घरजग्गा कारोबारमा सुधार, गत वर्ष झन्डै पाँच लाख नामसारी
बितेको वर्ष घरजग्गाको कारोबारमा सुधार देखिएको छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले प्रकाशित गरेको तथ्यांकले गत आर्थिक वर्ष २०८०/८१ मा देशभरिका मालपोत कार्यालयबाट चार लाख ९८ हजार ३२ वटा लिखत पारित भएको देखाएको छ। यो अघिल्लो वर्षका तुलनामा १६ प्रतिशतको वृद्धि हो।
विभागको तथ्यांक अनुसार आव २०७९/८० मा देशभरिका मालपोत कार्यालयबाट चार लाख २९ हजार ४८८ वटा लिखत पारित भएका थिए। यद्यपि विगतको घरजग्गा कारोबार उच्च भएको वेलाका तुलनामा गत वर्ष भएको कारोबार निकै थोरै हो।
आव २०७८/७९ मा देशभरिका मालपोत कार्यालयबाट ६ लाख ७० हजार हाराहारीमा घरजग्गाको लिखत पारित भएका थिए। त्यसभन्दा अघिल्लो वर्ष पाँच लाख ८० हजार वटा कारोबार भएका थिए।
घरजग्गाको मूल्य उच्च अवस्थामा पुगिसकेको तथा नयाँ माग सिर्जना हुने क्रम बढेकाले घरजग्गाको कारोबार विगत वर्षहरूको तुलनामा कम देखिएको हो। खासगरी, ब्यांक तथा वित्तीय संस्थाको कर्जाको ब्याजदर उकालो लागेसँगै र सहकारी क्षेत्रमा देखिएको संकटले घरजग्गाको बजारलाई प्रभावित बनाएको थियो। पछिल्लो समयमा युवा विदेश जाने क्रम बढेसँगै शहरी क्षेत्रमा घरजग्गाको माग पनि घटेको छ।
गत असार महीनामा अघिल्लो महीनाको तुलनामा कारोबार घटेको तथ्यांकले देखाएको छ। गत असारमा ४६ हजार १७९ वटा लिखत पारित भएका थिए। जेठमा भने पारित भएका लिखतको संख्या ६१ हजार १६१ पुगेको थियो। यो पछिल्लो दुई वर्षयताकै उच्च कारोबार संख्या थियो।
जेठको उच्च कारोबारको स्थिति असारमा कायम रहन भने सकेन। विगतमा घरजग्गाको कारोबार फस्टाएका वेला मासिक कारोबार संख्या ७० हजारभन्दा बढी हुने गरेको थियो।
घरजग्गा कारोबारको केन्द्र काठमाडौं उपत्यकामा पनि अपेक्षाकृत कारोबार बढेको छैन। गत असारमा काठमाडौंका नौ वटा मालपोत कार्यालयबाट चार हजार ९०० वटा घरजग्गा किनबेच भएका छन्। घरजग्गा कारोबार उच्च भएको विगतमा मासिक यसको दोब्बरभन्दा बढी घरजग्गाको किनबेच हुन्थ्यो।
पछिल्लो समयमा सरकारले घरजग्गा कारोबार बढाउन विभिन्न लचिला नीतिगत व्यवस्था अघि सारिरहेको छ। सरकारले गत वर्ष कित्ताकाट फुकुवा गरिदिएको थियो भने नेपाल राष्ट्र ब्यांकले पनि घरजग्गामा ऋण जान सजिलो हुने नीति अघि सार्दै आएको छ।