‘धेरै पटक मन्त्री बन्नु गर्वको विषय हो’
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले पटक पटक मन्त्री बन्नु गर्वको विषय भएको बताएका छन्।
असार ३१ गते श्रममन्त्री नियुक्त भएर शपथ लिएसँगै धेरै पटक मन्त्री बनेको भन्दै भण्डारीको आलोचना भएको थियो। पटक पटक मन्त्री बनेको भनेर आलोचना हुँदा कस्तो लागेको छ भन्ने प्रश्नमा उनले भने, “कसैलाई ईर्ष्या लाग्नु एउटा कुरा हो, तर राजनीतिमा लागेको मान्छे मन्त्री बन्नु गर्वको विषय हो।”
केपी शर्मा ओली नेतृत्वको सरकारमा भण्डारी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का तर्फबाट मन्त्री बनेका हुन्।
श्रममन्त्री भण्डारीको धारणा उनकै शब्दमा:
मेरो राजनीतिक यात्रा २०३२ सालमा नेपाल विद्यार्थी संघबाट शुरू भएको हो। राजकाज मुद्दा लागेपछि २०३४ सालमा तीन महीना निर्वासनमा गएँ। २०३८ सालमा राष्ट्रिय पञ्चायत सदस्य (रापस) निर्वाचित हुँदा २५ वर्षको थिएँ। २०४३ सालमा पनि रापस भएँ। पञ्चायत र बहुदलमा गरी जम्मा आठ पटक निर्वाचन लडेकोमा सात पटक विजयी भएको छु।
जनताले निर्वाचित गरेर पठाउँछन् र पार्टीले पनि मौका दिन्छ भने मन्त्री हुनु मेरो दोष होइन।
२०४५ सालदेखि मन्त्री हुन थालेको हुँ। हरेक पटक निर्वाचित भएरै मन्त्री बनेको छु। जनताले निर्वाचित गरेर पठाउँछन् र पार्टीले पनि मौका दिन्छ भने मन्त्री हुनु मेरो दोष होइन। कसैलाई ईर्ष्या लाग्नु एउटा कुरा हो, तर राजनीतिमा लागेको मान्छे मन्त्री बन्नु गर्वको विषय हो।
राष्ट्रिय मधेश समाजवादी पार्टीको नेतृत्व गर्दा बाहेक म मन्त्री सिफारिश गर्ने हैसियतमा छैन। अहिले पनि हाम्रो पार्टीका चारै जना साथी मन्त्रीका आकांक्षी थियौं। पार्टी अध्यक्ष महन्थ ठाकुरले मेरो नाम सिफारिश गर्नुभयो र मन्त्री बनें। म खासगरी महोत्तरीका जनताप्रति ऋणी छु।
संविधान र अन्य कानूनले धेरै पटक मन्त्री बन्न पाइँदैन भनेको छैन। एउटै व्यक्ति धेरै पटक प्रधानमन्त्री पनि बनेका छन्। कति पटक मन्त्री बन्यो भन्ने कुराभन्दा महत्त्वपूर्ण त जनताका लागि कति काम गर्यो भन्ने होइन र?