बाङ्लादेशमा रहेका नेपाली विद्यार्थीलाई अत्यावश्यक काम नपरी बाहिर ननिस्कन आग्रह
ढाकास्थित नेपाली राजदूतावासले बाङ्लादेशमा रहेका नेपाली विद्यार्थीलाई अत्यावश्यक काम नपरी छात्रावास वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन र आफू अध्ययनरत कलेज प्रशासनको निर्देशन पालना गर्न आग्रह गरेको छ।
राजदूतावासले बुधबार सूचना जारी गर्दै बाङ्लादेशमा भइरहेको कोटा विरोधी प्रदर्शनका क्रममा हुने सम्भावित झडपबाट जोगिन नेपाली विद्यार्थीलाई अपील गरेको हो। आवश्यक परेमा राजदूतावासको नम्बर ८८०१८८०६९१०१३ (योजना बम्जन) वा ८८०१७४५४०७९५८ (रिया क्षेत्री) मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।
मुक्ति संग्राममा सहभागी स्वतन्त्र सेनानीका सन्तानलाई सरकारी नोकरीमा दिएको आरक्षणको विरोधमा बाङ्लादेशका विद्यार्थीले देशव्यापी प्रदर्शन जारी राखेका छन्। बाङ्लादेशमा स्वतन्त्र सेनानीका सन्तानलाई ३० प्रतिशत, महिलालाई १० प्रतिशत, तोकिएका जिल्लावासीलाई १० प्रतिशत, अल्पसंख्यकलाई पाँच प्रतिशत र अपांगता भएका व्यक्तिका लागि एक प्रतिशत आरक्षणको व्यवस्था छ।
बाङ्लादेशको सर्वोच्च अदालतले आरक्षण लागू नगर्न दिएको फैसला कार्यान्वयन नभएको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन्। आरक्षणको विरोधमा भएको प्रदर्शनका क्रममा कम्तीमा पाँच जनाको ज्यान गएको रोयटर्सले जनाएको छ।