नेपाल प्रेस इन्स्टिच्यूटमा पत्रकारिता तालीम शुरू
नेपाल प्रेस इन्स्टिच्यूटले मंगलबारदेखि ४०औं समूहको १० महीने पत्रकारिता तालीमको शुरूआत गरेको छ।
तालीममा प्रशिक्षार्थीलाई आधारभूत पत्रकारिता, समाचार रिपोर्टिङ तथा लेखन, डिजिटल मिडिया, रेडियो पत्रकारिता, टेलिभिजन पत्रकारिता, फिचर लेखन सम्बन्धी ज्ञान दिइने तालीम संयोजक कपिल काफ्लेले बताए।
६ महीना डिजिटल माध्यमबाट कक्षा सञ्चालन हुने र चार महीना प्रयोगात्मक अभ्यासमा सहभागी गराइने संयोजक काफ्लेले जानकारी दिए। इन्स्टिच्यूटले सहभागीलाई प्रतिष्ठित सञ्चारगृह मार्फत चारमहीने प्रयोगात्मक अभ्यास गराउने व्यवस्था छ।
तालीममा विभिन्न जिल्लाबाट १० महिला र १६ पुरुष गरी २६ प्रशिक्षार्थी सहभागी छन्। जसमध्ये नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनामा कार्यरत सुरक्षाकर्मी, मानव अधिकारकर्मी लगायत छन्।