीलाई अहिले बिहान उठ्ने बित्तिक्कै काममा जानुपर्ने हतारो छैन। “छोरी सरकारी जागीरे छे,” उनी मुस्कुराउँदै भन्छिन्, “पहिलो मलाई काममा जान हतारो हुन्थ्यो, अहिले उनलाई पठाउन हतारो हुन्छ।”
छोरी सिर्जना चौधरी स्थानीय श्री प्राथमिक विद्यालयमा पढाउँछिन्। जेठा छोरा वैदेशिक रोजगारीमा छन्। फुर्सदको समयमा उनी गरगहनाको व्यवसाय चलाउँछिन्। थारू समुदायका परम्परागत गरगहना बेच्ने गरेको उनी सुनाउँछिन्।
नयाँ पुस्ताका थारू युवायुवती प्राविधिक शिक्षातिर पनि लागेका छन्। नर्स, जेटीए, अमिन, सबओभरसियरतर्फ उनीहरूको आकर्षण बढेको छ। दाङकै गढवा गाउँपालिका-५, गंगापुरका शिवहरि चौधरीका दुई छोरीमध्ये जेठी स्टाफ नर्स छिन् भने कान्छी गैरसरकारी संस्थामा काम गरिरहेकी छन्।
गाउँकै स्वास्थ्य केन्द्रमा कार्यरत सुनीता चौधरी स्थानीय बासिन्दाका लागि प्रेरणा पनि बनेकी छन्। गाउँकै बिरामीको उपचार गर्दा स्याबासी पनि पाइरहेको उनी सुनाउँछिन्। “पहिले त मुक्त कमैयाले के काम पाउलान् र भन्ने लाग्थ्यो,” सुनीता भन्छिन्, “लेखपढ गर्न थालेपछि त परिवर्तन आएको छ, सरकारी सेवामा प्रवेश पाएका छन्।”
दाङमा मात्रै होइन, पश्चिम तराईका बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका मुक्त कमैयाको नयाँ पुस्ताले नयाँ बाटो रोजिरहेको मुक्त कमैया समाज, दाङका अध्यक्ष हरीशचन्द्र चौधरी बताउँछन्। “पुरानो पुस्ताको जीवन मुक्तिको संघर्षमै बित्यो, नयाँ पुस्ताले राम्रो गरिरहेको छ,” हरीशचन्द्र भन्छन्, “सरकारी, गैरसरकारी संघसंस्थामा काम गर्न थालेका छन्, नयाँ कामले आफ्नो पहिचान बनाएका छन्।”
पश्चिम तराईका पाँचै जिल्लामा ४२ हजार मुक्त कमैया छन्। उनीहरूमध्ये ३२ हजार ५०९ जनाले मुक्त कमैयाको परिचयपत्र पाएका थिए। परिचयपत्र पाएका मुक्त कमैयाले सरकारी सेवासुविधा पाएर नयाँ जीवन शुरू गरेका थिए।
तर अझै १० हजार मुक्त कमैयाको लगत छुटेको अध्यक्ष हरीशचन्द्र जनाउँछन्। लगत छुटेकाहरूले परिचयपत्रको अभावमा सरकारी सेवासुविधा पाउन सकेका छैनन्। कतिपयले जग्गा समेत नपाएको उनी गुनासो गर्छन्। उनीहरूको पनि समस्या समाधान गर्नुपर्ने उनको भनाइ छ।
कमैया मुक्तिको २४ वर्ष पुग्दा पनि परिचयपत्र समेत नपाउनु दुःखद भएको अध्यक्ष हरिचन्द्र बताउँछन्। सांसद र भूमि व्यवस्था मन्त्रालयका सचिव सहितको टोलीले दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका मुक्त कमैया शिविर पुगेर कार्यविधि बनाएको उनी बताउँछन्। “सरकारले आफैले बनाएको कार्यविधिलाई बेवास्ता गर्यो,” उनी भन्छन्, “त्यो जस्ताको तस्तै कार्यान्वयन भएमा मुक्त कमैयाको समस्या समाधान हुन्छ।”