बागमतीका मुख्यमन्त्रीले साउन ६ मा विश्वासको मत लिने
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साउन ६ मा प्रदेश सभामा विश्वासको मत लिने तयारी गरेका छन्।
विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा सचिवालयमा मुख्यमन्त्री जम्कट्टेलले पत्राचार गरेका छन्। सत्ता साझेदार दलका नेतासँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेल साउन ६ मा विश्वासको मत लिने निर्णयमा पुगेको बागमती प्रदेश सभामा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक रत्नप्रसाद ढकालले बताए।
संघीय सरकार परिवर्तनसँगै प्रदेश सरकारमा नेकपा (एमाले)बाट सहभागी पाँच जना मन्त्रीले गत असार २४ मा राजीनामा दिएका थिए। एमालेले समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा परेको छ।
मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने भएपछि साउन ६ गते दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाउने तयारी गरिएको सभामुख भुवनकुमार पाठकले बताए।
गत २०७९ पुसमा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी)को समर्थनमा माओवादीका नेता जम्कट्टेल मुख्यमन्त्री बनेका थिए। अब एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनाउने तयारी गरेका छन्।